नेपाली भाषी भूटानीले एनआरएनए कार्ड लिँदा समस्या पर्न सक्छ: नारद अधिकारी
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / ग्लोबल भूट्नीज हिन्दु अर्गनाइजेशन (जीबीएचओ) का बोर्ड चेयर नारद अधिकारीले गैर आवासीय नेपाली संघ (एनआरएनए) सदस्यता र कार्ड वितरणबारे गम्भीर चासो व्यक्त गरेका छन्।
पेन्सिल्भेनियाको ह्यारिसबर्ग स्थित ग्लोबल तेक्वान्दो एकेडेमीमा आइतबार आयोजित नेपाली महाबाणिज्यदूतावासको कन्सुलर सेवा शिविरमा भएको अन्तर्क्रियाका क्रममा उनले सो चासो व्यक्त गरेका हुन्।
उनले यस्तो सदस्यता लिँदा राजनीतिक तथा कूटनीतिक प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
अधिकारीले भने, “हामीमध्ये धेरैजसो भूटानबाट आएका भए पनि अझै पनि हजारौँ मानिसहरू नेपालमा शरणार्थीका रूपमा बसिरहेका छन्। यस्तो अवस्थामा यदि हामी एनआरएनएसँग औपचारिक रूपमा आबद्ध भयौँ भने भूटान सरकारले ‘यी त नेपाली हुन्’ भन्ने सन्देश लिन सक्छ, जसले दीर्घकालीन रूपमा हाम्रो पहिचान र अधिकारका सवालमा असर पार्न सक्छ।”
उनले भूटानी मूलका नेपालीहरूको अवस्थालाई अझै समाधान हुन बाँकी रहेको विषयको रूपमा उल्लेख गर्दै यसमा नेपाल सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए। “हामी नेपाल सरकारसँग आग्रह गर्दछौँ कि यो समस्या स्पष्ट रूपमा समाधान गरियोस्। त्यसपछि मात्रै हामीले कसरी र कुन संरचनामा संगठित हुने भन्ने विषयमा अघि बढ्न सहज हुन्छ,” उनले भने।
अधिकारीका अनुसार एनआरएनए सदस्यता सामान्य प्रशासनिक विषय मात्रै नभएर यसको राजनीतिक अर्थ पनि हुन्छ। “एनआरएन भनेको ‘नेपाल बाहिर बस्ने नेपाली’ भन्ने हो। यदि हामी त्यसमा जोडियौँ भने, हामी भूटानका नागरिक होइनौं भन्ने सन्देश जान सक्छ। त्यसैले यो विषय गम्भीर छ,” उनले स्पष्ट पारे।
कार्यक्रममा उनले भूटानी शरणार्थीहरूको विगत स्मरण गर्दै वर्तमान उपलब्धिहरूको पनि चर्चा गरे। “हामी जब अमेरिका आयौँ, हामीसँग २० किलोसम्मको झोला मात्रै थियो। ३० वर्षको जीवनको सम्पत्ति त्यही झोलाभित्र सीमित थियो। तर आज हामीले यहाँ प्रगति गरेका छौँ, संगठित भएका छौँ, र नेपाल जाने क्षमता समेत बनाएका छौँ,” उनले भने।
उनले कन्सुलर सेवा शिविरको प्रशंसा गर्दै यसले समुदायको वास्तविक आवश्यकता सम्बोधन गरेको बताए। “झण्डै ४० हजारभन्दा बढी भूटानबाट आएका अमेरिकी नागरिकहरूका लागि यस्तो सेवा अत्यन्त उपयोगी छ। यहाँ धेरैजना पासपोर्ट नवीकरण, विभिन्न कागजी प्रक्रिया लगायतका कामका लागि आउनुभएको देखियो,” उनले भने।
अधिकारीले यस्ता सेवा नियमित रूपमा सञ्चालन गर्न पनि आग्रह गरे। “यो सेवा एकपटक मात्र नभएर निरन्तर रूपमा उपलब्ध गराइयोस् भन्ने हामी सबैको तर्फबाट अनुरोध गर्दछु,” उनले थपे।
त्यसैगरी उनले नेपाली समुदायबीच एकता अपरिहार्य रहेको उल्लेख गरे। “हामी नेपालका नेपाली, भूटानका नेपाली, बर्माका नेपाली भनेर विभाजित हुनुहुँदैन। हामी सबै एउटै पहिचानका हौँ र एकतामा नै हाम्रो शक्ति छ,” उनले जोड दिए।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूको प्रसङ्ग उल्लेख गर्दै उनले नेपाली समुदायको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा योगदान पुगेको बताए। विशेषगरी नेपाली संस्कृति, परम्परा र धर्मको विश्वव्यापी प्रचारप्रसारले नेपालप्रतिको आकर्षण बढाएको उनको भनाइ थियो।
अधिकारीले ओहायोमा निर्माण गरिएको ‘ओम सेन्टर’ र त्यहाँ सम्पन्न ‘विश्व शान्ति विज्ञान महायोग’ कार्यक्रमको उदाहरण दिँदै नेपाली समुदायले विदेशमा समेत ठूलो सांस्कृतिक प्रभाव छोड्न सफल भएको बताए। “नेपालबाट ल्याइएको ठूलो कलश स्थापना गर्दा यहाँका स्थानीय समुदायले समेत नेपालको कला र परम्पराप्रति चासो देखाएका छन्,” उनले भने।
उनले आगामी जुलाई २०२६ मा आयोजना हुने सातदिने वार्षिक कार्यक्रममा सहभागी हुन दूतावास र समुदायका सदस्यहरूलाई निमन्त्रणा पनि दिए।
कार्यक्रमको अन्त्यतिर उनले नेपालमा हालै सम्पन्न निर्वाचनप्रति शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे।
कन्सुलर सेवा शिविर नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कको पहलमा आयोजना गरिएको हो, जसले अमेरिकामा बसोबास गर्ने नेपाली तथा नेपाली मूलका समुदायलाई राहदानी नवीकरण, कागजी प्रमाणीकरण लगायतका सेवा सहज रूपमा उपलब्ध गराएको थियो। कार्यक्रममा ठूलो संख्यामा नेपाली भाषी भूटानी समुदायको उपस्थिति रहेको थियो।
र यो पनि
ह्यारिसबर्गमा नेपाली महावाणिज्यदूतावासको कन्सुलर सेवा शिविर: घरदैलोमै सेवा पाउँदा समुदाय उत्साहित















