पेन्सिल्भेनिया ल्यान्कास्टरमा नेपाली समुदायमा स्वास्थ्य सचेतना, नयाँ वर्ष पार्टी देखि फुटबल प्रतियोगिता हुँदै
ल्यान्कास्टर, पेन्सिल्भेनिया / नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि, सांस्कृतिक पहिचान संरक्षण तथा आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित विविध कार्यक्रमहरू आयोजना गर्ने भएको छ।
संस्थाका अध्यक्ष सृजना पौड्यालका अनुसार आगामी केही सातामा तीन महत्त्वपूर्ण कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
सबैभन्दा पहिले, मार्च २९ आइतबार बिहान ८:३० बजेदेखि १०:३० बजेसम्म स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना गरिनेछ। “माइग्रेन टाउको दुखाइ” तथा “कोलन क्यान्सर स्क्रिनिङ” विषयमा विशेषज्ञ चिकित्सकहरूले जानकारी दिनेछन्।
कार्यक्रम द ममो एक्सटेन्सन (ताज महल), ल्यान्कास्टरमा सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रम विशेषगरी वयस्कहरूलाई लक्षित भए पनि १५ वर्ष माथिका किशोर–किशोरीहरू इच्छुक भएमा सहभागी हुन सक्नेछन्।
प्रवेश निःशुल्क राखिएको छ।
त्यसै गरी, नेपाली नयाँ वर्ष २०८३ को अवसरमा अप्रिल १२ आइतबार साँझ ४:३० बजेदेखि ९:०० बजेसम्म सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, नृत्य–गीत, बालबालिकाको विशेष प्रस्तुति तथा नेपाली परिकारहरूको व्यवस्था गरिनेछ। आयोजकले सम्पूर्ण नेपाली समुदायलाई परिवार तथा साथीभाइसँग उपस्थित भई नयाँ वर्षलाई उल्लासमय बनाउन आह्वान गरेका छन्।
यो कार्यक्रममा सहभागि हुन भने टिकट खरिद गर्नु पर्ने छ । वश्यकका लागि प्रतिव्यक्ति २५ डलर र १० देखि १७ वर्ष उमेर समूहका लागि १० डलर शुल्क तोकिएको छ।
यस्तै, अप्रिल २६ आइतबार बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म स्पुकी नुक–ल्यान्को फिल्ड, इस्ट पिटर्सबर्गमा फुटबल प्रतियोगिता आयोजना गरिनेछ।
आयोजकका अनुसार विभिन्न उमेर समूहका लागि छुट्टाछुट्टै टिम प्रतिस्पर्धा गराइनेछ।
६–१२ वर्ष, १३–२३ वर्ष तथा २३ वर्षमाथिका खेलाडीहरूका लागि फरक–फरक समूह निर्धारण गरिएको छ भने दर्ता शुल्क पनि समूहअनुसार तोकिएको छ।
आयोजकले “खेलौं, जोडिऔँ र उत्सव मनाऔँ” भन्ने नारासहित समुदायलाई सहभागिताका लागि आह्वान गरेको छ।
संस्थाले यी कार्यक्रमहरू समुदायबीच आपसी सम्बन्ध विस्तार, स्वास्थ्यप्रति जागरूकता तथा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
















