क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना सुरु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना सुरु गरेको छ ।
शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको हो ।
प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना गर्न लागिएको उक्त कम्प्लेक्समा १५ दिनसम्म सर्वेक्षण गरिनेछ । निकुञ्जका अनुसार बाघ हिँडडुल गर्ने क्षेत्रको पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामेरा जडान गरिएको छ ।
निकुञ्जमा क्यामेराले बाघको पाटा तथा अन्य भाग हेरी पत्ता लगाई यसैको आधारमा गणना गर्न सकिने निकुञ्जले बताए ।
निकुञ्जका अनुसार डडेल्धुराको आलितालमा २३ ग्रिड, शुक्लाफाँटाको बनखेडामा २३, वेदकोटमा २१, चिर्किट्टेमा १९, डाँडाजाइमा ३६, दोमिल्लामा ३१, कालिकिचमा २६, कुवा डाँडामा २३, नौलामा १६, शुक्लामा २३ र तिकेनीमा १९ ग्रिडमा क्यामेरा जडान गरिएको छ ।
शुक्लाफाँटामा सन् २०२२ को राष्ट्रिय गणनाअनुसार ३६ वटा बाघ रहेकोमा निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ रहेको अनुमान गरिएको छ ।
पछिल्लो समय राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ । थोरै क्षेत्रफल भए पनि शुक्लाफाँटामा बाघको आहारा प्रजातिको घनत्व बढी भएकाले यहाँ बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।
३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रूपमा परिचित छ ।















