ह्यारिसबर्गमा मनाइयो सोनाम लोसार
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाको ह्यारिसबर्गमा तामाङ समुदायले विशेष उत्साहका साथ सोनाम लोसार पर्व शनिवार सामूहिक रुपमा मनाएका छन्।
युनाइटेड तामाङ कम्युनिटी अफ अमेरिकाको आयोजनामा सम्पन्न कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान तथा सामूहिक भेटघाट गरिएको थियो।
कार्यक्रममा तामाङ सेलोका चर्चित गायक संयोग योञ्जनले आफ्नो लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाए।
त्यसै गरी गायिका शशिकला मोक्तान र निर्मला घिसिङले पनि साङ्गीतिक प्रस्तुति दिँदै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
स्थानीय बालबालिकाहरूले तामाङ परम्परागत नृत्य प्रस्तुत गरेका थिए भने सहभागीहरू तामाङ जातिको मौलिक भेषभूषामा सजिएका देखिन्थे। कार्यक्रममा जेष्ठ नागरिकदेखि युवा पुस्ता र बालबालिकासम्मको उल्लेखनीय सहभागिता रहेको थियो।
सोनाम लोसार तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने प्रमुख पर्व हो।
“लोसार” शब्द तिब्बती भाषाबाट आएको हो, जसमा ‘लो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ। यो पर्व प्रायः माघ–फागुन महिनामा पर्ने गर्दछ।
धार्मिक रूपमा यो दिन बुद्ध धर्मावलम्बी तामाङहरूले गुम्बामा पूजा–पाठ, दीप प्रज्वलन र शान्ति कामनाका प्रार्थना गर्ने गर्दछन्। पुराना वर्षका दुःख–कष्ट बिर्सेर नयाँ वर्षलाई सुख, शान्ति र समृद्धिको कामनासहित स्वागत गर्ने परम्परा रहेको छ।
सांस्कृतिक पक्षका रूपमा सोनाम लोसारमा तामाङ सेलो, डम्फु नृत्य, परम्परागत गीत–संगीत, आपसी सद्भाव र सामूहिक भोजनको विशेष महत्त्व रहन्छ। विदेशमा बसोबास गर्ने तामाङ समुदायका लागि यस्तो कार्यक्रमले भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
आयोजकहरूले सोनाम लोसारले आपसी एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
















