पेन्सिल्भेनियामा सम्पन्न ड्रुक कराते च्याम्पियनसिप : ट्रान्सअमेरिका पहिलो
कार्लल, पेन्सिल्भेनिया/ अमेरिकको पेन्सिल्भेनिया राज्यको कार्लल शनिवार सम्पन्न ड्रुक कराते च्याम्पियनसिप २०२६ मा ट्रान्स अमेरिकन एसोसिएसन अफ सितोरियो कराते डो पहिलो भएको छ ।
ड्रुक इन्टरनेश्लन सितोरियो कराते डो एसोसिएशन डिस्का कार्लल डोजोद्वारा आयोजित एक दिने च्याम्पियनसिपमा १४ स्वर्ण जित्दै ट्रान्स अमेरिकन पहिलो भएको हो ।
दश राज्यका २१ क्लब तथा डोजोका दुई सय ६० खेलाडीले भाग लिएको च्याम्पियनसिपमा ट्रान्स अमेरिकाले १५ रजत र २५ कास्य सहित कुल ५४ पदक जितेको हो ।
च्याम्पियनसिपमा जर्जिया, मिशिगन, न्यूयोर्क, केन्टकी, ओहायो, वेस्ट भर्जिनिया, मेरिल्याण्ड, न्यू जर्सी, भर्जिनिया र पेन्सिल्भेनियाका विभिन्न डोजो र क्लबका खेलाडीले भाग लिएका थिए।
सहभागि खेलाडीहरूले विभिन्न उमेर समूह र स्तरमा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा काता र कुमिते गरी करातेका दुई मुख्य विधामा प्रतिस्पर्धा गरिएको थियो। बालबालिकादेखि युवा तथा वयस्कसम्मका खेलाडीहरूले आ–आफ्नो उमेर समूहअनुसार प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका थिए।
प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन तथा सञ्चालन टूर्नामेन्ट डाइरेक्टर सेन्सेइ निम लामाको नेतृत्वमा सम्पन्न भएको थियो। प्रतियोगिता सञ्चालनका लागि ४३ जना युएसए कराते अफिसियल्स तथा २९ जना प्रशिक्षक सक्रिय रूपमा खटिएका थिए।
रेफ्रि तथा जज प्रमुखमा सिहान शान्त थोकर रहेका थिए।
च्याम्पियनसिमा डिस्का कराते टिमले सबै भन्दा धेरै पदक जित्ने टिम बन्यो । डिस्काले ११ स्वर्ण, १६ रजत र २८ कास्य गरी जम्मा ५५ पदक जितेको छ। पदक संख्याका आधारमा यो टिम सबैभन्दा धेरै पदक जित्ने टिम भए पनि स्वर्ण पदकको आधारमा दोस्रो स्थानमा रहेको हो।
तेस्रो स्थान अल्बोर्नोज कराते स्कुलले हासिल गरेको छ। यस टिमले १० स्वर्ण र ४ कास्य गरी जम्मा १४ पदक जितेको छ। तुलनात्मक रूपमा कम खेलाडी सहभागी भए पनि स्वर्ण पदकको राम्रो उपलब्धिका कारण उक्त टिम शीर्ष तीनभित्र पर्न सफल भएको हो।
यसैगरी डायनामिक्स युनाइटेड सितोरियो कराते–डो टिमले ८ स्वर्ण, ९ रजत र ७ कास्य गरी जम्मा २४ पदक जित्दै चौथो स्थान हासिल गरेको छ। इन्टरनेशनल सितोरियो कराते–डो एसोसिएसन अफ युएसएले ७ स्वर्ण, ६ रजत र १५ कास्य गरी जम्मा २८ पदक जित्दै प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गरेको छ।
अनअफिलिएटेड खेलाडीहरूले पनि प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै ७ स्वर्ण, ६ रजत र ९ कास्य गरी २२ पदक जितेका थिए। त्यस्तै पेन्सिल्भेनिया शोतोकान कराते क्लबले ५ स्वर्ण, ३ रजत र ७ कास्य गरी जम्मा १५ पदक जितेको छ।
ट्रडिसनल कराते सेन्टर माटावान गोजुज्यानले ५ स्वर्ण, ४ रजत र १ कास्य गरी १० पदक जितेको छ भने आइएमए निहोन कराते–डो युएसएले ४ स्वर्ण, १ रजत र २ कास्य गरी ७ पदक जितेको छ। त्यसैगरी गोशिन र्यु ट्रडिसनल शोतोकान कराते र जापान कराते सेन्टर २ ले पनि केही पदक जित्दै आफ्नो उपस्थिति जनाएका छन्। च्याम्पियन मार्सल आर्ट्स एलएलसीले पनि प्रतियोगितामा कास्य पदक जितेको छ।
समग्र प्रतियोगितामा ७४ स्वर्ण, ६३ रजत र १०० कास्य गरी जम्मा २३७ पदक वितरण गरिएको थियो। विभिन्न उमेर समूहका खेलाडीहरूबीच भएको प्रतिस्पर्धाले प्रतियोगितालाई निकै रोचक र प्रतिस्पर्धात्मक बनाएको थियो।
आयोजकका अनुसार यस प्रकारका प्रतियोगिताले कराते खेलको विकास तथा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। विभिन्न राज्यका खेलाडीहरू एउटै मञ्चमा भेला भई प्रतिस्पर्धा गर्नुका साथै आपसी अनुभव आदानप्रदान गर्ने अवसर पनि यस प्रतियोगिताले प्रदान गरेको छ।
ड्रुक कराते च्याम्पियनसिपले अमेरिकामा कराते खेलप्रति बढ्दो आकर्षण र खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्दै गएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक तथा स्वयंसेवकहरूको सक्रिय सहयोगका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको डिस्का कार्लल डोजोका प्रमुख प्रशिक्षक निम लामाले बताए।
उनले विषेश गरी आफ्नो डोजोका अभिभावकहरुको भूमिकाको सहराना गरे।
‘हामीलाई शुरु देखि अन्त सम्म अभिभावकहरुको ठूलो हौसला र सहयोग गर्यो, च्याम्पियनसिप सफल पार्नमा हामी उहाँहरु प्रति आभारी छौ ।’ लामाले भने ।
अग्रजको सम्मान
च्याम्पियनसिपमा नेपाली करातेका संस्थापक थानेश्वर (टिएस) राईलाई सम्मान गरिएको थियो। डिस्काका प्रमुख प्रशिक्षक रण राई तथा पेन्सिल्भेनिया स्वातारा टाउनसिपकी आयुक्त एवं तेकवान्दो प्रशिक्षक विनिता पुरी राईले टिएस राईको सम्मान गरेका थिए।
















