‘नेपाली भाषी भूटानी समुदायसँग गरिएको प्रतिबद्धताबाट पछि हट्दिनँ’ : जस्टिन डगलस
ह्यारिसबर्ग पेन्सिल्भेनिया / डाउपिन काउन्टीका आयुक्त तथा बोर्ड अध्यक्ष जस्टिन डगलसले आफु नेपाली भाषी भूटानी समुदाय सँग गरिएका प्रतिबद्धताबाट पछि नहट्ने बताएका छन्।
एसियाली प्यासिफिक आइल्याण्डर पोलिटिकल एलायन्स (एपीआइ पीए) द्वारा आइतबार साँझ ह्यारिसबर्गमा आयोजना गरिएको सीडी-१० कंग्रेसनल उम्मेदवार टाउन हल कार्यक्रममा उनले यस्तो प्रतिव्द्ता व्यक्त गरेका हुन्।
पेन्सिलभेनियाको १० औं कंग्रेसनल डिस्ट्रिक्ट सहित सबै अमेरिकी हाउस डिस्ट्रिक्टहरूमा २०२६ मा चुनाव हुँदैछ। अमेरिकी हाउस डिस्ट्रिक्टहरूमा हरेक दुई दुई वर्षमा चुनाव हुन्छ । पेन्सिल्भेनियाबाट अमेरिकी हाउस डिस्ट्रिक्ट १७ वटा छन् ।
डगलस डेमोक्र्याटिकको प्राइमरी चुनावमा होमिएका छन्। यो क्षेत्रमा डेमोक्रयाट प्राइमेरीमा डगलस र जेनेल स्टेल्सन बीचमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
जेनेल सन् २०२४ को चुनावमा रिपब्लिकन स्कट पेरी सँग पराजित भएकी थिइन् । स्कट चौथो कार्यकालका लागि मैदानमा छन्।
उम्मेदवारहरुको समुदाय प्रतिको धारणा सुन्न र सुनाउन कार्यक्रम आयोजना गरिएको जनाइएको थियो।
कार्यक्रममा डेमोक्रयाटिक पार्टीको अर्का उम्मेदवार जेनेल स्टेल्सनलाई निमन्त्रणा गरेको तर उनले अस्वीकार गरेको जानकारी आयोजकहरूले दिएका थिए।
टाउन हलमा डगलसले आप्रवासन, मताधिकार, आर्थिक असमानता र जलवायु परिवर्तन लगायतका विषयमा आफ्ना धारणा राखे ।
विराज अधिकारीले समन्वय गरेको टाउनहलमा डगलसले आप्रवासन र शरणार्थीबारे आफ्नो स्पष्ट धारणा राखे। उनले इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को भूमिका बारेमा पनि असन्तुष्टस राखे।
उनले भने,“जब हामी कसैलाई शरणार्थीका रूपमा अमेरिका ल्याउँछौँ, हामी उनीहरूसँग प्रतिबद्धता गर्छौँ। त्यस प्रतिबद्धताबाट पछि हट्नु हुँदैन।”
नेपाली भाषी भूटानी समुदायलाई लक्षित गर्दै उनले थपे,“तपाईंहरूसँग गरिएको प्रतिबद्धताबाट म पछि हट्ने छैन। केही मानिसहरूलाई उत्पीडन भएको देशमै फर्काइँदैछ, जुन गलत हो।”
उनले शरणार्थीहरूलाई नागरिकताको स्पष्ट र सहज मार्ग उपलब्ध गराउनु आवश्यक रहेको बताए।
आईसको कार्यशैलीप्रति आलोचना
डगलसले आप्रवासन कार्यान्वयन निकाय आईसको कार्यशैलीप्रति पनि आलोचनात्मक टिप्पणी गरेका छन्।
उनका अनुसार उक्त निकायले लामो समयदेखि समुदायको विश्वास गुमाएको छ।
“आईसले धेरै वर्षदेखि अमेरिकी जनताको विश्वास तोडेको छ। यदि आवश्यक परे त्यसलाई पुनर्गठन गरेर पारदर्शी र उत्तरदायी संस्था बनाउनुपर्छ,” उनले भने,” आप्रवासन नीति जटिल विषय भए पनि एउटा कुरा स्पष्ट हुनुपर्छ। जो कोही शरणार्थीका रूपमा अमेरिकामा आउँछ, उसले यहाँ पुग्न अत्यन्त कठिन यात्रा पार गरेको हुन्छ।”
“यदि कुनै शरणार्थीले यहाँ अपराध गरे भने, हाम्रो अदालत प्रणालीले त्यसलाई कानुनी प्रक्रिया अनुसार हेर्न सक्छ। तर हामीले यहाँ ल्याएका शरणार्थीहरूलाई त्यत्तिकै त्याग्नु हुँदैन। हामीले उनीहरूलाई कुनै कारणले यहाँ ल्याएका हौँ।” डगलसले भने ।
उनले सबैको मानसिक पीडा बुझ्नु पर्ने बताए।
“म केही व्यक्तिहरूको बारेमा सोच्दछु जसलाई डिपोर्ट गरिएको थियो। उनीहरूको आपराधिक रेकर्डमा केवल मादक पदार्थको दुर्व्यसन मात्र थियो। यदि कसैले दुई दशक शरणार्थी शिविरमा बिताएको छ, त्यसले कस्तो मानसिक पीडा भोगेको हुन्छ भन्ने बुझ्नुपर्छ।”
उनले डाउपिन काउन्टीमा ड्रग र अल्कोहल सम्बन्धी विभाग भए पनि शरणार्थी समुदायसम्म पर्याप्त सेवा पुर्याउन नसकिएको स्वीकार गरे ।
“हामी सफल भएका छैनौँ। सामान्य समुदायसम्म पनि यी सेवाहरू पुर्याउन चुनौती छ। युद्धका लागि स्रोत हुन्छ, तर मानसिक स्वास्थ्य र दुर्व्यसन उपचारका लागि पर्याप्त स्रोत हुँदैन।” उनले भने ।
राष्ट्रविहीन बन्ने जोखिम
डगलसले अमेरिकाले प्रतिबद्धता पुरा नगर्दा कयौ व्यक्ति राष्ट्रविहिन बन्ने जोखिम रहेको बताए।
“कसैलाई शरणार्थीका रूपमा अमेरिका ल्याउँछौँ, हामी उनीहरूसँग एउटा प्रतिबद्धता गर्छौँ, र अहिले मानिसहरूलाई फेरि त्यही देशमा डिपोर्ट गरिँदैछ जहाँ उनीहरू वा उनका परिवारलाई जातीय रूपमा उत्पीडन गरिएको थियो। यो हाम्रो प्रतिबद्धताबाट पछि हट्नु हो। म त्यसको विरोधमा छु।” उनले भने ।
“यदि कोही शरणार्थीका रूपमा अमेरिका आउँछ भने उनीहरूलाई नागरिकता प्राप्त गर्ने स्पष्ट बाटो सुनिश्चित गरिनुपर्छ। उनीहरूलाई फेरि खतरा हुने देशमा डिपोर्ट गर्नु हुँदैन।” डगलसले थपे, “यसले गर्दा उनीहरू राष्ट्रविहीन बन्ने जोखिममा परेका छन्। अमेरिका इतिहासमा मानिसहरूलाई जबरजस्ती राष्ट्रविहीन बनाउने काम गर्ने देश होइन। तर अहिलेको प्रशासनले त्यस्तो गरिरहेको देखिन्छ।”
“भूटानी–नेपाली समुदायका लागि म स्पष्ट रूपमा भन्न चाहन्छु — हामीले तपाईंहरूसँग प्रतिबद्धता गरेका छौँ, र म त्यो प्रतिबद्धताबाट पछि हट्ने छैन। यही कुरा मेरो आप्रवासन नीतिको केन्द्रमा हुनेछ।” उनले प्रस्टाए ।
मताधिकार सीमित गर्ने विधेयकको विरोध
कार्यक्रममा प्रस्तावित सेभ अमेरिका एक्ट जस्ता कानुनबारे पनि डगलसले आफ्नो धारणा राखे।
डगलसले यस्तो विधेयकले धेरै नागरिकलाई मतदानबाट वञ्चित गर्न सक्ने भन्दै यसको विरोध गरे।
उनले भने,“म यस्तो कानुनलाई समर्थन गर्दिनँ। यस्तो प्रस्तावको उद्देश्य नै धेरै मानिसलाई मतदान गर्नबाट रोक्नु हो।”
उनका अनुसार यदि मतदानका लागि पासपोर्ट वा अन्य जटिल कागजात अनिवार्य बनाइयो भने धेरै नागरिकलाई मतदान गर्न गाह्रो पर्नेछ।
“अमेरिकामा निर्वाचन सञ्चालन गर्ने अधिकार राज्यहरूको हुन्छ, संघीय सरकारको होइन,” उनले थपे।
नेपाली भाषी भूटानी समुदायका लागि सहयोग
डगलसले नेपाली भाषी भूटानी समुदायमा मानसिक स्वास्थ्य सेवा र सामाजिक कार्यक्रममा आफुले सहयोग गरेको बताए।
डगलसले डाउपिन काउन्टीमार्फत समुदायका लागि विभिन्न कार्यक्रमलाई सहयोग गरिएको बताए।
“ह्यारिसबर्ग र सेन्ट्रल पेन्सिल्भेनियामा बसोबास गर्ने भूटानी–नेपाली समुदायका लागि काउन्टीमार्फत विभिन्न अनुदान उपलब्ध गराएका छौँ। मानसिक स्वास्थ्य र समुदायिक कार्यक्रमका लागि यी स्रोतहरू प्रयोग भइरहेका छन्।”उनले भने।
कंग्रेस सदस्य बनेपछि पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार कंग्रेस कार्यालयमा पनि समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने योजना रहेको छ।
“म आफ्नो स्टाफमा भूटानी–नेपाली समुदायका सदस्यलाई पनि समावेश गर्न चाहन्छु, ताकि समुदायको आवाज प्रत्यक्ष रूपमा निर्णय प्रक्रियामा पुग्न सकोस्,” उनले भने।
जलवायु परिवर्तनबारे चिन्ता
जलवायु परिवर्तन सम्बन्धी प्रश्नमा डगलसले नवीकरणीय ऊर्जा प्रवर्द्धन आवश्यक रहेको बताए।
“हामीसँग एउटा मात्रै पृथ्वी छ। मेरा तीन सन्तान छन् र म चाहन्छु उनीहरूले स्वच्छ हावा र पानी पाऊन्,” उनले भने।
उनका अनुसार हावा र सौर्य ऊर्जा परियोजनामा लगानी बढाउनुका साथै जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपत्तिका लागि पनि पर्याप्त बजेट आवश्यक छ।
आर्थिक असमानताबारे टिप्पणी
कार्यक्रमको क्रममा उनले अमेरिकामा बढ्दो आर्थिक असमानताबारे पनि टिप्पणी गरे।
“यो रिपब्लिकन र डेमोक्र्याटबीचको मात्र मुद्दा होइन। यो धनी र गरिबबीचको मुद्दा हो,” उनले भने।
उनका अनुसार अत्यन्त धनी व्यक्तिहरूले कर प्रणालीको फाइदा उठाउँदै कम कर तिर्ने अवस्थालाई सुधार गर्नुपर्ने आवश्यकता छ।
साथै उनले किफायती आवास कार्यक्रम विस्तार गर्नुपर्ने र पहिलो पटक घर किन्नेहरूका लागि सरकारी सहयोग बढाउनुपर्ने धारणा व्यक्त गरे।
डगलसले आफू डाउपिन काउन्टीको आयुक्तका रूपमा काम गर्दा श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने लगायतका काम गरेको उल्लेख गरे।
“हामीसँग काउन्टीभर करिब १६ सय कामदार छन्। उनीहरूको न्यूनतम पारिश्रमिक प्रति घण्टा १६ डलर पुर्याएका छौँ। यो अझै पर्याप्त नभए पनि सही दिशामा उठाइएको कदम हो,” उनले भने।
त्यस्तै उनले मतदातालाई मतदानमा सहजता ल्याउन काउन्टीमा थप ब्यालट ड्रप बक्स स्थापना गरिएको जानकारी पनि दिए। “मैले पद सम्हाल्दा दुईवटा मात्रै ड्रप बक्स थिए—काउन्टी भवन र निर्वाचन कार्यालयमा। अहिले सातवटा पुगेका छन्,” उनले भने।
डगलसले ब्यालट क्युरिङ प्रणाली लागू गरेर मतदाताले मेल-इन ब्यालटमा सानो त्रुटि भए सच्याउने अवसर पनि प्रदान गरिएको बताए।
स्किल गेमबारे स्पष्ट नीति आवश्यक
कार्यक्रममा उपस्थित एक सहभागीले पेन्सिल्भेनियामा सञ्चालन भइरहेका स्किल गेम सम्बन्धी विषय पनि उठाएका थिए।
प्रश्नको जवाफ दिँदै डगलसले यस विषयमा स्पष्ट नीति आवश्यक रहेको बताएका छन्।
उनका अनुसार स्किल गेमहरूबारे राज्यभर विभिन्न बहस भइरहेका छन् र यसलाई नियमन गर्ने विषयमा राज्य सरकार र नीति निर्माताहरूबीच छलफल जारी छ।
डगलसले साना व्यवसायहरूको हितलाई ध्यानमा राख्दै उचित नियमन आवश्यक रहेको बताए।
“हामीले साना व्यवसायलाई सहयोग गर्ने नीति बनाउनुपर्छ, तर त्यहीँसँगै स्पष्ट नियम र पारदर्शिता पनि आवश्यक हुन्छ,” उनले भने।
उनका अनुसार स्किल गेम सञ्चालनले स्थानीय व्यवसायलाई आर्थिक रूपमा सहयोग गरिरहेको भए पनि त्यसको नियमनबारे स्पष्ट कानुनी ढाँचा आवश्यक छ।















