इरानसँगको युद्धमा ज्यान गुमाएका सैनिकलाई राष्ट्रपति ट्रम्पद्वारा श्रद्धाञ्जली
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धको सुरुआती दिनहरूमा ज्यान गुमाएका ६ जना अमेरिकी सैनिकको सम्मानजनक शव हस्तान्तरण कार्यक्रममा शनिवार सहभागिता जनाएका छन्।
डेलावेयरस्थित डोभर एयर फोर्स बेसमा आयोजित उक्त कार्यक्रममा प्रथम महिला मेलानिया ट्रम्प, रक्षा सचिव पिट हेगसेथ र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफ पनि उपस्थित थिए।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार युद्धका क्रममा ज्यान गुमाउने सैनिकहरूमा क्याप्टेन कोडी ए. खोरक ३५, सार्जेन्ट फर्स्ट क्लास नोआ एल. टिटजेन्स ४२, सार्जेन्ट फर्स्ट क्लास निकोल एम. अमोर ३९, सार्जेन्ट डेक्लान जे कोडी २०, मेजर जेफ्री ओ’ब्रायन ४५ र चिफ वारन्ट अफिसर–३ रोबर्ट एम. मर्जान ५४ रहेका छन्।

सम्मान कार्यक्रमपछि अमेरिकी सञ्चारमाध्यमहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भने, “हामीले उनीहरूलाई सम्मान गर्न पायौँ, त्यसमा म खुसी छु। यो अत्यन्त कठिन परिस्थिति हो। उनीहरू महान् व्यक्ति, महान् अभिभावक र परिवारका सदस्य थिए।”
राष्ट्रपति ट्रम्पले सैनिकका अभिभावकहरू आफ्ना सन्तानप्रति गर्वित रहेको बताए। साथै उनले युद्ध अपेक्षाकृत राम्रो ढङ्गले अघि बढिरहेको दाबी पनि गरे।

रक्षा मन्त्रालयका अनुसार ती सैनिकहरू कुवेतको पोर्ट शुआइबामा मार्च १ मा भएको मानवरहित विमान प्रणाली ड्रोन आक्रमणमा मारिएका थिए।
उनीहरू सबै आयोवास्थित डेस मोइनमा आधारित १०३औँ सस्टेनमेन्ट कमान्डका सदस्य थिए, जसले सेनालाई खाद्य सामग्री, आपूर्ति र अन्य लजिस्टिक सहयोग प्रदान गर्ने जिम्मेवारी सम्हाल्दै आएको छ।

सम्मानजनक शव हस्तान्तरण कार्यक्रम अमेरिकी राष्ट्रपतिका लागि सबैभन्दा भावुक र गम्भीर जिम्मेवारीमध्ये एक मानिन्छ। कार्यक्रम सम्पन्न भएपछि राष्ट्रपति ट्रम्प फ्लोरिडास्थित मार–ए–लागो फर्कने कार्यक्रम रहेको बताइएको छ।















