अमेरिकी नागरिकता त्याग्ने शुल्कमा ठूलो कटौती, शुल्क ८० प्रतिशतले घट्यो
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकहरूले औपचारिक रूपमा आफ्नो अमेरिकी नागरिकता त्याग्दा तिर्नुपर्ने शुल्क करिब ८० प्रतिशतले घटाएको घोषणा गरेको छ।
वर्षौँदेखि नागरिकता त्याग्न चाहने अमेरिकीहरूको प्रतिनिधित्व गर्ने विभिन्न समूहहरूसँग कानुनी विवादपछि मन्त्रालयले शुक्रवार फेडेरल रजिस्टरमा अन्तिम नियम प्रकाशित गर्दै शुल्क २३५० बाट घटाएर ४५० डलर कायम गरेको हो।
नयाँ शुल्क शुक्रवारदेखि लागू भएको छ। यो शुल्क घटाउने निर्णय सन् २०२३ मा घोषणा गरिएको भए पनि अहिले मात्रै कार्यान्वयनमा आएको हो। अहिलेको ४५० डलर शुल्क सन् २०१० मा पहिलो पटक लागू गरिएको शुल्क बराबर हो ।
त्यति बेला विदेश मन्त्रालयले नागरिकता त्याग्ने प्रक्रियाका लागि पहिलो पटक शुल्क लिन सुरु गरेको थियो।
अमेरिकी नागरिकता त्याग्नु सजिलो प्रक्रिया होइन। यो लामो र जटिल प्रक्रिया रहेको जनाइएको छ ।
आवेदकहरूले विदेश मन्त्रालयका कन्सुलर अधिकारी समक्ष लिखित र मौखिक रूपमा पटक–पटक पुष्टि गर्नु पर्ने नियम रहेको छ । त्यसपछि उनीहरूले औपचारिक रूपमा नागरिकता त्याग्ने शपथ लिनु पर्ने जनाइएको छ । अन्तिम निर्णय भने विदेश मन्त्रालयले समीक्षा गरेर मात्रै स्वीकृत गर्ने प्रावधान रहेको छ ।
सन् २०१५ मा शुल्क ४४५० बाट बढाएर २३५० डलर गरिएको थियो। त्यस बेला धेरै मानिसहरूले नागरिकता त्याग्न थालेपछि प्रशासनिक खर्च धान्न शुल्क बढाइएको विदेश मन्त्रालयले जनाएको थियो।
त्यस समयमा अमेरिकाले विदेशमा बस्ने अमेरिकी नागरिकहरूका लागि लागू गरेको नयाँ कर रिपोर्टिङ नियमहरूका कारण धेरै अमेरिकी प्रवासीहरू असन्तुष्ट भएका थिए। त्यसै कारण नागरिकता त्याग्नेहरूको सङ्ख्या बढेको थियो।
यो ठुलो शुल्क वृद्धिको विरुद्धमा विशेष गरी फ्रान्समा आधारित एसोसिएसन अफ एक्सिडेन्टल अमेरिका नामक संस्थाले कडा विरोध गरेको थियो।
यस संस्थाले मुख्य रूपमा त्यस्ता मानिसहरूको प्रतिनिधित्व गर्छ । जो अमेरिकामा जन्मिएका कारण मात्र अमेरिकी नागरिक बनेका तथा जीवनको अधिकांश समय विदेशमै बसेका छन्।
संस्थाले शुल्क असंवैधानिक भएको भन्दै विभिन्न मुद्दाहरू अदालतमा दायर गरेको थियो। तीमध्ये एउटा मुद्दा अझै पनि चलिरहेको छ, जसमा नागरिकता त्याग्न कुनै शुल्क नै लिनु हुँदैन भन्ने माग गरिएको छ।
अदालतमा पेश गरिएको विवरण अनुसार सन् २०२३ मा शुल्क घटाउने घोषणा भएदेखि हालसम्म कम्तीमा ८७५५ जना अमेरिकीहरूले पूर्ण २३५० डलर शुल्क तिरेर आफ्नो नागरिकता त्यागेका छन्।
यता अमेरिकी विदेश मन्त्रालयले कुल कति अमेरिकीहरूले नागरिकता त्यागेका छन् भन्ने आधिकारिक तथ्याङ्क भने सार्वजनिक गरेको छैन।















