पृथ्वीसुब्बालाई चुनाव जिताउन प्रवासमा रहेका लमजुङबासीद्वारा प्रभु थापाको संयोजकत्वमा १११ सदस्यीय सहयोग समिति गठन
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ लाई विजयी गराउने उद्देश्यसहित विश्वभर छरिएर रहेका नेकपा एमाले समर्थित लमजुङेहरू संगठित भएका छन्।
प्रवासमा रहेका लमजुङेहरूको शनिवार भएको भर्चुअल भेलाले अमेरिका निवासी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव प्रभुराम थापा को संयोजकत्वमा १११ सदस्यीय सहयोग समिति गठन गरेको हो।
समितिमा पाँचै महादेशबाट संयोजक चयन गरिएको छ। अमेरिका संयोजकमा बिन घले, यूरोप संयोजकमा गोविन्दराज पाण्डेय, ओसियाना संयोजकमा आत्माराम खनाल, पूर्वी एशिया संयोजकमा सत्य घले र मध्यपूर्व संयोजकमा बाबुराम सापकोटा तोकिएका छन्।
त्यसैगरी २५ सदस्यीय सचिवालय समेत गठन गरिएको छ भने दुई सदस्य पछि थप गरिने जनाइएको छ।
सचिवालयमा प्रभुराम थापा, बिन घले, गोविन्दराज पाण्डे, आत्माराम खनाल, सत्यप्रसाद घले, बाबुराम सापकोटा, विष्णुलाल श्रेष्ठ, शिवजङ गुरुङ, अर्जुन गौली, मुक्ति गुरुङ, प्रेम अधिकारी, चन्द्र गुरुङ, नरेन्द्र घले, लक्ष्मीन घले, ऋषिकेश न्यौपाने, मेनुका त्रिपाठी, देवीजंग गुरुङ, एकेन्द्र गुरुङ, ओम गुरुङ, बुद्धिराज घिमिरे, भीम गुरुङ, शिव थापा लगायत सदस्यहरू रहेका छन्।
भेलामा नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, संविधानसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्चका निवर्तमान अध्यक्ष संजय थापा, जिल्ला कमिटी अध्यक्ष राजकुमार बिष्ट, ओएनएफ सचिव चानक पोख्रेल, उपसचिव भक्त गुरुङ, अमेरिका इन्चार्ज कुन्ती थापा, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, ओएनएफ सचिवालय सदस्य ज्योति शर्मा, जानकी कार्की, कृष्ण लामिछाने, मुक्ता गुरुङ, हेम शेर्पा, छवि पाण्डे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष राजकुमार बिष्टले लमजुङमा निर्वाचन जित्नेमा आफूहरू ढुक्क रहेको उल्लेख गर्दै प्रवासबाट पनि नैतिक तथा भौतिक सहयोग आवश्यक रहेको बताए। केन्द्रीय सदस्य संजय थापाले मुलुक जटिल राजनीतिक परिस्थितिमा रहेको भन्दै विकास, स्थिरता र सुशासनका लागि सक्षम नेतृत्व आवश्यक रहेको धारणा राखे।
प्रमुख अतिथि पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्री र संघीय सरकारको सञ्चारमन्त्री हुँदा लमजुङमा थालिएका सयौँ विकास आयोजनाको स्मरण गराउँदै अधुरा योजना पूरा गर्न पुनः अवसर आवश्यक रहेको बताए। उनले लमजुङमै रोजगारी सिर्जना गर्ने, विदेशबाट सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले दोर्दी, तार्दी, पाउँदी, चेपे र मर्स्याङ्दीका किनारसँग जोडिएको प्रवासीहरूको भावनात्मक सम्बन्ध उल्लेख गर्दै ‘समृद्ध लमजुङ’ आफ्नो लक्ष्य रहेको बताए। दुर्गम बस्तीमा सडक सञ्जाल विस्तार, घरघरमा खानेपानी, शिक्षा–स्वास्थ्य पूर्वाधार विकास, कालोपत्रे सडक विस्तार, ‘स्मार्ट भिलेज’ अवधारणाअन्तर्गत घलेगाउँ र काउलेपानीको प्रवर्द्धन तथा विद्युत विस्तारजस्ता कामहरू आफ्नो कार्यकालमा अघि बढाइएको उनले बताए।
उनले प्रवासीहरूलाई आफ्ना परिवारजनसँग समन्वय गरी विकास र स्थायित्वका पक्षमा मतदान गर्न आग्रह गर्दै लमजुङलाई देशकै नमुना जिल्ला बनाउने प्रतिबद्धता दोहोर्याए।
कार्यक्रम संयोजक प्रभुराम थापाले सञ्चालन गरेका थिए। सहभागीहरूले निर्वाचनमा विजयको शुभकामना दिँदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

















