आइसीसी टी २० विश्व कप क्रिकेट : म्याच फि र पुरस्कारमा १२ मिलियन खर्च, नेपालले पायो साँढे दुई लाख डलर
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले टी २० विश्व कप क्रिकेटमा म्याच फि र पुरस्कारमा १२ मिलियन अमेरिकी डलर खर्च भएको जनाएको छ।
आइसीसीले बुधवार विश्व कपमा कुल ११.२५ मिलियन अमेरिकी डलर बराबरको खेलाडी पुरस्कार रकम वितरणको अन्तिम विवरण सार्वजनिक गरेको छ।
प्रतियोगितामा भारतले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्दै सबैभन्दा धेरै दुई करोड ६३ लाख नौ हजार चार सय २३ डलर पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको न्युजिल्याण्डले एक करोड ४२ लाख दुई हजार ६ सय ९२ डलर पाएको छ।
सेमिफाइनलसम्म पुगेका दक्षिण अफ्रिका र इङ्ग्ल्यान्डले क्रमशः एक करोड ५५ सय ७७ डलर र ९ लाख ७४ हजार चार सय २३ डलर प्राप्त गरेका छन्।
यस प्रतियोगितामा सहभागी भएको नेपालले कुल दुई लाख ५६ हजार एक सय ५४ अमेरिकी डलर पुरस्कार प्राप्त गरेको आईसीसीले जनाएको छ।
आईसीसीका अनुसार प्रत्येक टोलीलाई प्रतियोगितामा सहभागी भएबापत दुई लाख २५ हजार डलर आधारभूत सहभागिता रकम दिइएको थियो भने समूह चरणका जित, सुपर–८ मा प्रवेश, सेमिफाइनल तथा फाइनलसम्मको प्रगतिका आधारमा थप बोनस रकम प्रदान गरिएको हो।
अन्य टोलीहरूले प्राप्त गरेको पुरस्कार रकम अनुसार वेस्ट इन्डिजले ५३८,२६९ डलर, पाकिस्तानले ५२२,६९२ डलर, जिम्बाब्वेले ४९१,५३८ डलर र श्रीलंकाले ४७५,९६२ डलर पाएका छन्। त्यस्तै अफगानिस्तान, अष्ट्रेलिया र अमेरिकाले समान ३०९,८०८ डलर प्राप्त गरेका छन्।
त्यसैगरी स्कटल्याण्डले २७८,६५४ डलर, आयरल्यान्डले २७१,७३१ डलर तथा इटाली, नेदरल्याण्ड्स, यूएई र नेपालले समान २५६,१५४ डलर प्राप्त गरेका छन्।
प्रतियोगितामा सहभागी भएका क्यानडा, नामिबिया र ओमानले भने आधारभूत सहभागिता रकम २२५,००० डलर प्राप्त गरेका छन्।
आईसीसीका अनुसार यो रकम समूह चरणदेखि फाइनलसम्मको प्रदर्शनका आधारमा गणना गरिएको कुल (ग्रस) पुरस्कार रकम हो, जसमा आवश्यक कर तथा अन्य कटौती हुन सक्ने उल्लेख गरिएको छ।
सन् २०२४ मा आईसीसीले पुरस्कार रकममा उल्लेखनीय वृद्धि गरेपछि यो संस्करणको इतिहासकै उच्च पुरस्कार राशी भएको प्रतियोगितामध्ये एक बनेको बताइएको छ।















