‘आइआरएस’ १०९९–के नियम २०२६ : को–को पर्नेछन् रिपोर्टिङको दायरामा ?
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी आन्तरिक राजस्व विभाग (आइआरएस) ले १०९९–के सम्बन्धी रिपोर्टिङ नियमहरू विगत केही वर्षदेखि परिमार्जन गर्दै आएको छ ।
पटक–पटक स्थगित र चरणबद्ध कार्यान्वयनका बिच २०२६ लाई ठुलो परिवर्तनको वर्ष मानिएको छ । अनलाइन बिक्री गर्ने, साइड हसल चलाउने वा व्यवसायका लागि डिजिटल भुक्तानी एप प्रयोग गर्ने लाखौँ अमेरिकीलाई यी नियमहरूले असर गर्ने अपेक्षा गरिएको थियो ।
(आइआरएस)का अनुसार १०९९–के फारम व्यक्तिगत लेनदेनका लागि नभई व्यावसायिक कारोबारका लागि भएको जनाइएको छ । (आइआरएस)ले कुन भुक्तानी व्यावसायिक र कुन व्यक्तिगत हो भन्ने स्पष्ट छुट्याउनु महत्त्वपूर्ण रहेको जनाएको छ ।
लागू हुने भनिएको थ्रेसहोल्डमा परिवर्तन
(आइआरएस)ले तेस्रो–पक्ष प्लेटफर्ममार्फत गरिने व्यावसायिक कारोबारका लागि १०९९–के रिपोर्टिङ थ्रेसहोल्ड ६ सय डलरमा झार्ने योजना बनाएको थियो । पटक–पटकको ढिलाइपछि २०२६ देखि पूर्ण रूपमा ६ सय डलर सीमा लागू हुने बताइएको थियो ।
हालैको कानुन संशोधनपछि उक्त सीमा परिवर्तन गरिएको छ । अब थ्रेसहोल्ड २० हजार डलर र २ सय कारोबारमा कायम रहने छ । यसले धेरैलाई राहत दिए पनि केही अन्योल भने बाँकी रहेको छ ।
हालको व्यवस्थाअनुसार इबे, पेपल, जेल र भेन्भो (व्यावसायिक खाता) लगायत अन्य तेस्रो–पक्ष भुक्तानी नेटवर्कमार्फत वस्तु तथा सेवाका लागि २० हजार डलरभन्दा बढी भुक्तानी प्राप्त गरी २ सय भन्दा बढी कारोबार गर्ने करदातालाई (आइआरएस) ले १०९९–के जारी गर्नेछ ।
कुन भुक्तानी रिपोर्ट योग्य हुन्छ?
१०९९–के फारम अनलाइन बजार, व्यावसायिक भुक्तानी एप तथा क्रेता–विक्रेताबिचको कारोबार व्यवस्थापन गर्ने प्लेटफर्ममार्फत गरिने भुक्तानीमा लागू हुन्छ ।
हातले बनाइएका सामग्री बेच्ने, फर्निचर पुनः बिक्री गर्ने, सानो अनलाइन पसल चलाउने वा फ्रीलान्सर कामका लागि डिजिटल भुक्तानी स्वीकार गर्नेहरू यस दायरामा पर्छन् । त्यस्तै, साथी वा परिवारबिचको व्यक्तिगत रकम आदान–प्रदान गर्नु यसमा नपर्ने बताइएको छ ।
अनलाइन विक्रेताले किन ध्यान दिनुपर्छ?
इबे, इट्से, पोसमार्क, मार्केरी जस्ता प्लेटफर्महरूले थ्रेसहोल्ड नाघेपछि १०९९–के जारी गर्नै पर्नेछ ।
कहिलेकाहीँ आफ्ना पुराना सामान बेच्दा त्यसबाट आउने नाफा रकम करयोग्य नहुने बताइएको छ । (आइआरएस)ले कुल आम्दानी नभई नाफा रकममा कर लगाउने गर्छ । त्यसैले अभिलेख राख्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।
गिग वर्कर र फ्रीलान्सर पनि दायरामा
राइड–सेयर चालक, खाना डेलिभरी गर्ने र डिजिटल प्लेटफर्ममार्फत फ्रीलान्स काम गर्नेहरू पनि कर दायित्वबाट मुक्त छैनन् । केही प्लेटफर्मले १०९९–एनइसी फारम जारी गर्न सक्छन्, तर आम्दानी भने करयोग्य नै हुन्छ ।
साथै, खर्च कटौती गर्न मिल्ने पक्षहरू पनि छन् । खर्च कटौती गर्न मिल्ने पक्षहरू सवारी प्रयोग, सामग्री खरिद तथा प्लेटफर्म शुल्क रहेको छ । रसिद र माइलेज रेकर्ड राख्नु आवश्यक रहेको छ ।
धेरैले भुक्तानी एप सहज रूपमा प्रयोग गर्छन्, तर २०२६ मा कारोबारको सही वर्गीकरण झनै महत्त्वपूर्ण हुन्छ । व्यक्तिगत भुक्तानीलाई व्यक्तिगत रूपमा र व्यावसायिक भुक्तानीलाई व्यावसायिक रूपमा ट्याग गर्नाले अनावश्यक झन्झटबाट बच्न सकिन्छ । सम्भव भएसम्म व्यक्तिगत र व्यावसायिक कारोबारका लागि छुट्टाछुट्टै खाता प्रयोग गर्नु उत्तम रहेको छ ।
थ्रेसहोल्ड ६ सय डलरमा झर्ने प्रस्ताव लागू नभएकाले व्यापक परिवर्तन आवश्यक छैन । तर, कर सिजन आउँदा सजग र व्यवस्थित रहनु आवश्यक छ ।

















