नेपालको राष्ट्रिय टिममा एनआरएनए खेलाडीको सहभागिता गराउने कांग्रेसको लक्ष्य
काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्दै खेलकुद क्षेत्रलाई राष्ट्र निर्माणको मेरुदण्ड र एक आकर्षक उद्योगका रूपमा विकास गर्ने उच्च प्राथमिकताका साथ अघि सारेको छ ।
‘खेल्ने नेपाल, चिनिने नेपाल’ को नारासहित कांग्रेसले खेलकुदलाई केवल मनोरञ्जनको साधन मात्र नभई राष्ट्रिय पहिचान, युवा सहभागिता र अर्थतन्त्रको बलियो हिस्सा बनाउने प्रतिज्ञा गरेको हो ।
कांग्रेसले खेलकुदलाई देशको ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुधार्ने लक्ष्य राखेको छ । प्रतिज्ञा पत्रमा भनिएको छ, ‘नेपाली खेलकुदलाई आधुनिक र व्यावसायिक बनाउने ऐतिहासिक जग कांग्रेसकै पालामा बसेको हो । अब यसलाई केवल रहरमा सीमित नराखी अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार र सक्षम इकोसिस्टम निर्माण गरिनेछ ।’
कांग्रेसले ६ महिनाभित्र ‘खेलकुद ऐन’ परिमार्जन गर्ने र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पुनर्संरचना गरी खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने प्रतिवद्धता जनाएको छ ।
खेल पूर्वाधारका सम्बन्धमा ‘एक प्रदेश–एक अत्याधुनिक रंगशाला’ को अवधारणा अघि सारिएको छ । सातै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डका पूर्वाधार बनाउने र प्रत्येक २ वर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने कांग्रेसको योजना छ । फुटबल, क्रिकेट र भलिबल जस्ता खेलहरूमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै व्यावसायिक फ्रेन्चाइज लिग र क्लबहरूलाई विशेष सहुलियत दिने नीति लिइने प्रतिज्ञा पत्रमा उल्लेख छ ।
नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको ‘तटस्थ आयोजना स्थल’ बनाउन विशेष पहल गरिने बताइएको छ ।
’क्रिकेट कूटनीति’ मार्फत अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने र नेपालको विशिष्ट भूगोललाई ‘हाइअल्टीच्युड ट्रेनिङ सेन्टरकोे रूपमा विकास गर्ने कांग्रेसको प्रतिज्ञा छ । यस्तै, माउन्टेन बाइकिङ, प्याराग्लाइडिङ, र्याफ्टिङ र ट्रेल रनिङ जस्ता साहसिक खेलहरूलाई पर्यटनसँग जोडेर नेपाललाई विश्वकै उत्कृष्ट ‘स्पोट्र्स टुरिजम’ गन्तव्य बनाउने योजना अघि सारिएको छ ।
खेलाडीहरू खेलबाट पलायन हुने अवस्था रोक्न ‘खेलाडी सुरक्षा कोष’ स्थापना गर्ने र चोटपटकको निःशुल्क उपचारको व्यवस्था गर्ने कांग्रेसले जनाएको छ ।
पदक विजेताहरूलाई सरकारी सेवामा सम्मानजनक रूपमा समायोजन गर्ने र प्रशिक्षक, रेफ्री तथा व्यवस्थापकका लागि खेल उद्योगभित्रै दिगो रोजगारीका अवसरहरू सिर्जना गरिनेछ भने ई–स्पोर्टसलाई आधिकारिक मान्यता दिँदै गेमरहरूलाई ‘प्रोफेसनल खेलाडी’ को पहिचान दिने र डिजिटल पूर्वाधारमा लगानी गर्ने नवीन सोच समेत कांग्रेसले अघि सारेको छ ।
तल्लो तहदेखि नै प्रतिभा पहिचान गर्न ‘मिसन च्याम्पियन’ र ‘मिसन पदक’ जस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिज्ञा पत्रमा उल्लेख छ । विद्यालय स्तरमा राष्ट्रिय खेलकुद पाठ्यक्रम लागू गर्ने र अन्तर्राष्ट्रिय पदकको सम्भावना भएका खेलहरूलाई वर्गीकरण गरी खेलाडीहरूलाई मासिक पारिश्रमिक र उच्च दक्ष प्रशिक्षण दिने कांग्रेसको प्रतिवद्धता छ ।
साथै, डन्डीबियो र बाघचाल जस्ता मौलिक खेलहरूको जगेर्ना गर्ने र विदेशमा रहेका गैरआवासीय नेपाली एनआरएनखेल प्रतिभाहरूलाई नेपालको राष्ट्रिय टोलीबाट खेल्न पाउने गरी कानुनी बाधाहरू फुकाउने संकल्प समेत कांग्रेसले गरेको छ ।
‘एन्टि–डोपिङ ऐन’ मार्फत नेपाल एन्टि–डोपिङ एजेन्सीलाई स्वायत्त र शक्तिशाली बनाउँदै स्वच्छ खेलको वातावरण निर्माण गर्ने कांग्रेसको प्रतिज्ञा पत्रमा उल्लेख छ ।
















