मानसिक रोग सानो, अस्थायी वा सजिलै जित्न सकिने कुरा होइन : यानु दंगाल
नमस्कार
मेरो नाम यानु हो, र आज यहाँ उपस्थित हुन पाउँदा म अत्यन्त सम्मानित महसुस गरिरहेको छु। न्यू ह्याम्पशायर स्कूलमा प्राप्त मेरो तालिममार्फत मलाई एचआईभी तथा यौनजन्य संक्रमण (एसटीआइ) सँग बाँचिरहेका व्यक्तिहरूलाई सहयोग गर्ने, साथै हिंसाको अनुभव गरिरहेका महिलाहरूलाई साथ दिने अवसर प्राप्त भयो। यी अनुभवहरूले हाम्रो समुदायको सेवा र समर्थन गर्ने मेरो प्रतिबद्धतालाई अझ बलियो बनायो।
अहिले म ओएचारसी मा युवा संयोजक का रूपमा यही यात्रालाई निरन्तरता दिइरहेको छु। आज म मेरो मनसँग अत्यन्त नजिक रहेको विषय — हाम्रो समुदायमा मानसिक स्वास्थ्य सचेतना — का बारेमा बोल्न चाहन्छु।
हाम्रो समुदायमा मानसिक स्वास्थ्य सचेतना
मानसिक रोग सानो, अस्थायी, वा सजिलै जित्न सकिने कुरा होइन। यो एउटा मौन, निरन्तर चलिरहने संघर्ष हो, जसलाई धेरै मानिसहरूले हरेक दिन लडिरहेका हुन्छन्। डिप्रेसन केवल दुःख होइन — यो निरन्तर नकारात्मक सोच, भावनात्मक थकान, र विस्तारै जीवनका सबै पक्षलाई ढाक्दै जाने अँध्यारो हो। यो जीवनप्रति चासो हराउनु हो, एक्लै बस्न चाहनु हो, र आफ्नै शरीर र स्वास्थ्यको ख्याल राख्न संघर्ष गर्नु हो।
नेपाल र भुटानबाट आएका हाम्रा दाजुभाइ, दिदीबहिनी, ज्येष्ठ नागरिक, शिक्षक, डाक्टर, नेता तथा परिश्रमी व्यक्तिहरू — जसले वर्षौंको समर्पण र त्यागबाट सम्मानित स्थान बनाएका थिए — आज नयाँ भूमिमा संघर्ष गरिरहेको देख्दा अत्यन्त पीडादायी लाग्छ।
आफ्नो देशमा उनीहरू शिक्षक, व्यवसायी र समुदायका अगुवा थिए। आज भाषा अवरोध, पुनःशिक्षा आवश्यकताहरू, दीर्घरोग, अटिज्म भएका बालबालिकाको हेरचाह, बिरामी आमाबुबाको जिम्मेवारी, युवामा लागुऔषध दुर्व्यसन, र आर्थिक दबाबका कारण धेरैजना गोदाम, होटल, अस्पताल र अन्य श्रमप्रधान काममा जीविकोपार्जन गर्न बाध्य छन्।
हरेक काममा गरिमा हुन्छ, तर पीडा तब हुन्छ जब पहिचान, प्रतिष्ठा, सपना र वर्षौंको लक्ष्य हराएको महसुस हुन्छ। उनीहरू आफ्ना छोराछोरी र परिवारका लागि बलियो देखिन्छन्, सार्वजनिक रूपमा मुस्कान दिन्छन्, जिम्मेवारी चुपचाप वहन गर्छन् — तर भित्रभित्रै धेरैजना पीडित छन्।
हामीमध्ये धेरैले शरणार्थी शिविरको जीवन सम्झन्छौं। वर्षा र हावाबाट जोगाउन नसक्ने कमजोर घरहरू, बेलुकाको खाना अभाव, निश्चित समयमा मात्र चल्ने पानीको धारामा लामो लाइन — यी सबै सम्झना अझै ताजा छन्। हामीले केही घण्टाका लागि मात्र केरोसिन बत्ती बालेर पढ्ने वा घरको काम गर्ने दिनहरू सम्झन्छौं। स्वास्थ्य चौकीको अभाव, स्वास्थ्य र कल्याणबारे उचित शिक्षा नहुनु, र भोलि के हुन्छ भन्ने अनिश्चितता — यी सबै हामीले भोग्यौं। भुटानमा कम्तीमा परिवारसँग घर र जमिन थियो। तर शिविरमा जीवन केवल बाँच्ने संघर्ष थियो।
हाम्रा हजुरबा–हजुरआमा, आमाबुबा, दाजुभाइ–दिदीबहिनीहरूले वर्षौं अस्थिरता र डर सहेर बिताए। त्यो आघात (ट्रमा) केवल हामी आज अमेरिका जस्तो महान देशमा बस्छौं भन्दैमा हराउँदैन। चिन्ता, असुरक्षा, र बाँच्नकै लागि मानसिकता हामीसँगै आउँछ।
सीडीसीका प्रतिवेदन (२००९–२०१२) अनुसार भुटानी शरणार्थी समुदायमा आत्महत्याको दर प्रति १ लाखमा करिब २१–२४ थियो, जुन त्यतिबेला अमेरिकाको औसत दरभन्दा झण्डै दोब्बर थियो। धेरैजसो घटनामा ५० वर्ष मुनिका पुरुषहरू संलग्न थिए, विशेष गरी अमेरिका आइपुगेको एक–दुई वर्षभित्र, जहाँ आर्थिक कठिनाइ मुख्य कारण थियो। यी केवल अंक होइनन् — यी हाम्रा बुबा, छोरा, दाजु, साथीहरू हुन्, जसले एक्लै संघर्ष गर्दै हामीलाई छोडेर गए।
हाम्रा ज्येष्ठ नागरिकहरूलाई पीडा लुकाएर सहन सिकाइएको थियो। मानसिक रोगलाई प्रायः भित्रै गाडिन्छ, कारणहरू यस्ता छन्:
कलंक , एक्लोपन, सामाजिक अलगाव, भाषा अवरोध, काउन्सेलिङप्रति कम विश्वास, र अरूको न्यायको डर।
यसैबीच, यहाँ जन्मिएका युवा पुस्ता आफ्ना भावनाबारे खुला छन्। यसले भावना व्यक्त गर्ने तरिकामा पुस्तागत दूरी सिर्जना गरेको छ। तर मानसिक रोग कमजोरी होइन, लाजको कुरा होइन, र बेवास्ता गर्ने विषय पनि होइन।
ओएचआरसीमा युवा संयोजकका रूपमा काम सुरु गरेदेखि मैले धेरै कुरा सिक्ने अवसर पाएको छु। यहाँ हाम्रा नेताहरूले हाम्रो संस्कृति र धर्म जोगाउन गरिरहनुभएको योगदान अविस्मरणीय छ।
हाम्रो समुदायमा भइरहेका यथार्थलाई बुझ्दै, म केही सुझाव राख्न चाहन्छु जसले हाम्रो सोच्ने र बाँच्ने तरिकामा परिवर्तन ल्याउन सक्छ। हामीले एकता र विश्वासका साथ सुन्दर मन्दिरहरू निर्माण गरेका छौं। अब यी पवित्र स्थानहरूलाई केवल पूजा गर्ने ठाउँ मात्र नभई उपचार र सहाराको स्थान पनि बनाऔं।
हामीले समुदायका रूपमा लिन सक्ने केही कदमहरू:
सत्संग र भजन कार्यक्रम आयोजना गर्ने
स्थानीय तथा राज्य तहमा स्रोतका लागि पहल गर्ने
स्वयंसेवी सहयोग टोली गठन गर्ने
समुदायका स्वयंसेवकहरूलाई तालिम दिऔं ताकि उनीहरूले:
एक्लिएका ज्येष्ठ नागरिकहरूको हालखबर लिन सकून्
कठिनाइ भोगिरहेका परिवारहरूलाई भेट्न सकून्
आवश्यक पर्दा पेशेवर सहयोगसँग जोड्न सकून्
युवा–अभिभावक संवाद कार्यक्रम आयोजना गर्ने
पुस्तागत दूरी घटाउन खुला छलफल गरौं — अभिभावकहरूले युवाले प्रयोग गर्ने मानसिक स्वास्थ्यसम्बन्धी भाषालाई बुझून्, र युवाले आफ्ना अभिभावकको त्याग र संघर्षलाई सम्मान गरून्।
उपलब्ध चिकित्सकीय उपचार र सामुदायिक सहयोगलाई एकसाथ जोडेर प्रभावकारी परिणाम ल्याऔं। व्यवसायीक सहयोग खोज्न प्रोत्साहित गरौं, साथै सांस्कृतिक र आध्यात्मिक समर्थन पनि प्रदान गरौं। दुवै सँगै काम गर्न सक्छन्। मानसिक स्वास्थ्यबारे खुला रूपमा कुरा गर्नु सामान्य बनाऔं।
“म ठीक छैन।”
“मलाई सहयोग चाहियो।”
“म अत्यधिक दबाबमा छु।”
यी वाक्यहरू भन्न स्वीकार्य बनाऔं।
कोही पनि एक्लै पीडित हुनु पर्दैन। यो मन्दिर हामी सबैको हो। यो समुदाय हामी सबैको हो। हाम्रो विश्वास, एकता, र करुणालाई प्रयोग गरेर सुनिश्चित गरौं कि कुनै पनि ज्येष्ठ नागरिक, कुनै पनि अभिभावक, कुनै पनि युवा — चुपचाप पीडित हुन नपरोस्।
हामीले विस्थापन सह्यौं। हामीले शिविरको जीवन पार गर्यौं। हामीले फेरि शून्यबाट सुरु गर्यौं। अब केवल बाँच्न मात्र होइन — निको हुन सिकौं।
(हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) अन्तर्गत युथ फोरमद्वारा फेब्रुअरी २८ तारिख पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आयोजित ‘युवा सशक्तिकरण सत्र १’ कार्यक्रमा यानु दंगालद्वारा प्रस्तुत अंग्रेजी मन्तव्यको अनुवाद । उनी युथ फोरमको संयोजक हुन् । सं.)















