ओम् सेन्टर दिव्य धाममा जुलाई ६–१२, २०२६ मा ज्ञानमहायज्ञ, ११ फिटको दिव्य घडा आकर्षणको केन्द्र
गालियन, ओहायो (अमेरिका) – विश्वभर छरिएका सनातन धर्मावलम्बी तथा नेपाली जाति–नेपालीभाषी समुदायलाई लक्षित गर्दै आध्यात्मिक ऊर्जा, शान्ति र सांस्कृतिक जागरणको सन्देश बोकेको ऐतिहासिक धार्मिक महोत्सव अमेरिकाको ओहायो राज्यस्थित ओम सेन्टर दिव्य धाममा आयोजना हुने भएको छ।
जुलाई ६ देखि जुलाई १२, २०२६ सम्म सञ्चालन हुने यस विश्वशान्ति ज्ञानमहायज्ञ – २०२५ को वार्षिकोत्सव को अवसरमा श्रीमद्भागवत महापुराण, श्रीमद्देवीभागवत महापुराण, वेद तथा अन्य ग्रन्थहरूको पाठ–पारायण, हवन, शक्ति साधना तथा संगीतमय कथा प्रवचन आयोजना गरिने आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय कथा वाचिका श्री राधिका दासीको विशेष संगीतमय प्रवचन रहनेछ। साथै नेपाल, भूटान र भारतबाट आमन्त्रित प्रतिष्ठित विद्वान्, विदुषी, आचार्य तथा पण्डितहरूद्वारा दैनिक धार्मिक अनुष्ठान, वेदपाठ–परायण, देवीभागवत कथा, भजन–कीर्तन तथा आध्यात्मिक साधना सञ्चालन गरिनेछ।
आयोजक संस्था ग्लोबल भूटानी हिन्दु अर्गनाइजेशन (जीबीएचओ) ले यस महायज्ञलाई विश्व शान्ति, मानवीय सद्भाव, सांस्कृतिक संरक्षण, पर्यावरण संरक्षण तथा आध्यात्मिक जागरणको उद्देश्यले आयोजना गर्न लागेको जनाएको छ।
अमेरिका लगायत विभिन्न देशबाट हजारौं श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा विशेष पूजाआराधना, हवन, सामूहिक ध्यान, युवा तथा बालबालिकाका लागि आध्यात्मिक सत्र तथा नेपाली सांस्कृतिक प्रस्तुति समेत समावेश गरिनेछ।

ओम सेन्टर दिव्य धाम परिसरमा ११ फिट अग्लो भव्य धार्मिक घडा (कलश) स्थापना गरिएको छ, जुन अहिले महोत्सवको प्रमुख आकर्षण बनेको छ। वैदिक परम्परामा घडा पूर्णता, समृद्धि र दिव्य शक्तिको प्रतीक मानिन्छ। जल, पृथ्वी, आकाश, अग्नि र वायुजस्ता पंचतत्त्वको समन्वयको प्रतीकका रूपमा स्थापित यो घडाले विश्वशान्ति, सद्भाव र मानव एकताको सन्देश बोकेको आयोजकको भनाइ छ।
महायज्ञ तथा विशेष पूजाका अवसरमा यस दिव्य घडालाई केन्द्रबिन्दु बनाइ अभिषेक तथा आराधना गरिनेछ। यसको शास्त्रीय आकृति, पवित्र ध्वजा र कलात्मक संरचनाले ओम सेन्टर दिव्य धामलाई उत्तर अमेरिकामा प्रमुख वैदिक–आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन दृष्टिलाई सशक्त बनाएको जनाइएको छ।
आयोजक संस्थाले धर्मप्रेमी सम्पूर्ण भक्तजन तथा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन हार्दिक निमन्त्रणा गरेको छ।


















