रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्यो भर्त्सना
काठमाडौं । नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको घटनामा आपत्ति जनाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजकमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन् । त्यही प्रदर्शनको क्रममा रक्षा बमविरूद्ध आन्दोलनका घाइते अगुवाहरूले नाराबाजी गरेका थिए ।
फ्रन्टले भनेको छ, ‘बिहीबार शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुव्र्यवहारको हामी घोर भत्र्सना गर्दछौं, नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ । संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यसप्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन ।’
फ्रन्टले आन्दोलनकारीमाथि दुव्र्यवहार गर्दा आन्दोलन थप कमजोर बनाउने बताएको छ ।
‘यस आन्दोलनका सबै पात्रहरू घाइते, सहिद परिवार, आन्दोलनकारी र अगुवाहरू सबै एउटै यात्राका साझेदार हौं। यो यात्रामा असहमति हुन सक्छ। प्रश्न उठ्न सक्छन्। पीडाले कहिलेकाहीँ आक्रोशको रूप लिनसक्छ । तर यी प्रश्नहरूको उत्तर एकअर्कामाथि नभई राज्यसँग खोजिनुपर्छ,’ फ्रन्टले भनेको छ, ‘राज्यले अझैसम्म सत्य लुकाएर बसेको छ । जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नहुने सम्भावना बढ्दै गइरहेको छ । यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुव्र्यवहार र आक्रमणले आन्दोलनलाई थप कमजोर बनाउनेछ ।’














