२०२८ को अमेरिकी राष्ट्रपति चुनाव: कमला ह्यारिसको सम्भावित उम्मेदवारी पुनः चर्चामा
कार्लाल, पेन्सिलभेनिया / पूर्व उपराष्ट्रपति कमला ह्यारिसलाई आगामी २०२८ को अमेरिकी राष्ट्रपति चुनावका सम्भावित उम्मेदवारका रूपमा फेरि ध्यान दिन थालिएको छ।
नयाँ सर्वेक्षण र विश्लेषणले डेमोक्र्याटिक मतदाताहरू पार्टीको सार्वजनिक छवि वा आन्तरिक भाषणभन्दा बढी व्यवहारिक र मध्यमार्गी नेताप्रति खुला हुन सक्ने सङ्केत दिएका छन्।
म्यानहट्टन इन्स्टिच्युटले प्रकाशित गरेको हालैको सर्वेक्षण विश्लेषणअनुसार डेमोक्र्याटिक गठबन्धन उल्लेखनीय रूपमा मध्यमार्गी र आन्तरिक रूपमा विभाजित छ। पार्टीभित्रको सबैभन्दा ठुलो मतदाता समूहले “सामान्य” तथा मध्य मार्गको शासन शैलीलाई समर्थन गर्ने देखिएको छ।
आप्रवासन, अपराध, शिक्षा र सामाजिक नीतिलगायत विभिन्न विषयमा सहभागीहरूले कडा वैचारिक अडानभन्दा क्रमिक सुधार वा मध्यमार्गी नीतिलाई प्राथमिकता दिएका छन्।
सर्वेक्षणका विश्लेषकहरूले पार्टीको औसत मतदाता सामान्यतया देखाइने भन्दा केन्द्रतर्फ नजिक रहेको बताएका छन्। यस्तो अवस्थाले व्यापक परिचय र संस्थागत विश्वास भएका उम्मेदवारलाई फाइदा पुग्न सक्ने बताइएको छ।
पूर्व उपराष्ट्रपति ह्यारिस २०२८ को सम्भावित डेमोक्र्याटिक राष्ट्रपति उम्मेदवारहरूको प्रारम्भिक सर्वेक्षणमा प्रतिस्पर्धी देखिएकी छिन् । सर्वेक्षणहरूले ह्यारिसलाई अन्य प्रमुख डेमोक्र्याट नेता क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमसँग कडा प्रतिस्पर्धामा देखाएको बताइएको छ ।
यता पूर्व उपराष्ट्रपति ह्यारिसले अझै राष्ट्रपति चुनाव लड्ने निर्णय गरेकी छैनन्। साथै, उनले सम्भावनालाई पूर्ण रूपमा अस्वीकार पनि गरेकी छैनन्।
फेब्रुअरी २०२६ मा भएको एक लाइभ भिडियो वार्तामा ह्यारिसले सोधिएको प्रश्नको जवाफ दिँदै भनिन्, “मैले अझै निर्णय गरेकी छैन‘ म सम्भवतः लड्न पनि सक्छु।”
यो टिप्पणी भविष्यमा सम्भावित चुनावी अभियानबारे उनले दिएको सबैभन्दा स्पष्ट सार्वजनिक सङ्केतमध्ये एक मानिएको छ। यसअघि द हिलले उल्लेख गरेअनुसार ह्यारिसले आफू “अहिलेसम्म सार्वजनिक सेवाबाट टाढा नभएको” पनि बताएकी थिइन्।
उनले तत्काल कुनै चुनावी अभियान सुरु गर्नुको सट्टा अहिलेको ध्यान जनतासँग संवाद र आगामी चुनावमा डेमोक्र्याट उम्मेदवारहरूलाई समर्थन गर्नेतर्फ रहेको बताएकी छिन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार सन् २०२४ को चुनावपछि डेमोक्र्याटिक पार्टीभित्र देखिएको अनिश्चितता नै हारिसको सावधानीपूर्ण रणनीतिसँग मेल खाएको बताएका छन् ।
म्यानहट्टन इन्स्टिच्युटको सर्वेक्षणले मतदाताहरू वैचारिक चरमपन्थ र आन्तरिक विभाजनबाट थाकेको सङ्केत दिएको छ। यस्तो अवस्थामा स्थिर, परिचित र व्यापक रूपमा स्वीकार्य देखिने उम्मेदवारहरूले आगामी राष्ट्रपति चुनावको दौडमा फाइदा पाउन सक्ने विश्लेषकहरूको भनाइ छ।
ह्यारिसले अन्य प्रभावशाली डेमोक्र्याट नेताहरूबाट चुनौती सामना गर्नुपर्ने भए पनि अनुकूल सर्वेक्षण, निरन्तर सार्वजनिक उपस्थिति र मतदाताहरूमा मध्यमार्गी परिवर्तनको सम्भावनाले उनको सम्भावित उम्मेदवारीलाई नयाँ गति दिएको मानिएको छ ।















