धादिङ -१ मा पुरानो र नयाँको राोचक भिडन्त
सुरेश सुवेदी
धादिङ क्षेत्र नं. १ को चुनावी मैदान यस पटक केवल दाउपेचमा मात्र सीमित छैन, यो तथ्याङ्क र युवा मनोविज्ञानको रोचक टक्कर बन्ने दिशामा मोडिएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार यस क्षेत्रमा करिब १ लाख ३६ हजार ६ सय ८६ मतदाता रहेका छन्। यी लाखौँ मतदाताको भविष्यको साँचो कसको हातमा जाने भन्ने बहसले अहिले त्रिशूली र महेश फाँटका बस्तीहरू तातेका छन्।
१. तथ्याङ्कको खेल: कांग्रेसको त्यो २१ हजार मत र रिजालको दाउ
इतिहासलाई फर्केर हेर्दा, २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विश्व प्रसाद अर्यालले २१,९६८ मत प्राप्त गरेका थिए। यद्यपि २०७९ मा समीकरण फेरियो र राजेन्द्र पाण्डेले ३६ हजारभन्दा बढी मत ल्याएर जिते, तर त्यो गठबन्धनको साझा मत थियो।
अहिलेको परिस्थिति फरक छ। कृष्ण रिजालका लागि सबैभन्दा ठूलो आधार भनेकै कांग्रेसको त्यो पुराना ‘कोर’ मत र थपिएका नयाँ मतदाता हुन्। यदि रिजालले पुराना २१ हजार मतलाई सुरक्षित गर्दै, यस क्षेत्रका करिब १०-१५% युवा र ‘असिडेढ’ (तटस्थ) मतदातालाई तान्न सके भने उनको जितको अङ्कगणित निकै बलियो देखिन्छ।
२. पाण्डेको ‘चिन्ह’ फेर्ने शैली र मतदाताको संशय
पटक-पटक चुनाव जित्दै आएका राजेन्द्रप्रसाद पाण्डेका लागि यस पटक मतदाता संख्या नै भारी हुने संकेत देखिएको छ। “सधैँ पाण्डे नै किन?” भन्ने प्रश्नको उत्तर उनीसँग कमजोर छ। त्यसमाथि, पटक-पटक राजनीतिक स्वार्थका लागि ‘चुनाव चिन्ह’ र पार्टी फेरिरहने उनको शैलीप्रति पुराना र निष्ठावान मतदाताहरू सशंकित छन्।
“हामीले चिन्ह फेर्नेलाई भोट दिने कि भविष्य फेर्नेलाई?” भन्ने तर्क यतिबेला धादिङका युवाहरू माझ बलियोसँग उठेको छ। पाण्डेलाई आफ्नै पार्टीका केन्द्रीय सदस्यहरूले समेत साथ नदिनुले उनको ३६ हजारको विरासत यस पटक छिन्नभिन्न हुने जोखिममा छ।
३. त्रिपाठी र तामाङ: घट्दो क्रेज र बढ्दो विकल्प
भूमि त्रिपाठी: एमालेका त्रिपाठीले विगतमा ४९ हजारसम्म मत पाएको इतिहास भए पनि, पछिल्लो समय गठबन्धन नहुदा, उनको तीव्र आलोचना र मतदातासँगको दूरीले गर्दा उनको मत संख्या ओरालो लाग्ने निश्चित प्रायः छ।
आशिका तामाङ: जोस भए पनि होस र परिपक्वताको कमी देखिएको भन्दै गम्भीर मतदाताहरू उनीबाट टाढिँदै गएका छन्।
४. उप-प्राध्यापकको ‘एन्ट्री’: किन फरक छ कृष्णको बाटो?
वाल्मीकि विद्यापीठको उप-प्राध्यापक पदबाटै राजीनामा दिएर होमिएका युवा कृष्ण रिजालले १ लाख ३६ हजार मतदाताका अगाडि एउटा गम्भीर प्रस्ताव राखेका छन्— “बौद्धिकता र इमानदारीको नेतृत्व”।
धादिङ १ का मतदाताहरू अहिले यस्तो पात्रको खोजीमा छन्, जसले संसद्मा तर्कसहितको बहस गर्न सकोस् र जसको नियतमा खोट नहोस्। रिजालको शैक्षिक उचाइ र राजनीतिक शालीनताले गर्दा उनी केवल ‘उम्मेदवार’ मात्र होइनन्, बरु पुराना नेताहरूको विकल्प खोजिरहेका हजारौं मौन मतदाताहरूको ‘आशा’ बनेका छन्।
निष्कर्ष:
१ लाख ३६ हजार मतदातामध्ये ठूलो हिस्सा ओगट्ने युवा पुस्ताले यस पटक ‘प्रयोग’ भइसकेका अनुहारलाई भन्दा ‘पढे-लेखेका र परिपक्व’ युवा कृष्ण रिजाललाई रोज्ने सम्भावना बलियो छ। यदि धादिङ १ ले यस पटक प्राज्ञिक व्यक्तित्वलाई अनुमोदन गर्यो भने, त्यो नेपालकै राजनीतिक शुद्धीकरणका लागि एउटा बलियो सन्देश हुनेछ।

















