सह–आयोजक श्रीलङ्का न्युजिल्याण्डसँग पराजित भएसँगै जारी टी–२० विश्वकप क्रिकेटबाट बाहिरियो
कार्लाल, पेन्सिलभेनिया / न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सह–आयोजक श्रीलङ्का जारी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।
सेमिफाइनलको सम्भावना जीवित राख्न जित आवश्यक रहेको खेलमा श्रीलङ्काले १६ ओभरमा न्युजिल्यान्डलाई ६ विकेटको क्षतीमा ९८ रनमा रोकेर सुरुआतमा नियन्त्रणमा राखेको थियो।
अन्तिम चार ओभरमा मिचेल सान्टनर २६ बलमा ४७ रन र कोल म्याककोन्ची २३ बलमा अविजित ३१ रनको आक्रामक ब्याटिङसामु बलरहरू निरीह देखिएका थिए। न्युजिल्यान्डले अन्तिम चार ओभरमा ७० रन जोड्दै १ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलङ्काको सुरुआत कमजोर रह्यो। तीव्र गतिका बलर म्याट हेनरीले पावरप्लेमा दुई विकेट लिए। त्यसपछि घरेलु टोलीले कुनै लय समात्न सकेन। नवौँ ओभरमा रचिन रविन्द्रले कुसल मेन्डिस र पवन रत्नायकेलाई स्टम्प आउट गराउँदा श्रीलङ्का ६ विकेटको क्षतीमा २९ रनको सङ्कटमा पुगेको थियो।
बायाँहाते स्पिनर रविन्द्रले ब्याटबाट २२ बलमा ३२ रन बनाए। हेनरीले दुई ओभरमा २ विकेट ३ रन लिएपछि बाँकी खेलमा विश्राम पाए। श्रीलङ्का अन्ततः ८ विकेटको क्षतीमा १ सय ७ रनमा समेटियो ।
यसअघि सुपर–८ को पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको श्रीलङ्का यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। न्युजिल्यान्ड भने पाँचौँ पटक टी–२० विश्वकप सेमिफाइनल पुग्ने होडमा कायम छ।
पहिलो इनिङ्सको अधिकांश समय भने श्रीलङ्काका बलर प्रभावशाली देखिएका थिए। स्पिनर महीश थीक्षणाले सुरुआती तीन ओभरमा ३९ लिए भने दुश्मन्था चमीराले पनि उत्कृष्ट बलिङ गरे। तर, श्रीलङ्काले खेल समाप्त गर्न सकेन।
म्याककोन्चीले पुनरागमनको सुरुआत गरे र त्यसपछि कप्तान सान्टनरले आक्रामक प्रहार गर्दै ८४ रनको साझेदारी गरे। त्यसले न्युजिल्यान्डलाई सम्मानजनक मात्र होइन, अन्ततः निर्णायक स्कोरसम्म पुर्यायो।
अब दुवै टोलीको सुपर–८ चरणमा एक–एक खेल बाँकी छ। न्युजिल्यान्डले शुक्रवार इंग्ल्यान्डलाई हराए सेमिफाइनल स्थान पक्का गर्नेछ भने श्रीलङ्काले शनिवार पल्लेकलेमा पाकिस्तानसँग खेल्नेछ।

















