नेपाली भाषी भूटानी शरणार्थी शिविरको ‘इन्टर–क्याम्प’ फुटबल प्रतियोगिता अमेरिकामा ब्युत्याइदै
ओहायो, अमेरिका / अमेरिकामा नेपाली भाषी भूटानी समुदायमा अहिले पनि एउटा ठूलो जमात छ, जसले फुटबललाई औधी माया गर्छ । वर्षमा दर्जनौँ प्रतियोगिताहरू हुँदै आएका छन्।
यस वर्षको अगस्तमा ओहायोमा अर्को नयाँ प्रतियोगिताको घोषणा भएको छ। इन्टर क्याम्प २०२६ । भूटनीज अमेरिकन सकर एसोसिएसनले अगस्ट ७, ८ र ९ मा ओहायोमा प्रतियोगिता गर्ने घोषणा गरेको हो।
आयोजक टिमका सदस्य तथा भेट्रान फुटबल खेलाडी किरण थापाका अनुसार यो केवल एउटा प्रतियोगिता मात्र होइन । ती दिनलाई सम्झने र भावी पुस्तालाई हस्तान्तरण गर्ने अभियान हो ।
‘हाम्रो भूटानी समुदायको क्याम्पमा खेलेको भनौँ न, अब हामीले चाहिँ नि खेल्नु पर्छ है भन्दै गर्दा टार्गेटेड इभेन्ट भनेको यो इन्टर क्याम्प हुन्थ्यो।’ थापा अतीत सम्झँदै भन्छन्, ‘अब त्यसलाई अमेरिकामा पनि निरन्तरता दिन खोजेका हौ।’
उनी थप्छन् ‘नेपालका शरणार्थी शिविरका दिनहरू सम्झिँदा धेरैका आँखामा अझै धुलाम्मे मैदान, टिनको छाना र अस्थायी जीवनका पीडा ताजा हुन्छन्। अभाव थियो, भविष्य अनिश्चित थियो, तर त्यही अभावबिच एउटा चीजले समुदायलाई बाँधेर राखेको थियो—फुटबल।’
‘सात शिविरका युवाहरूबिच हुने ‘इन्टर–शिविर’ प्रतियोगिता केवल खेल थिएन। त्यो समुदाय जोड्ने माध्यम थियो।’ थापा भन्छन्, ‘बिहानैदेखि मैदान वरिपरि जम्मा हुने भीड, आ–आफ्नो शिविरको नाम उच्चारण गर्दै उत्साहका साथ समर्थन गरिन्थ्यो। त्यही मैदानबाट धेरै खेलाडीहरू निस्किए, क्लबमा पुगे, ठूलो प्रतियोगितासम्म खेले। यो सबै दिने इन्टर–क्याम्प अब हामी अमेरिकामा ल्याउँदै छौ।’
समाज टाइम्स सँगको कुराकानीमा थापाले क्याम्पको त्यो सामूहिक भावना कमजोर हुन नदिन प्रतियोगिता महत्त्वपूर्ण हुने बताए।
‘सबै आफ्नो–आफ्नो शहर, काम र परिवारमा व्यस्त छन्। एउटै ठाउँमा भेला हुने अवसर कम हुँदै गएको छ। सात क्याम्पलाई हामी एक ठाउँमा ल्याउँदै छौ।’ उनले भने, ‘इन्टर–क्याम्प फुटबल २०२६ केवल खेलकुद कार्यक्रम होइन, स्मृति र पहिचानलाई पुनः जागृत गर्ने प्रयास हो । क्याम्पमा इन्टर–शिविर हाम्रो सबैभन्दा ठूलो इभेन्ट हुन्थ्यो। त्यो प्लेटफर्मले हामीलाई जोड्थ्यो। अहिले हामी सेटल भइसकेका छौँ, तर त्यो लिगेसी जोगाएर नयाँ पुस्तासँग ब्रिज गर्नु जरुरी छ ।’
ओहायोको कोलम्बस स्थित जेनिङ्स स्पोर्ट्स पार्क अगस्ट ७, ८ र ९ तारिख सात वटा शरणार्थी शिविरको प्रतिनिधित्व गर्दै टोलीहरू मैदानमा उत्रिनेछन्। जसमा पुरुष तर्फ विभिन्न उमेर समूह र महिला तर्फ प्रतिस्पर्धा गराइने छ।
‘सबै उमेर समूहलाई हामी खेल्ने अवसर दिन्छौ।’ थापाले भने।
पुरुष तर्फ १६–२९ वर्ष, ३०–३९ वर्ष, ४० वर्षमाथि तथा महिला सबै उमेर समूहले खेल्न पाउने छन्।
थापाका अनुसार क्याम्पबाट आएका र उनका सन्तानले मात्र प्रतियोगिता खेल्न पाउने छन्।
‘यो अन्तर–शिविरको पहिचान जोगाउने अभियान हो।’ थापा भन्छन्, ‘लिगेसी र पुस्ताबिचको पुल हो । प्रतियोगिताको मुख्य लक्ष्य पुरानो पुस्ताले अनुभव गरेको खेल संस्कृतिलाई अमेरिकामा हुर्किरहेको नयाँ पुस्तासँग जोड्नु हो।’
थापाले प्रतियोगिताको पुरस्कार राशी बिस्तारै घोषणा गर्दै जाने बताए। ‘हामी त्यो बारेमा पनि छिट्टै जानकारी दिने छौ।’ उनले भने।
प्रतियोगिताका लागि दिनेश पोखरेल: 651-434-5897,मोन भट्टराई: 336-340-3269,टिका बस्नेत: 380-273-6092, श्याम बनिया: 614-805-5615 वा इमेल: intercamp92@gmail.com मा सम्पर्क गर्न सकिने जनाइएको छ।
थापाका अनुसार यो प्रतियोगिता केवल तीन दिनको खेल मात्र होइन, शिविरको सम्झना, पहिचान र एकताको पुनर्मिलन पनि हो।
“त्यो समयको भाइबलाई अमेरिकामा फर्काउने प्रयास हो,” उनले भने।

















