भारतलाई टी-२० विश्वकप क्रिकेटको उपाधि, फाइनलमा न्युजिल्याण्ड ९६ रनले पराजित
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / भारतले आइसीसी टि-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
अहमदाबादमा आइतवार भएको फाइनल खेलमा भारतले न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै टी–२० विश्वकप उपाधि लगातार दोस्रो पटक जितेको हो । १ लाखभन्दा बढी समर्थकको उपस्थितिमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो ।
भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल स्कोर बनाएको थियो । सेमिफाइनलमा इङ्गल्यान्डविरुद्ध बनाएको २५३ रनभन्दा पनि यो दुई रन बढी थियो। भारतका लागि शीर्ष तीन ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे।
सञ्जु सामसनले ४६ बलमा ८९ रन बनाउँदा अभिषेक शर्माले २१ बलमा ५२ रन बनाए। त्यस्तै इशान किशनले २५ बलमा ५४ रनको योगदान दिए।
भारतको स्कोर अझ ठूलो हुन सक्थ्यो तर न्युजिल्याण्डका जिम्मी निसमले १६औँ ओभरमा तीन विकेट लिएर केही रोक लगाएका थिए। अन्तिम ओभरमा शिवम दुबेले २४ रन जोड्दै भारतलाई २५५ रनसम्म पुर्याए।
जवाफमा ब्याटिङ गरेको न्युजिल्याण्डले १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो। टिम सेइफर्टले २६ बलमा ५२ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्। सेमिफाइनलका शतकवीर फिन एलेन तेस्रो ओभरमै ९ रनमा आउट भए।
भारतका तेज बलर जसप्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले ४ ओभरमा केवल १५ रन खर्चिएर न्युजिल्याण्डको तल्लो क्रममा ध्वस्त पारे।
यस जितसँगै भारतले लगातार तीन वटा पुरुष ह्वाइट–बल प्रतियोगिता जितेको छ । यस अघि भारतले सन् २०२४ को टी–२० विश्वकप र सन् २०२५ को च्याम्पियन्स ट्रफी जितेको थियो ।
न्युजिल्याण्डका लागि भने यो अर्को ठूलो फाइनल हार सावित भयो। यसअघि न्युजिल्याण्ड सन् २०१५, २०१९ र २०२१ का विश्वकप फाइनलमा पराजित भएको थियो ।
प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका सञ्जु सामसनले भने, “यो सपना जस्तै महसुस भइरहेको छ। म निकै खुसी र कृतज्ञ छु। शब्दमा व्यक्त गर्न गाह्रो भइरहेको छ।”
त्यस्तै, प्लेयर अफ द म्याच जसप्रित बुमराहले भने, “यो जित विशेष छ। २०२३ मा यही मैदानमा फाइनल खेले पनि जित्न सकेका थिएनौं। त्यसैले आजको जित निकै महत्वपूर्ण लाग्यो।”















