एक सय वर्षको उमेरमा नौसेनाका पूर्व क्याप्टेन रोयस विलियम्सलाई ‘मेडल अफ अनर’ प्रदान
वासिङ्गटन डीसी/ अमेरिकाका सेवा निवृत्त नौसेना क्याप्टेन रोयस विलियम्सलाई एक सय वर्षको उमेरमा देशको सर्वोच्च सैनिक सम्मान ‘मेडल अफ अनर’ प्रदान गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टेट अफ द युनियन सम्बोधनका क्रममा प्रथम महिला (फर्स्ट लेडी) द्वारा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
क्याप्टेन विलियम्सले दोस्रो विश्वयुद्ध, कोरियाली युद्ध तथा भियतनाम युद्धमा सेवा गरेका थिए। तर, उनको सबैभन्दा ऐतिहासिक योगदान सन् १९५२ मा कोरियाली युद्धका क्रममा भएको एक साहसी हवाई युद्ध (डगफाइट) मा रहेको थियो।
त्यस बेला अमेरिकी नौसेनाका लडाकु विमान चालक रहेका विलियम्सले सोभियत संघका पाइलटहरूसँग भएको भीषण हवाई भिडन्तमा असाधारण बहादुरी प्रदर्शन गरेका थिए। अत्यन्त जोखिमपूर्ण अवस्थामा पनि उनले आफ्नो विमान नियन्त्रणमा राख्दै शत्रु विमानहरूसँग प्रत्यक्ष मुकाबिला गरेका थिए। उक्त घटनाले अमेरिकी सैन्य इतिहासमा महत्त्वपूर्ण स्थान बनाएको छ।
तर, सोभियत सङ्घसँग प्रत्यक्ष सैन्य भिडन्त भएको तथ्य तत्कालीन समयमा अत्यन्त गोप्य राखिएको थियो। शीतयुद्धको संवेदनशील परिस्थितिका कारण उक्त घटनासम्बन्धी विवरण दशकौँसम्म सार्वजनिक गरिएको थिएन।
लामो समयपछि उक्त गोप्य विवरण सार्वजनिक भएसँगै विलियम्सको साहस र योगदानलाई औपचारिक रूपमा मान्यता दिइएको हो। १०० वर्षको उमेरमा प्राप्त यो सम्मानले उनलाई अमेरिकी सैन्य इतिहासका एक विशिष्ट नायकका रूपमा स्थापित गरेको छ।
अमेरिकी सरकार र सैन्य नेतृत्वले विलियम्सको साहस, कर्तव्यनिष्ठता र देशप्रतिको योगदानको उच्च प्रशंसा गर्दै यो सम्मान प्रदान गरिएको जनाएको छ।
फोटो ह्वाइट हाउस
















