भर्जिनियामा नेपाली परिवारमा हिंसा : प्रहरीले पहिलो पटक नाम सार्वजनिक गर्यो
भर्जिनिया / अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा गत सोमबार भएको हृदयविरारक हिंसात्मक घटनामा संलग्नको नाम स्थानीय प्रहरीले बुधवार पहिलो पटक सार्वजनिक गरेको छ।
फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले म्यान्टुवामा दोहोरो हत्या प्रकरणमा गोली चलाउने प्रहरीको नाम पनि पहिलो पटक सार्वजनिक गरेको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणमा गत फेब्रुअरी २३ बिहान पर्सिमोन ड्राइभको ३९०० ब्लकमा घरेलु विवादका क्रममा भएको घटनामा ५४ वर्षीय छत्र थापाले खुँडा प्रहार गर्दा उनीकी छोरी ३३ वर्षीया ममता थापा र श्रीमती ५२ वर्षीया बिन्दा थापाको मृत्यु भएको जनाएको छ।
घटनास्थलमै प्रहरीले चलाएको गोली लागेर छत्र थापाको ज्यान गएको उल्लेख छ। थापाका ज्वाइँ गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचाररत रहेको उल्लेख गरिएको छ।
ममता र उनकी आमा बिन्दालाई स्थानीय अस्पताल लगिएकोमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा अपार्टमेन्ट बाहिर एक वयस्क महिला खुँडा प्रहारबाट गम्भीर घाइते अवस्थामा फेला परेकी र त्यसपछि प्रहरी अपार्टमेन्टभित्र प्रवेश गर्दा ५४ वर्षीय छत्र थापाले हातमा खुँडा लिएर एक पुरुषमाथि आक्रमण गरिरहेको अवस्थामा भेटिएको भनिएको छ। यस्तै भित्रै अर्की एक महिला पनि छुरा प्रहारबाट घाइते अवस्थामा भेटिएको भनिएको छ ।
प्रहरीले पटक–पटक चक्कु छोड्न मौखिक आदेश दिए पनि थापाले नमानेर आक्रमण जारी राखेपछि एक प्रहरी अधिकृतले गोली चलाएको उल्लेख छ। गोली लागेर छत्र थापा ढलेका थिए।
घटनास्थलमा फेला परेको खुँडा प्रहरीले बरामद गरेको जनाएको छ।
प्रहरी विभागले बुधबार जारी अद्यावधिक सूचनामा गोली चलाउने अधिकृतको पहिचान सार्वजनिक गरेको हो। विभागका अनुसार ती अधिकृत मेशन प्रहरी जिल्ला अन्तर्गत कार्यरत साँढे दुई वर्ष अनुभव भएका सदस्य हुन्। विभागीय नीतिअनुसार उनी हाल अनुसन्धान अवधिभर ‘रिस्ट्रिक्टेड ड्युटी’मा राखिएका छन्।
प्रहरीले घटनाबारे आपराधिक अनुसन्धान मेजर क्राइम्स ब्युरोले गरिरहेको छ भने आन्तरिक छानबिन इन्टरनल अफेयर्स ब्युरोमार्फत अघि बढाइएको जनाएको छ। साथै, स्वतन्त्र प्रहरी अडिटरबाट पनि समीक्षा हुने जनाइएको छ।
विभागका अनुसार बडी–वोर्न क्यामेरा फुटेज ३० दिनभित्र सार्वजनिक गरिनेछ। अनुसन्धानको निष्कर्ष राष्ट्र मण्डल अधिवक्ताको कार्यालय समक्ष पेश गरिनेछ।
प्रहरीले घटनामा एक वर्षीय बालक सुरक्षित अवस्थामा रहेको जनाएको छ।

















