अमेरिका प्रवेश कडा : विश्वकप २०२६ फुटबल फ्यान र खेलाडी दुवैलाई बन्ड तिर्नुपर्ने सम्भावना
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष हुन लागेको विश्वकप फुटबल २०२६ मा सहभागी हुने पाँच देशका समर्थकहरूलाई अमेरिकामा प्रवेशका लागि पर्यटक भिसा लिनुअघि अधिकतम १५,००० सम्मको धरौटी (बन्ड) जम्मा गर्नुपर्ने व्यवस्था लागू गर्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले सन् २०२५ जनवरीमा पुनः पद सम्हालेपछि विभिन्न यात्रा प्रतिबन्धहरू लागू गरिसकेका छन्। हालै उनले २०२६ विश्वकपका लागि छनोट भइसकेका १५ देश र थप सात प्लेअफमा रहेका देशहरूको आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा गरेका छन् ।
यसअघि २०२५ नोभेम्बरमा अमेरिकाले फिफा पास नामक भिसा पनि सुरु गरेको थियो । जसले विश्वकप हेर्न जाने समर्थकहरूका लागि आवेदन प्रक्रिया छिटो बनाउने लक्ष्य राखेको थियो।
नयाँ आप्रवासन स्थगनबाट प्रभावित र विश्वकपका लागि छनोट भइसकेका देशहरूमा अल्जेरिया, ब्राजिल, केप भर्डे, कोलम्बिया, कोट डी’आइभोर, इजिप्ट, घाना, हैटी, इरान, जोर्डन, मोरक्को, सेनेगल, ट्युनिसिया, उरुग्वे र उज्बेकिस्तान समावेश छन् ।
भिसा बोन्ड पाइलट कार्यक्रम अन्तर्गत ५० देशका नागरिकहरूले अमेरिकी पर्यटक भिसा ‘बी-१ र बी-२’ पाउन १५,००० सम्मको बन्ड राख्नुपर्ने बताइएको छ । जनवरी २१ देखि अल्जेरिया, केप भर्डे, सेनेगल र कोट डी’आइभोरका नागरिकहरू यस नियमबाट प्रभावित भइसकेका छन् ।
रिपोर्टअनुसार, ट्युनिसिया भने आगामी अप्रिल २ देखि यो सूचीमा थपिने छ । भिसा बोन्ड पाइलट कार्यक्रममा विश्वकप फुटबल जस्ता ठूला खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरूलाई छुट दिने स्पष्ट व्यवस्था नभएको बताइएको छ ।
फुटबलको सर्वोच्च निकाय फिफाले खेलाडीहरूलाई छुट दिन अमेरिकी प्रशासनसँग गोप्य रूपमा दबाब दिइरहेको बताइएको छ । यदि यस्तो छुट लागू नभए खेलाडीहरूले पनि अमेरिकामा प्रवेश गर्न आफ्नै खर्चमा ‘बन्ड’ तिर्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ ।
आगामी सातामा विश्वकप प्लेअफ खेलहरू हुँदै गर्दा अझ धेरै देशहरू यस सूचीमा थपिन सक्नेछन् ।
हाल प्लेअफमा रहेका अल्बानिया, बोस्निया एन्ड हर्जेगोभिना, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इराक, जमैका, कोसोभो र नर्थ म्यासेडोनिया पनि भिसा स्थगनबाट प्रभावित भइसकेका छन् ।
यसैबीच, फिफाका अध्यक्ष जियानी इन्फान्तिनो ले हालै इरान २०२६ विश्वकपमा सहभागी हुन पाउने पुष्टि गरेका छन् । उनले राष्ट्रपति ट्रम्पसँगको छलफलपछि यस्तो निर्णय भएको बताएका छन् । यता मध्यपूर्वमा युद्ध भने जारी छ ।
















