राष्ट्रपति ट्रम्पद्वारा ल्याटिन अमेरिकाली नेताहरूसँग ‘शिल्ड अफ दि अमेरिका’ शिखर सम्मेलन, लागू गरियो ड्रग कार्टेलविरुद्ध नयाँ गठबन्धन
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार फ्लोरिडामा ल्याटिन अमेरिकाका नेताहरूसँग भेटघाट गरी ड्रग कार्टेलविरुद्ध नयाँ गठबन्धन ‘शिल्ड अफ दि अमेरिका’ सुरु गरेका छन् ।
यस क्रममा उनले क्षेत्रीय नेताहरूप्रति केही उपेक्षात्मक टिप्पणी गर्दै भने कि उनीहरूको देशहरूले अपराधी समूहलाई ठुलो क्षेत्रमा नियन्त्रण गर्न अनुमति दिएका छन्। ट्रम्पले यो गठबन्धनलाई ड्रग कार्टेलको सामना गर्न ‘आक्रामक अभियान’ भनेर व्याख्या गरेका छन् ।
शिखर सम्मेलनमा सेन्ट्रल, साउथ अमेरिका र क्यारिबियनका कम्तीमा एक दर्जन नेता सहभागी थिए।
राष्ट्रपति ट्रम्पले संयुक्त प्रयासमा कार्टेलका नेताविरुद्ध मिसाइल प्रयोग गर्न सकिने सङ्केत समेत दिएका छन्। उनले मेक्सिकोलाई कार्टेल गतिविधिको केन्द्रको रूपमा चिनाए र क्युबामा राजनीतिक परिवर्तनको भविष्यवाणी समेत गरेका छन् ।
शिखर सम्मेलनमा सहभागी नेताहरूमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलई, चिलीका राष्ट्रपति–निर्वाचित जोस एन्टोनियो कास्ट, एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेल, होन्डुरसका राष्ट्रपति नास्री एस्फुरा र इक्वेडोरका राष्ट्रपति ड्यानियल नोबोआ थिए। यी नेताहरूले ट्रम्पको अपराध र आप्रवासनविरुद्ध कडा नीतिलाई समर्थन गरेका छन्।

यस शिखर सम्मेलनको अर्को उद्देश्य चीनको बढ्दो प्रभावसँग जुध्नु पनि रहेको देखिन्छ।
राष्ट्रपति ट्रम्पले भने, “शत्रुतापूर्ण विदेशी प्रभाव” बढ्न दिइने छैन। चीनले ल्याटिन अमेरिकामा ५१८ बिलियन व्यापार र १२० बिलियन ऋण प्रदान गरेको छ, जसले अमेरिकी सुरक्षा र रणनीतिक हितमा चुनौती उत्पन्न गरेको छ।
ट्रम्प प्रशासनले क्षेत्रीय सरकारहरूलाई पोर्ट, ऊर्जा परियोजना र अन्य रणनीतिक पूर्वाधारमा बेइजिङको भूमिका सीमित गर्न दबाब दिँदै आएको छ।
यस पहलले अमेरिका–ल्याटिन अमेरिका सम्बन्धलाई बलियो बनाउँदै ड्रग कार्टेल र चीनको प्रभावको विरुद्ध रणनीतिक तयारीलाई अघि बढाउने उद्देश्य राखेको छ।















