पेन्सिलभेनियामा करिब ६० हजारले (स्न्याप) सुविधा गुमाए, काम प्रतिवेदन अनिवार्यताले हजारौँ परिवार प्रभावित
कार्लाल, पेन्सिलभेनिया / पेन्सिलभेनियामा करिब ६० हजारले सप्लिमेन्टल न्युट्रिसन असिस्टेन्स प्रोग्राम (स्न्याप) का सुविधा गुमाएका छन् ।
पेन्सिलभेनिया डिपार्टमेन्ट अफ ह्युमन सर्भिसेसका अनुसार गत सेप्टेम्बरदेखि यता (स्न्याप) सुविधा गुमाउने सङ्ख्या उल्लेख्य रहेको जानकारी दिएको हो ।
राज्य अधिकारीहरूका अनुसार यो गिरावट गत जुलाईमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कानुनमा हस्ताक्षर गरेको कङ्ग्रेसका रिपब्लिकनहरूको बजेट विधेयकअन्तर्गत लागू गरिएको काम प्रतिवेदन (वर्क रिपोर्टिङ) सम्बन्धी नयाँ प्रावधानसँग सम्बन्धित भएको बताइएको छ ।
डिपार्टमेन्ट अफ ह्युमन सर्भिसेस सचिव भ्यालेरी आर्कुशले गत बुधवार सिनेट विनियोजन समितिको सुनुवाइमा यी तथ्याङ्कबारे जानकारी दिएकी थिइन् ।
विभागले कुल सङ्ख्यामा अन्य कारणले अयोग्य ठहरिएका व्यक्तिहरू पनि समावेश रहेको स्पष्ट पारेको छ ।
नयाँ प्रावधानअनुसार, केही लाभग्राहीहरूले सुविधा कायम राख्न हप्तामा कम्तीमा २० घण्टा वा महिनामा ८० घण्टा काम गर्नु पर्ने नियम रहेको थियो । त्यस्तै, स्वयंसेवा गर्न वा शिक्षा तथा तालिम कार्यक्रममा सहभागी हुनुपर्ने प्रावधान ल्याइएको थियो ।
युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का अनुसार काम प्रतिवेदन मापदण्ड पूरा नगरेका कारण केहीले (स्न्याप) सुविधा गुमाएको जानकारी दिएको छ ।
















