अमेरिकामा मार्च ८ देखि डेलाइट सेभिङ टाइम सुरु, घडी एक घण्टा अगाडि सारिने
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाका अधिकांश राज्यहरूमा आइतवार, मार्च ८ देखि डेलाइट सेभिङ टाइम सुरु हुँदैछ।
स्थानीय समयअनुसार राति २ बजे घडी एक घण्टा अगाडि सारिनेछ, जसलाई सामान्यतः “स्प्रिङ फर्वार्ड” भनिन्छ। वर्षमा दुई पटक हुने घडी परिवर्तनको अभ्यासबारे लामो समयदेखि बहस हुँदै आएको छ।
कतिपयले वर्षभर एउटै समय प्रणाली अपनाउनुपर्ने तर्क गर्दै आएका छन् । साथै, अन्य केहीले हालकै प्रणाली कायम राख्नुपर्ने बताउँदै आएका छन्।
यसैबीच क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तले भने अब घडी परिवर्तनको प्रचलन अन्त्य गर्ने निर्णय गरेको छ। प्रान्तीय सरकारका अनुसार अब त्यहाँ वर्षभर डेलाइट सेभिङ टाइम कायम रहनेछ।
सरकारी वेबसाइटमा उल्लेख गरिएअनुसार वर्षमा दुई पटक घडी परिवर्तन नगर्दा परिवारहरूको दैनिक जीवनमा हुने अवरोध कम हुने, तालिका मिलाउन सजिलो हुने र जाडो महिनामा साँझको समयमा बढी उज्यालो प्राप्त हुने विश्वास गरिएको छ।
यस निर्णयअघि गरिएको सर्वेक्षणमा ९३ प्रतिशत बासिन्दाले वर्षभर डेलाइट सेभिङ टाइम कायम राख्न समर्थन गरेका थिए। यससँगै ब्रिटिस कोलम्बिया क्यानडाको सस्काचेवानपछि घडी परिवर्तन नगर्ने अर्को प्रान्त बन्नेछ।
अमेरिकामा भने समय परिवर्तनसम्बन्धी विभिन्न प्रस्तावहरू अघि सारिएका छन्। फेब्रुअरी ४ मा प्रतिनिधि सभामा “डेलाइट एक्ट २०२६” नामक विधेयक दर्ता गरिएको छ।
यस प्रस्तावले घडीलाई स्थायी रूपमा ३० मिनेट मात्र सार्ने व्यवस्था गर्न सुझाव दिएको छ । जसले मानक समय र डेलाइट सेभिङ टाइमबीचको फरकलाई मिलाउने उद्देश्य राखेको छ। यो विधेयक हालसम्म मतदानका लागि अघि बढाइएको छैन।
त्यस्तै “सनसाइन प्रोटेक्सन एक्ट” नामक अर्को प्रस्तावले डेलाइट सेभिङ टाइमलाई वर्षभर कायम राख्ने व्यवस्था गर्न खोजेको छ। यस्ता कुनै पनि परिवर्तन लागू हुन प्रतिनिधि सभा र सिनेटबाट पारित भई राष्ट्रपतिको स्वीकृति आवश्यक पर्नेछ।
यस अवधिमा घडी परिवर्तनसँगै केही घरायसी कामहरू पनि गर्न सुझाव दिइएको छ। जसमा छतका पंखाको दिशा परिवर्तन गर्ने, धुवाँ पत्ता लगाउने उपकरण ‘स्मोक डिटेक्टर’ को ब्याट्री फेर्ने, घरका एयर फिल्टरहरू बदल्ने तथा आपतकालीन सामग्रीको किट अद्यावधिक गर्ने जस्ता कामहरू समावेश छन्।















