ट्रम्प प्रशासनद्वारा ५ अर्ब डलर विपद् राहत कोष सार्वजनिक, क्यालिफोर्नियासहित केही राज्य वञ्चित
कार्लाल, पेन्सिलभेनिया / राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी ‘फिमा’मार्फत ५ अर्ब डलरभन्दा बढी विपद् राहत कोष सार्वजनिक गरेको छ ।
उक्त विपद् राहत कोषमा क्यालिफोर्निया, इलिनोइस, मिनेसोटा र कोलोराडो जस्ता केही राज्यहरू बाहिर परेका छन् । विदेशी सञ्चार माध्यम ‘सिएनएन’का अनुसार यी सबै डेमोक्र्याट नेतृत्वका राज्यहरू भएकाले र ट्रम्प प्रशासनले ती राज्यका गभर्नरसँग बारम्बार मतभेद गर्दै आएका कारण राजनीतिक पक्षपातको आशङ्का उत्पन्न भएको जनाइएको छ ।
यु-एस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ‘डिएचएस’ ले भने राजनीतिक कारण अस्वीकार गर्दै विभिन्न दलद्वारा शासित राज्यहरूलाई सहायता दिइएको जनाएको छ ।
आप्रवासन कार्यान्वयनसम्बन्धी विवादका कारण ‘डिएचएस’ बन्दले फिरा का कर्मचारीहरूलाई कामबाट रोकेको, परियोजनाहरू स्थगित गरेको र धेरै राज्यहरूमा पुनःस्थापना कार्य सुस्त बनाएको थियो ।
राष्ट्रपति ट्रम्पले स्टेट अफ दि युनियन सम्बोधनका क्रममा डेमोक्र्याटका कारण रकम उपलब्ध नभएको बताएका थिए । ‘फिमा’को विपद् राहत कोष ‘डिएचएस’ को विनियोजन बजेटभन्दा अलग कोष हो ।
प्रशासनिक अधिकारीहरू र फिरा प्रवक्ताहरूले डेमोक्र्याटहरूलाई राजनीतिक खेल खेलिरहेको आरोप लगाउँदै विपद् तयारीमा जोखिम बढ्ने चेतावनी दिएका छन् ।
त्यस्ते डिएचएस सचिव क्रिस्टी नोयमले १ लाख डलरभन्दा बढीको फिरा खर्चमा आफ्नो स्वीकृति अनिवार्य गर्ने नियम लागू गरेपछि सहायता वितरण ढिलो भएको छ ।
क्यालिफोर्निया राज्यले वन डढेलो पुनःस्थापनाका लागि १ अर्ब डलरभन्दा बढी रकम पर्खिरहेको छ । त्यस्तै, कोलोराडो, मिनेसोटा र इलिनोइसले आँधी तथा कोभिड–१९ राहतका लागि लाखौँ डलर पाउन बाँकी रहेको बताइएको छ ।
हाल सार्वजनिक गरिएको ५ अर्ब डलर ‘फिमा’ को विपद् राहत कोष लगभग खाली हुने अवस्था आएको छ ।
एक साताअघि उक्त कोषमा ९ दशमलव ६ अर्ब डलर रहेको थियो । अधिकारीहरूले कङ्ग्रेसले चाँडै कदम नचाले केही साताभित्र कोष सकिन सक्ने चेतावनी दिएका छन् । ठूलो स्तरको एक मात्र विपद्ले पनि कोष पूर्ण रूपमा समाप्त पार्न सक्ने बताइएको छ ।
ह्वाइट हाउसका केही अधिकारीहरूले समेत फिरा भित्रको गुनासो र आन्तरिक अस्थिरताप्रति असन्तुष्ट रहेको जनाइएको छ । पछिल्ला महिनाहरूमा ‘फिमा’मा नेतृत्व परिवर्तन र कर्मचारी कटौतीसमेत भएको छ ।
















