फिफा विश्वकप २०२६ का लागि अन्तिम चरणको टिकट बिक्री अप्रिल १ देखि सुरु हुने
ल्यानक्यास्टर पेन्सिल्भेनिया / फिफा वर्ड कप २०२६ का लागि अन्तिम चरणको टिकट बिक्री आगामी अप्रिल १ तारिख बुधबारदेखि सुरु हुने भएको छ।
फिफाले बुधवार एक विज्ञप्ती मार्फत सार्वजनिक गरेको जानकारीअनुसार यस चरणमा टिकट सर्वसाधारणका लागि पहिले आउनेले पहिले पाउने ( फस्टकम फस्ट सर्भिस ) आधारमा उपलब्ध गराइनेछ।
यो चौथो तथा अन्तिम बिक्री चरण प्रतियोगिता सम्पन्न नहुन्जेलसम्म खुला रहनेछ, जसले गर्दा अन्तिम समयमा पनि दर्शकलाई खेल हेर्ने अवसर मिल्नेछ। यसपटकको विश्वकपमा ४८ टिम सहभागी हुनेछन् र प्रतियोगिता संयुक्त रूपमा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ।
फिफाका अनुसार टिकट खरिद गर्दा दर्शकले उपलब्ध खेल र सीट श्रेणी तुरुन्तै हेर्न, सीट म्यापबाट सिधै छनोट गर्न वा “ बुक दि बेस्ट सिट” सुविधा प्रयोग गर्न सक्नेछन्।
भुक्तानी पूरा भएपछि तुरुन्तै पुष्टि (कन्फर्मेशन) प्राप्त हुनेछ। अघिल्ला चरणमा टिकट किनेका दर्शकले पनि अप्रिल १ देखि आफ्नो सीट विवरण आफ्नो फिफा खातामा हेर्न सक्नेछन्।
फिफाले टिकट उपलब्धता परिवर्तनशील हुने भएकाले नियमित रूपमा FIFA.com/tickets जाँच गर्न पनि आग्रह गरेको छ। कहिलेकाहीँ खेलकै दिन पनि टिकट उपलब्ध हुन सक्ने जनाइएको छ।
त्यस्तै, अप्रिल २ देखि आधिकारिक रिसेल/एक्सचेन्ज मार्केटप्लेस पनि पुनः सञ्चालनमा आउनेछ। यस प्लेटफर्ममार्फत टिकट किनेका तर खेल हेर्न नसक्ने दर्शकले सुरक्षित रूपमा आफ्नो टिकट अरूलाई बेच्न सक्नेछन्। फिफाले अनधिकृत वा अवैध पुनःबिक्रीबाट बच्न आधिकारिक माध्यम मात्र प्रयोग गर्न आग्रह गरेको छ।
विशेष अनुभव चाहने दर्शकका लागि हस्पिटालिटी प्याकेजेस समेत उपलब्ध हुनेछन्, जसमा खेल टिकटसँगै अतिरिक्त सुविधा पनि समावेश हुनेछ।
फिफाका अनुसार अहिलेसम्मको टिकट बिक्रीमा विश्वभरबाट अत्यधिक माग देखिएको छ। र्यान्डम सेलेक्शन ड्र चरणमा मात्र ५० करोडभन्दा बढी टिकट आवेदन परेको थियो भने १० लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन्। यस वर्षको विश्वकपमा १९९४ मा बनेको ३.५ मिलियन दर्शक उपस्थितिको कीर्तिमान तोडिने अपेक्षा गरिएको छ।
फिफाले टिकट किन्नु मात्र पर्याप्त नभएको भन्दै सहभागी देशहरू (अमेरिका, क्यानडा, मेक्सिको) को प्रवेश नियम अनिवार्य रूपमा जाँच गर्न पनि आग्रह गरेको छ। आवश्यक परे समयमै भिसा आवेदन दिन सुझाव दिइएको छ।
फिफाले विश्वकपबाट प्राप्त आम्दानीलाई विश्वभरका २११ सदस्य राष्ट्रमा पुरुष, महिला तथा युवा फुटबलको विकासमा पुनःलगानी गर्ने जनाएको छ।
















