ह्यारिसबर्गमा विविध कार्यक्रमसहित मनाइयो अन्तर्राष्ट्रिय नारी दिवस
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा नेपाली भाषी भूटानी समुदायमा अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रमसहित मनाइएको छ । समुदायका बालबालिका, युवा, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा आइतबार आयोजित कार्यक्रममा महिला सशक्तिकरण, समानता, नेतृत्व विकास तथा समुदायिक एकताको सन्देश प्रवाह गरिएको थियो।
क्रियामण फाउन्डेशनको युथ लिडरसिप कार्यक्रम अन्तर्गत ‘वाई फोर सी’को आयोजनामा स्वातारा टाउनसिपस्थित हलमा सम्पन्न कार्यक्रममा विभिन्न उमेर समूहका सहभागीहरूले मन्तव्य, कविता, नृत्य तथा सांस्कृतिक प्रस्तुति मार्फत महिला अधिकार र सम्मानका विषयमा विचार व्यक्त गरेका थिए। कार्यक्रम निह्या हिङमाङ र मल्लिका अधिकारीले सञ्चालन गरेका थिए। कार्यक्रममा नृत्य र मन्तव्यलाई आलोपालो गर्दै सञ्चालन गरिएको थियो जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको विशेष आकर्षण बालिकाहरूले प्रस्तुत गरेका शक्तिशाली मन्तव्यहरू थिए। उनीहरूले आफ्नो उमेरभन्दा धेरै परिपक्व सोच र आत्मविश्वासका साथ महिला अधिकार, समानता र भविष्यका अवसरहरूबारे बोलेका थिए।
११ वर्षीया प्रजना गौतमले आफ्नो मन्तव्यमा महिलाहरूले जीवनभर सामना गर्ने मौन संघर्षबारे चर्चा गरिन्। उनले धेरै महिलाहरूले आफ्नो जीवनमा अनेक जिम्मेवारी र पीडा बोकेर पनि कसैबाट प्रशंसा वा समर्थन नपाएको वास्तविकता प्रस्तुत गरिन्। “महिलाहरूको मौन लडाइँ पनि शक्तिशाली हुन्छ,” उनले भनिन्, “तिनीहरूले कसैको जयजयकार बिना पनि आफ्नो जीवनका चुनौतीहरू सामना गरिरहेका हुन्छन्।”
उनले महिलाको शक्ति उनीहरूले भोगेका संघर्ष र अनुभवले निर्माण गर्ने बताउँदै महिलाहरूले आफ्नो मूल्य बुझ्न आवश्यक रहेको उल्लेख गरिन्। “तपाईंको शक्ति तपाईं को हुनुहुन्छ भन्ने कुराले होइन, तपाईंले जीवनमा कस्ता संघर्ष पार गरेर कस्तो व्यक्ति बन्नुभयो भन्ने कुराले निर्धारण हुन्छ,” उनले भनिन्।
१५ वर्षीया ग्रेस धिमालले आफ्नो मन्तव्यमा महिला स्वतन्त्रता र समान अवसरको विषय उठाएकी थिइन्। उनले इतिहासमा महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिएको दृष्टिकोण अझै पनि समाजका केही क्षेत्रमा कायम रहेको उल्लेख गरिन्।
उनले प्रसिद्ध पुस्तक द फेमिनाइन मिस्टिक मा लेखक बेरी फ्रिडनले वर्णन गरेको “नाम नभएको समस्या” को उदाहरण दिँदै महिलाहरूले केवल पत्नी, आमा वा छोरीको भूमिकामा सीमित भएर आफ्नो व्यक्तिगत पहिचान गुमाउने अवस्थाबारे चर्चा गरिन्।
ग्रेसले पुरानो पुस्ताका धेरै नेपाली महिलाहरूले पनि आफ्नो सपना त्यागेर परिवारका लागि जीवन बिताएको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसलाई सम्मान गर्नुपर्ने बताइन्। “हाम्रा आमाबुबा र हजुरआमाहरूले गरेका त्यागलाई सम्झेर हामीले अब अवसर निर्माण गर्नुपर्छ,” उनले भनिन्। उनले युवा पुस्ताका केटीहरूलाई आफ्ना सपनाहरू पूरा गर्न आत्मविश्वासका साथ अघि बढ्न आग्रह पनि गरिन्।
कार्यक्रममा सुजता पौड्यालले अन्तर्राष्ट्रिय महिला दिवसको इतिहासबारे जानकारी गराएकी थिइन्। उनले सन् १९०९ मा अमेरिकाको न्यूयोर्कमा पहिलोपटक महिला दिवसको कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै त्यसको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरिन्।

उनले सन् १९१७ मा रुसमा भएको क्रान्तिपछि मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालिएको बताउँदै आजको दिन महिलाहरूको उपलब्धि, संघर्ष र समानताको यात्रालाई सम्झने दिन भएको उल्लेख गरिन्। उनले महिलाहरूले कला, संस्कृति, शिक्षा लगायत विभिन्न क्षेत्रमा देखाएको प्रतिभा समुदायका लागि प्रेरणादायी भएको पनि बताइन्।
कार्यक्रममा हेमन्ता अधिकारीले महिलाहरूलाई आवाज उठाउन प्रेरित गर्ने सशक्त मन्तव्य प्रस्तुत गरिन्। उनले समाजमा महिलाहरूलाई “धेरै नबोल”, “धेरै नहास”, “धेरै ठाउँ नलिऊ” जस्ता सन्देशहरू दिइने गरेको यथार्थलाई स्मरण गराउँदै आजको दिन महिलाहरूले आफ्ना आवाजलाई दबाएर राख्नु नपर्ने बताइन्।
“हामी महिला हौं, हामी कसैको नाम पछाडि लुकेका छायाँ होइनौं,” उनले भनिन्। “हामी पूर्ण आवाज हौं। हामी बोल्न सक्छौं, सिक्न सक्छौं, गल्ती गर्न सक्छौं र त्यसबाट बढ्न सक्छौं।”
उनले महिलाहरूले एकअर्कालाई पनि समर्थन गर्नुपर्ने बताउँदै कहिलेकाहीँ महिलाहरूको आवाज दबाउने काम महिलाहरूबाटै हुने गरेको गम्भीर प्रश्न पनि उठाइन्। उनले नयाँ पुस्ताका महिलाहरूलाई परिवर्तनको प्रतीक्षा नगरी परिवर्तन आफैं सिर्जना गर्न आग्रह गरिन्।
त्यसैगरी महिमा अधिकारीले आफ्नो मन्तव्यमा महिलाहरूले सामना गर्ने विभिन्न सामाजिक चुनौतीहरूको चर्चा गरिन्। उनले विश्वमा चारमध्ये एक महिलाले घरेलु हिंसा भोग्ने र आठमध्ये एक महिलाले प्रसवोत्तर डिप्रेसनको सामना गर्ने तथ्यांक प्रस्तुत गर्दै महिलाहरूका समस्याहरू अझै पनि गम्भीर रहेको बताइन्।
“वर्षौंदेखि महिलाहरूलाई भान्साकोठामा सीमित रहनुपर्ने भनिएको छ,” उनले भनिन्, “तर आज हामी यहाँ यी सबै धारणाहरू गलत छन् भनेर प्रमाणित गर्न उभिएका छौं।”
कार्यक्रममा क्रियामण फाउन्डेशनको तर्फबाट ‘प्यारेन्ट्स फर प्रोग्रेस’ नामक नयाँ अभिभावक समूहबारे पनि जानकारी गराइएको थियो। कार्यक्रम व्यवस्थापक पातलो अन्तरेले यो समूह विशेषगरी अभिभावकहरूलाई एउटै प्लेटफर्ममा ल्याएर आफ्ना बालबालिकाको विकासका लागि सहयोग गर्ने उद्देश्यले सुरु गरिएको बताए।
उनका अनुसार समुदायका अभिभावकहरूले आफ्ना बालबालिकाको शिक्षा, खेलकुद, भाषा, संस्कृति तथा सामाजिक विकासका विषयमा अनुभव, समस्या र सुझाव साझा गर्न सक्ने वातावरण सिर्जना गर्न यो समूह स्थापना गरिएको हो।
“हामी जस्ता अभिभावकहरू मिलेर आफ्ना बालबच्चाका लागि के गर्न सकिन्छ भनेर सोच्ने र योजना बनाउने प्लेटफर्म हो ‘प्यारेन्ट्स फर प्रोग्रेस’,” उनले भने। उनले अभिभावकहरूलाई कार्यक्रममा उपलब्ध फारम भरेर समूहमा सहभागी हुन आग्रह पनि गरे।
कार्यक्रममा इन्दिरा प्याकुरेलले महिला शक्ति र साहसबारे कविता प्रस्तुत गरेकी थिइन्। उनले नारीलाई केवल घरको जिम्मेवारी बोकेर बस्ने पात्र नभई समाज परिवर्तन गर्ने शक्ति भएको उल्लेख गर्दै महिलाको सम्मान र अधिकार सुनिश्चित गर्नुपर्ने सन्देश दिइन्।
“नारी केवल आँसु होइन, साहसको नाम हो,” उनले आफ्नो कवितामा भनिन्। “घर, समाज र संसार उज्यालो पार्ने शक्ति पनि नारी नै हुन्।”
भूटनीज कम्युनिटी अफ ह्यारिसबर्गका संस्थापक अध्यक्ष टिका ढुङ्गानाले कार्यक्रमलाई सम्बोधन गर्दै समुदायमा यस्ता कार्यक्रमले युवा पुस्तालाई सकारात्मक दिशामा अघि बढ्न प्रेरित गर्ने बताए। उनले समुदायको भविष्यका लागि युवाहरूको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।
उनले विशेषगरी महिलाहरूको योगदानबारे चर्चा गर्दै घरमै बस्ने महिलाको कामलाई कम आँक्ने प्रवृत्ति गलत भएको बताए। “महिलाहरू बिहानदेखि रातिसम्म परिवारका लागि निरन्तर काम गरिरहेका हुन्छन्,” उनले भने, “त्यसैले उनीहरूको कामलाई सम्मान गर्न हामी सबैले सोच परिवर्तन गर्नुपर्छ।”
निवर्तमान अध्यक्ष तिलक निरौलाले पनि समुदायका संस्थाहरूले शिक्षा, खेलकुद, साहित्य र संस्कृतिमार्फत समुदायलाई सशक्त बनाउने काम गरिरहेको बताए। उनले समुदायका संस्थाहरू मिलेर काम गरेमा अझ प्रभावकारी परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे।
भूटनीज कम्युनिटी अफ सेन्ट्रल पेन्सिल्भेनियाका अध्यक्ष युवराज कोइरालाले कार्यक्रममा बोल्दै युवाहरूको आत्मविश्वास र प्रतिभा देखेर आफू अत्यन्त उत्साहित भएको बताए। उनले बालबालिकाहरूले सानै उमेरमा सार्वजनिक रूपमा बोल्ने र प्रस्तुति दिने क्षमता विकास गरेको देखेर समुदायको भविष्य उज्ज्वल रहेको उल्लेख गरे।
कार्यक्रमको अन्त्यतिर ल्यानक्यास्टरबाट आएका आयुषा चापागाईं, दिव्या घिमिरे, दिपशिका घिमिरे र ओम घिमिरेले ‘आमा’ शीर्षकको मार्मिक गीतिनाटक प्रस्तुत गरेका थिए। उक्त नाटकमा बिरामी आमाको उपचारका लागि संघर्ष गरिरहेकी छोरीको कथा प्रस्तुत गरिएको थियो। डान्स गरेर परिवार चलाइरहेकी छोरीलाई समयमै पारिश्रमिक नपाउँदा आमाको उपचार हुन नसकेको र अन्ततः आमाको मृत्यु भएको भावुक कथा प्रस्तुत गरिएको थियो।
नाटकले उपस्थित दर्शकहरूलाई भावुक बनाएको थियो। धेरै दर्शकहरू नाटकको कथावस्तु र कलाकारहरूको अभिनयले स्तब्ध बनेका देखिन्थे।
कार्यक्रम संयोजक कमला चापागाईँले कार्यक्रम समापन गर्दै सहभागि सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन।
क्रियामण फाउन्डेशनका कार्यकारी निर्देशक भरत तिमिल्सिनाले समुदायको सामाजिक, शैक्षिक र सांस्कृतिक विकासका लागि संस्थाले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रम पनि समुदायको सक्रिय सहभागिताका कारण सफल भएको उल्लेख गरे।
उनले भविष्यमा पनि महिला सशक्तिकरण, युवा नेतृत्व विकास र समुदायिक एकताको लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए।
















