एनआरएनएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनको तालिका सार्वजनिक
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को १२ औँ बृहत् एकताको महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ ।
नयाँ नेतृत्वका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । महाधिवेशन मार्च १४ देखि १६ तारिख (फागुन ३० गतेदेखि चैत २ गते) सम्म हुने भनेर मिति तय गरिएको छ ।
एनआरएनएद्वारा जारी विज्ञप्तिअनुसार दुई वर्षे कार्यकालका लागि अन्तर्राष्ट्रिय महाधिवेशनबाट ७४ पदका लागि मार्च ६ तारिख (फागुन २२ गते) भौतिक उपस्थित र अनलाइनबाट उम्मेदवारी दर्ता गरिसक्नुपर्ने छ ।
गैर आवासीय नेपाली संघको सचिवालयमा स्वयम उपस्थिति भएर वा इमेल मार्फत उम्मेदवारी पेस गर्नेले प्रस्तावक र समर्थकसहित अनिवार्य उपस्थित भई सनाखत गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
मार्च १० (फागुन २६ गते) उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने मार्च ११ ( फागुन २७ गते) सम्म उम्मेदवारविरुद्ध दाबी विरोध गर्न पाइने छ । मार्च ११ तारिख नै उम्मेदवारको मनोनयन पत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुनेछ । सोही दिन नै उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।
मार्च १२ तारिख उम्मेदवारले आफ्नो मनोनयन पत्र फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाश हुनेछ । मार्च १२ नै अनलाइन माध्यमबाट निर्वाचन गराउने कम्पनीलाई उम्मेदवारको अन्तिम नामावली उपलब्ध गराइने छ । १३ तारिख अनलाइनको नमुना निर्वाचन हुनेछ ।
मार्च १४ देखि १६ तारिख सम्म नेपाल बाहिर अनलाइन माध्यमबाट मतदान प्रयोजनका लागि अनलाइन मतदान खुला रहेछन् । भौतिक उपस्थितिमा अनलाइन माध्यमबाट मतदान प्रयोजनको लागि नेपालभित्र होटल द सोल्टीमा मार्च १६ तारिख बिहान १ बजेटबाट साँझ ६ बजेसम्म मतदान हुनेछ ।
महाधिवेशनका लागि हालसम्म जापानबाट रोविन शेरचन, बेलायतबाट डा.हेमराज शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भौतिक उपस्थितिमा निर्वाचन भएको खण्डमा अध्यक्षका दाबेदारको संख्या बढ्ने अनुमान गरिएको छ ।
















