ट्रम्प प्रशासनको आप्रवासन कडाइले आप्रवासी रोजगारीमा ८० प्रतिशत गिरावट, श्रम बजारको संरचना बदलियो
गोल्डम्यान साक्सका अनुसार आप्रवासी घट्दा श्रम बजार नयाँ चुनौतीमा
कार्लाल, पेन्सिलभेनिया / राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा लागू गरिएको कडा आप्रवासन नियन्त्रण नीतिका कारण अमेरिकामा आप्रवासी रोजगारीमा ८० प्रतिशतसम्म गिरावट आएको नयाँ विश्लेषणले देखाएको छ।
फेब्रुअरी १६ मा सार्वजनिक प्रतिवेदनअनुसार उच्च स्तरको निर्वासन ‘डिपोर्टटेसन’, कडा भिसा प्रतिबन्ध तथा ७५ देशका लागि आप्रवासी भिसा प्रशोधन अस्थायी रूपमा स्थगन गर्ने निर्णयका कारण अमेरिकामा शुद्ध आप्रवासन दर ऐतिहासिक औसतभन्दा ८० प्रतिशतले घटेको जनाइएको हो ।
प्रतिवेदनले यसलाई श्रम आपूर्ति संरचनामा मौलिक परिवर्तन ल्याउने कारकका रूपमा व्याख्या गरेको छ।
गोल्डम्यान साक्सका अमेरिकी अर्थशास्त्र टोली प्रमुख डेभिड मेरिकल नेतृत्वको अध्ययनअनुसार सन् २०१० को दशकमा वार्षिक करिब १० लाख रहेको आप्रवासन सन् २०२५ मा घटेर ५ लाखमा झरेको छ ।
त्यस्तै, सन् २०२६ मा २ लाखमा सीमित हुने प्रक्षेपण गरिएको छ। अर्थशास्त्रीहरूले यस गिरावटलाई आक्रामक नीति परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडेका छन्।
प्रतिवेदनअनुसार आप्रवासी श्रमिकको आगमन घटेसँगै श्रम बजारको ‘ब्रेक–इभेन’ दर पुन: समायोजन गर्नुपर्ने अवस्था आएको छ। कम आप्रवासी भित्रिँदा बेरोजगारी दर स्थिर राख्न आवश्यक नयाँ रोजगारी सङ्ख्यामा पनि कमी आउने छ।
गोल्डम्यान साक्सको अनुमानमा हाल प्रतिमहिना करिब ७० हजार रोजगारी सिर्जना आवश्यक पर्ने अवस्थामा सन् २०२६ को अन्त्यसम्म यो सङ्ख्या ५० हजारमा झर्नेछ।
“आप्रवासन २०२३ को अन्त्यमा पुगेको उच्च बिन्दुबाट घटेसँगै श्रम आपूर्ति वृद्धि तीव्र रूपमा घटेको छ,” प्रतिवेदनमा उल्लेख छ। यसकारण अघिल्ला वर्षमा कमजोर मानिने मासिक रोजगारी तथ्याङ्क अहिले स्थिरताको सङ्केत हुन सक्ने विश्लेषण गरिएको छ।
आप्रवासन घटेसँगै श्रम बजारको अवस्थाबारे अर्थशास्त्रीहरूबीच बहस र चिन्ता बढेको छ। केही विश्लेषकहरूले ‘एआई’ को बढ्दो प्रयोगले कम श्रमिकबाट बढी उत्पादकत्व सम्भव भएको दाबी गरेका छन्।
अक्सफोर्ड इकोनोमिक्सका माइकल पियर्सले अर्थतन्त्र कम रोजगारी सिर्जना गर्दै ‘ब्रेक–इभेन’ नजिक पुगिरहेको प्रक्षेपण गरेका छन्। त्यस्तै जेपी मोर्गन एसेट म्यानेजमेन्टकाका रणनीतिकार डेभिड केलीले आगामी पाँच वर्षमा श्रमिक वृद्धिदर शून्य नजिक पुग्न सक्ने बताएका छन्।
मेरिकलको प्रतिवेदनले कडा आप्रवासन नीतिले केही आप्रवासी श्रमिकलाई औपचारिक तथ्याङ्कबाहिरका कामतर्फ धकेल्न सक्ने जनाएको छ। यसले संघीय तथ्याङ्कलाई विकृत पार्न सक्ने र अर्थतन्त्रको वास्तविक अवस्था मूल्याङ्कन गर्न फेडेरल रिजर्भलाई कठिनाइ हुन सक्ने उल्लेख छ।
हाल बेरोजगारी दर करिब ४ दशमलव ३ प्रतिशत आसपास स्थिर देखिए पनि श्रम बजार अझै ‘अस्थिर’ रहेको गोल्डम्यानले जनाएको छ।
प्रविधि क्षेत्रमा उल्लेखनीय गिरावट देखिएको भए पनि यो क्षेत्र कुल रोजगारीको सानो हिस्सा मात्र भएको स्पष्ट पारिएको छ। अझ चिन्ताजनक पक्ष भनेको रोजगारी अवसर ‘जव ओपनिङ’ सङ्ख्या स्तरभन्दा तल झरेर करिब ७० लाखमा सीमित हुनु जनाइएको छ ।
त्यस्तै, अर्को टिप्पणीमा गोल्डम्यानका प्रमुख अर्थशास्त्री जान हात्जियसले आगामी १२ महिनामा २० प्रतिशत ‘मध्यम’ मन्दी जोखिम रहेको बताएका छन्। बेरोजगारी दर सामान्य रूपमा ४ दशमलव ५ प्रतिशतसम्म मात्र बढ्ने अनुमान गरिएको भए पनि श्रम मागको कमजोर सुरुआत र ‘एआई’ को तीव्र प्रयोगले अवस्था अझ खराब हुन सक्ने चेतावनी दिइएको छ।

















