सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनले मेडिकल ‘कन्टिन्युइङ डिसएबिलिटी रिभ्यु’ प्रक्रिया आफैं सञ्चालन गर्ने
बाल्टिमोर, मेरिल्याण्ड / अमेरिकी सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनले (एसएसए) अपाङ्गता भत्ता लिइरहेका व्यक्तिहरूको योग्यता पुनः परीक्षण गर्ने मेडिकल कन्टिन्युइङ डिसएबिलिटी रिभ्यु (सीडीआर) सम्बन्धी प्रक्रिया अब राज्य स्तरका कार्यालयबाट हटाएर संघीय स्तरमै सञ्चालन गर्ने घोषणा गरेको छ।
बाल्टिमोरस्थित मुख्यालयबाट बिहिवार जारी विज्ञप्तिअनुसार अहिले सम्म राज्यका डिसएबिलिटी डिटर्मिनेशन सर्भिसेस (डीडीएस) कार्यालयमार्फत गरिँदै आएको मेडिकल सीडीआर प्रक्रिया सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनको संघीय प्रशोधन केन्द्र डिसएबिलिटी केस रिभ्यु (डीसीआर) ले सञ्चालन गर्नेछ। यस निर्णयले संघीय स्तरमा उत्तरदायित्व बढाउनुका साथै सेवाग्राहीलाई अझ प्रभावकारी सेवा उपलब्ध गराउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
एसएसएका कमिश्नर फ्र्याङ्क जे. बिसिग्नानोले मेडिकल सीडीआर प्रक्रियालाई संघीय स्तरमा केन्द्रीकृत गर्दा संस्थाको कार्यक्षमता बढ्ने, गलत भुक्तानी घट्ने र अत्यावश्यक सहयोग आवश्यक पर्ने अमेरिकी नागरिकलाई उत्कृष्ट सेवा दिन सकिने बताएका छन्।
उनका अनुसार सीडीआर प्रक्रिया पूर्ण रूपमा सोसल सेक्युरिटी एडमिनिस्ट्रेशन अन्तर्गत आएपछि राज्यका डीडीएस कार्यालयहरूले इनिसियल डिसएबिलिटी क्लेम्स (प्रारम्भिक अपाङ्गता दाबी) र रिकन्सिडरेशन केसहरू (पुनर्विचार सम्बन्धी मुद्दा) मा बढी ध्यान दिन सक्नेछन्। यसले योग्य व्यक्तिहरूलाई छिटो लाभ उपलब्ध गराउन सहयोग गर्ने विश्वास गरिएको छ।
सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनका तथ्यांकअनुसार सन् २०२४ जुनमा इनिसियल डिसएबिलिटी क्लेम्सको बाँकी फाइल संख्या करिब १२ लाख ६० हजार पुगेको थियो, जुन अहिलेसम्मकै उच्च थियो। तर प्रक्रिया सुधार र व्यवस्थापनका कारण यो संख्या घटेर सन् २०२६ फेब्रुअरीसम्म आइपुग्दा करिब ८ लाख ३१ हजारमा झरेको छ, अर्थात् ३३ प्रतिशतभन्दा बढीले कमी आएको छ।
अब डिसएबिलिटी केस रिभ्यु (डीसीआर) ले देशभरका मेडिकल सीडीआर सम्बन्धी सबै काम सम्हाल्नेछ भने नन–मेडिकल सीडीआर (गैर–मेडिकल समीक्षा) प्रक्रिया भने सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनका फिल्ड अफिस र प्रोसेसिङ सेन्टरहरूले नै सञ्चालन गर्नेछन्।
सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनका अनुसार यस नयाँ व्यवस्थाले प्रारम्भिक अपाङ्गता दाबीको प्रतीक्षा समय घटाउने र सेवा प्रक्रियालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।















