एन्फा अध्यक्षका उम्मेदवार दीर्घ केसीले निर्वाचन बहिष्कार गर्ने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार झापामा हुने निर्वाचनमा भाग नलिने अध्यक्षका प्रत्यासी दीर्घबहादुर केसी (कुमार) ले घोषणा गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो निर्देशन विपरीत निर्वाचन गर्न लागेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको भोलिपल्ट बिहीबार केसीले पत्रकार सम्मेलन गर्दै निर्वाचन बहिष्कार गरेका हुन् ।
उनले भने, ‘खेलकुद परिषद्ले निलम्बन गरेर यो निर्वाचन वैद्य छैन भनेको अवस्थामा हामी निर्वाचनमा भाग लिन जाँदैनौँ भनेर साथीहरूले सल्लाह गर्यौँ । यो निर्वाचन व्यक्तिगत स्वार्थका लागि भएको जस्तो देखिन्छ । निर्वाचन आउँदै गरेको एएफसी र फिफाको निर्वाचनका लागि नेपालबाट प्रतिनिधि जानका लागि मात्र गरेको जस्तो लाग्छ । त्यही कारण पनि हामी निर्वाचनमा भाग लिँदैनौँ ।’
साथै उनले आजको दिनसम्म पनि आफू उम्मेदवार भएर पनि निर्वाचन हुने स्थान थाहा नभएको बताए ।
उनले भने, ‘आजको दिनसम्म पनि हामी उम्मेदवार हो तर निर्वाचन हुने स्थान कहाँ हो हामीलाई थाहा छैन ।’
वर्तमान अध्यक्ष पङ्कजविक्रम नेम्बाङसँग उनले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तय थियो ।
यस्तै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुन्दर नरसिंह जोशीले पनि निर्वाचनमा भाग नलिने भएका छन् । उपाध्यक्षका उम्मेदवार सरस्वती क्लबका उत्तम भण्डारी पनि सहभागी नहुने भएका छन् ।
निर्वाचनमा हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि भाग नलिने पत्रकार सम्मेलनमा बताए ।
फ्रेण्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लबका प्रतिनिधि पनि निर्वाचन बहिष्कार गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित थिए ।
यसअघि बुधबार नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले अवैधानिक रुपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गरेको थियो ।
















