अमेरिकामा एच-२ बी भिसा सीमा पूरा, मौसमी श्रम अभाव झन् गहिरिने सङ्केत
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / यु.एस सिटिजनसीप एण्ड इमिग्रेसन सभिसेस ‘युएससीआइएस’ले २०२६ आर्थिक वर्षको दोस्रो भागका लागि एच-२ बी कामदार भिसाको कानुनी सीमा पूरा भएको घोषणा गरेको छ ।
एच-२ बी कार्यक्रमले अमेरिकी रोजगारदाताहरूलाई अस्थायी, गैर–कृषि मौसमी कामका लागि विदेशी कामदार भर्ना गर्न अनुमति दिने जनाइएको छ ।
होटल, रेस्टुरेन्ट र ल्यान्डस्केपिङ जस्ता उद्योगहरूले व्यस्त सिजनमा माग पूरा गर्न एच-२ बी कामदारहरूमा ठूलो निर्भरता राख्नेछ । ट्रम्प प्रशासनको व्यापक डिपोर्टेसन नीतिले अमेरिकी कृषि क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्न थालेको किसानहरू र उद्योग विज्ञहरूले बताएका छन् ।
ठूलो सङ्ख्यामा आप्रवासी कामदारहरू हटाइँदा कृषि श्रमिकहरू प्रभावित भएको बताइएको छ ।
सरकारी एजेन्सीका अनुसार मौसमी कामदारको अभाव पूरा गर्न सहयोग पु¥याउन थप एच २ बी भिसाका लागि आवेदन मितिहरू उपलब्ध गराएको जनाएको छ ।
आगामी अप्रिल १ देखि अप्रिल ३० सम्म सुरु हुने कामका लागि २७,७३६ अतिरिक्त भिसा उपलब्ध छन् । त्यस्तै, मे १ देखि सेप्टेम्बर ३० सम्म सुरु हुने कामका लागि थप १८,४९० भिसा उपलब्ध रहेको जनाइएको छ ।
साथै, अतिरिक्त भिसाहरू वार्षिक सीमाभन्दा बाहिर प्रदान गरिने तथा सङ्ख्या सीमित रहेको जनाइएको छ । एच-२ बी भिसाका लागि योग्यताको आधारमा निर्भर हुने तथा निश्चित समय सीमाभित्र आवेदन दिनु पर्ने बताइएको छ ।
प्रत्येक आर्थिक वर्षमा कंग्रेसले ६६,००० भिसाको सीमा तोक्ने गर्ने र ३३,००० पहिलो आधा वर्षका लागि र बाँकी दोस्रो आधा वर्षका लागि छुट्टाइने छ । ‘युएससीआइएस’ले भिसाको सीमा पुग्ने बित्तिकै नयाँ आवेदनहरू स्वीकार बन्द गर्नेछ ।
‘युएससीआइएस’ले मार्च १० लाई अन्तिम मिति तोकेको थियो । जसअन्तर्गत अप्रिल १ देखि सेप्टेम्बर ३०, २०२६ बिच सुरु हुने कामका लागि एच–२ बी आवेदन बुझाउन सकिन्थ्यो । यस मिति पछि प्राप्त आवेदनहरू अस्वीकार गरिनेछन् ।
जनवरीको अन्त्यमा ट्रम्प प्रशासनले २०२६ आर्थिक वर्षका लागि एच–२ बी भिसाको सङ्ख्या दोब्बर बनाउने घोषणा गरेको थियो । जसअनुसार थप ६४,७१६ भिसा उपलब्ध गराइने छ ।
सन् २०१७ देखि कंग्रेसले श्रम विभाग र होमल्यान्ड सेक्युरिटी विभाग ‘डीएचएस’ लाई आवश्यकता अनुसार अतिरिक्त भिसा जारी गर्न अनुमति दिँदै आएको छ ।
व्यावसायिक समूहहरूले लामो समयदेखि यस्ता अतिरिक्त भिसाहरू पूर्ण रूपमा प्रयोग गर्न आग्रह गर्दै आएका छन् ।
‘युएससीआइएस’ले भनेको छ, “मार्च १०, २०२६ पछि प्राप्त हुने एच-२ बी आवेदनहरू, जसको काम सुरु मिति अप्रिल १ देखि अक्टोबर १, २०२६ बिच पर्छ, अस्वीकार गरिनेछ ।”
‘युएससीआइएस’ले चाँडै २०२६ को दोस्रो भागका लागि अतिरिक्त भिसाको आवेदन प्रक्रिया खोल्ने जनाएको छ ।















