ह्यारिसबर्गमा कंग्रेसनल टाउन हल, नेपाली भाषी भुटानी समुदायका मुद्दामा छलफल हुने
ह्यारिसबर्ग, पेन्सिलभेनिया / एसियाली अमेरिकी समुदायका मतदाता र डेमोक्र्याटिक प्राइमरी उम्मेदवार बिच प्रत्यक्ष संवाद गराउने उद्देश्यले मार्च १५ तारिख आइतबार साँझ पेन्सिल्भेनियाको ह्यारिसबर्ग स्थित प्याक्सटन चर्च रोडमा (2243 Paxton Church Road, Harrietsburgh, PA 17110) कंग्रेसनल डिस्ट्रिक्ट सिडी –१० को टाउन हल कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम एसियाली प्यासिफिक आइल्याण्डर पोलिटिकल एलायन्स (एपीआइ पीए ) ले आयोजना गर्न लागेको हो। कार्यक्रम साँझ ५ बजे देखि ७ बजे सम्म हुने जनाइएको छ।
आयोजकका अनुसार टाउन हलमा डेमोक्र्याटिक उम्मेदवार जस्टिन डगलस सहभागी हुनेछन्। तर अर्की उम्मेदवार जेनेल स्टेल्सनले कार्यक्रममा उपस्थित नहुने जानकारी दिएकी छन्। कार्यक्रममा समुदायका सदस्यहरूले उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्न गर्न र आफ्ना मुद्दाहरू उठाउन सक्नेछन्।
कंग्रेसनल डिस्ट्रिक्ट सिडी –१० मा विभिन्न एसियाली अमेरिकी समुदाय बसोबास गर्छन्, जसमा नेपाली भाषी भुटानी समुदायको उल्लेखनीय उपस्थिति छ। हालका वर्षहरूमा यस समुदायलाई लक्षित गर्दै अमेरिकी आप्रवासन निकाय आइसद्वारा छापा र हिरासतका घटनाहरू बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
समुदायका केही सदस्यहरूलाई भुटान डिपोर्ट भएको र त्यसका लागि पेन्सिलभेनिया बाहिरका हिरासत केन्द्रहरूमा स्थानान्तरण गरिएको आयोजकले जनाएको छ।
यस पृष्ठभूमिमा, टाउन हलमा आप्रवासन/इमिग्रेशन मुख्य छलफलको विषय रहने बताइएको छ। यसले आइसको कारबाहीबाट प्रभावित मतदाताहरूलाई उम्मेदवारसँग प्रत्यक्ष रूपमा प्रश्न सोध्ने अवसर दिने अपेक्षा गरिएको छ।
पेन्सिलभेनियामा एसियाली प्यासिफिक आइल्याण्डर समुदायको वकालत गर्ने राज्य व्यापी राजनीतिक संगठनको रूपमा एपीआइ पीएले समुदायको चुनावी शक्ति निर्माणमा काम गरिरहेको जनाएको छ। आयोजकका अनुसार राज्यका धेरै काउन्टीहरूमा एसियाली अमेरिकी मतदाताले चुनावको परिणाममा महत्त्वपूर्ण भूमिका खेल्ने गरेका छन्।
टाउन हल कार्यक्रममा अंग्रेजी–नेपाली भाषामा प्रत्यक्ष अनुवादको व्यवस्था गरिने आयोजकको भनाई छ ।















