अमेरिकाबाट सात अभियन्ताको संयुक्त अपिल : ‘एनआरएनए अन्तर्राष्ट्रिय सम्मेलन स्थगन गरौँ’
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिका स्थित सात जना गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ताहरूले मार्चका लागि तय गरिएको एनआरएनए अन्तर्राष्ट्रिय सम्मेलन स्थगन गर्न अपिल गरेका छन्।
उनीहरुले मातृभूमि नेपालमा मार्च ५ तारिख गइरहेको आम निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना समेत गरेका छन्।
एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन तथा चुनाव मार्च १४ देखि १६ सम्म तय गरिएको छ।
अपिल गर्ने हरूमा एनआरएनए आइसीसीका उपाध्यक्षहरू डा. केशव पौडेल, सुनील साह र बुद्धि सुवेदी तथा महासचिव द्वय गौरीराज जोशी र बी.आर. लामा रहेका छन्। यस्तै एनआरएनए अमेरिकाका पूर्व अध्यक्षहरू खगेन्द्र जिसी र डा. अर्जुन बञ्जाडेले पनि अपिल गर्नेको सूचीमा छन्।
हालको विश्व परिस्थितिलाई ध्यानमा राख्दै सम्मेलन केही समयका लागि स्थगन गर्न उनीहरूको अपिल छ।
सात अभियन्ताहरूको अपिलको पूर्ण पाठ
हार्दिक अपिल
सर्वप्रथम, मातृभूमि नेपालमा फागुन २१ गते हुन गइरहेको आम निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा सफलतापूर्वक सम्पन्न होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ। यस निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रा सुदृढ बनाउँदै राष्ट्रको विकास र समृद्धिको मार्गलाई थप स्पष्ट दिशा दिनेछ भन्ने विश्वास लिएका छौँ। विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरूको पनि साझा चाहना राजनीतिक स्थायित्वसहितको समृद्ध नेपाल निर्माण नै भएकाले, यस निर्वाचनमार्फत देशलाई सही दिशामा अघि बढाउने ऐतिहासिक अवसर सिर्जना होस् भन्ने हाम्रो कामना रहेको छ। साथै, यस निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाले गैर आवासीय नेपालीका मुद्दा र सरोकारहरूलाई आवश्यक सम्बोधन गर्नेछ भन्ने अपेक्षा समेत व्यक्त गर्दछौँ।
यसैबीच, गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय सम्मेलन आगामी मार्च १४ देखि १७ सम्म आयोजना गर्ने मिति निर्धारण गरिएको छ। सम्मेलनको मिति नजिकिँदै गर्दा विश्व परिस्थितिमा आएको जटिलता, विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित संवेदनशील अवस्था, श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीहरूमा परेको प्रत्यक्ष प्रभाव, तथा संघभित्र दीर्घकालीन एकता सुदृढ गर्न आवश्यक पर्ने विषयहरूमा पर्याप्त सहमति कायम हुन नसकेको अवस्था सबैका लागि चिन्ताको विषय बनेको छ। प्रतिनिधि छनौट प्रक्रिया, मतदान प्रणाली, एनसीसीहरूबीचको समन्वय र एकता जस्ता आधारभूत तथा संवेदनशील विषयहरूमा स्पष्ट सहमति विना सम्पन्न हुने सम्मेलनले अपेक्षित परिणाम दिन कठिन हुने हाम्रो बुझाइ रहेको छ।
यस परिप्रेक्ष्यमा, हाल निर्धारित मितिमा सम्मेलन आयोजना गर्दा व्यापक सहभागिता सुनिश्चित हुन नसक्ने सम्भावना देखिएकाले, सम्मेलनलाई केही समय स्थगन गरी सबै पक्षबिच आवश्यक सहमति कायम गरेर सर्वसम्मत वातावरणमा पुनः उपयुक्त मिति तय गरी सर्वपक्षीय र दीर्घकालीन एकताको महाधिवेशन आयोजना गर्न हामी अपिल गर्दछौँ।
साथै, गैर आवासीय नेपाली संघको सम्मेलन सफल बनाउन नेपाल सरकारले देखाएको अग्रसरता, सद्भाव तथा समन्वयकारी भूमिकाप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। गैर आवासीय नेपाली समुदायप्रति नेपाल सरकारको निरन्तर सकारात्मक दृष्टिकोण तथा एकताको महाधिवेशन सम्पन्न गराउन गरिएको मार्ग निर्देशन र नेतृत्वदायी सहयोगप्रति हामी कृतज्ञ छौँ।
हाल श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीहरूको अवस्था संवेदनशील र चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा, उनीहरूलाई आवश्यक सहयोग, संरक्षण तथा समन्वयमा हाम्रो ध्यान केन्द्रित गर्न सबैमा अपिल गर्दछौँ। इजरायल र इरान बीचको द्वन्द्वका कारण उत्पन्न जटिल परिस्थितिलाई ध्यानमा राख्दै ती क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षा सम्बन्धी निर्देशनहरूको पालना गर्न तथा अनावश्यक जोखिमबाट बच्न अनुरोध गर्दछौँ। जोखिममा परेका नेपालीहरूको संरक्षण तथा आवश्यक परे उद्धार कार्यमा सबै पक्ष एकताबद्ध भई लाग्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौँ।
अन्त्यमा, इरानद्वारा प्रहार गरिएको ड्रोन निष्क्रिय पार्ने क्रममा संयुक्त अरब इमिरेट्समा गोरखाका दिवस श्रेष्ठको दुःखद निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौँ। दिवंगत प्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। साथै, घाइते सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। अत्यावश्यक अवस्था बाहेक जटिल परिस्थिति युक्त देशहरू हुँदै यात्रा नगर्न तथा प्रभावित क्षेत्रमा रहनुभएका सबै नेपालीलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन पुनः आग्रह गर्दछौँ।
अमेरिकामा रहेका एनआरएनएका अभियन्ताहरू
डा. केशव पौडेल
सुनील साह
बुद्धि सुवेदी
गौरीराज जोशी
बी.आर. लामा
खगेन्द्र जिसी
डा. अर्जुन बञ्जाडे
२ मार्च , २०२६















