अमेरिकामा ग्रिन कार्ड लिन पुगेका व्यक्ति पक्राउ
फ्लोरिडा / अमेरिकाको फ्लोरिडा राज्यको वेस्ट पाम बिचस्थित आप्रवासन कार्यालयमा ग्रिन कार्डका लागि प्रक्रिया गर्न पुगेका एक व्यक्ति पक्राउ परेका छन्।
युएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेस (यूएससीआइएस) का अनुसार उनी एक फरार अभियुक्त भएको कारण पक्राउ गरिएको हो।
अमेरिकी आप्रवासन अधिकारीहरूका अनुसार चोरीसम्बन्धी (बर्गलरी) मुद्दामा पक्राउ पुर्जी जारी भएका एक आपराधिक पृष्ठभूमि भएका विदेशी नागरिक ग्रिन कार्ड प्राप्त गर्ने उद्देश्यले कार्यालय पुगेका थिए। तर आप्रवासन अधिकारीले जाँचका क्रममा उनको आपराधिक रेकर्ड खुले पछि पक्राउ गरिएको जनाइएको छ।
अधिकारीहरूले विस्तृत स्क्रिनिङ गर्दा ती व्यक्तिविरुद्ध बर्गलरीसम्बन्धी मुद्दामा जारी भएको पक्राउ पुर्जी फेला परेपछि तुरुन्तै स्थानीय सुरक्षाकर्मीलाई जानकारी गराइएको थियो। त्यसपछि पाम बीच काउन्टी शेरिफको कार्यालयका अधिकारीहरूले उनलाई सोही स्थानबाट नियन्त्रणमा लिएका हुन्।
घटनाबारे प्रतिक्रिया दिँदै अधिकारीहरूले अमेरिकामा बस्न वा स्थायी बसोबासको अनुमति लिन चाहने जो–कोहीले अमेरिकी कानुनको पालना गर्नैपर्ने बताएका छन्। उनीहरूका अनुसार अमेरिकामा बस्न चाहने व्यक्तिका लागि कानुनको पालना अनिवार्य शर्त भएको पनि उल्लेख गरिएको छ।
घटनाले आप्रवासन प्रक्रियामा हुने सुरक्षा जाँच कति कडा हुन्छ भन्ने देखाएको अधिकारीहरूको भनाइ छ। उनीहरूले आप्रवासन प्रक्रियामा आउने आवेदकहरूको पृष्ठभूमि जाँच नियमित रूपमा गरिने र कुनै आपराधिक गतिविधि भेटिएमा कानुनी कारबाही हुने स्पष्ट पारेका छन्।
हाल पक्राउ परेका ती व्यक्तिमाथि थप कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ।















