‘झिंगेदाउ २’ को छायांकन सम्पन्न ,आउने फूलपातीमा प्रदर्शन गर्ने तयारी
काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको चर्चित फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखलाको छायांकन सम्पन्न भएको छ ।
६३ दिनको सुटिङपछि आज बुधबार फिल्म छायांकन सम्पन्न भएको हो । यसको अन्तिम छायांकन चितवनको देवघाटमा भएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिएका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले साढे तीन करोडको लगानीमा फिल्म सम्पन्न गर्ने योजना भएता पनि हलसम्म जाँदा ४ करोडको लगानी हुने जानकारी दिए ।
उनले भने, ‘ ६३ दिनको सुटिङपछि आज फिल्म छायांकन सम्पन्न भएको छ । पहिला साढे तीन करोडमा फिल्म सकाउने हामीले अनुमान गरेको थियौँ तर हलसम्म पुग्दा ४ करोडको खर्च आउने देखिएको छ ।’
यसको पहिलो भाग साहित्यकार भीमनिधि तिवारीको औपन्यासिक कृतिमा आधारित रहेपनि दोस्रो भाग भने फेन्टासी शैलीमा निर्माण भएको पनि उनको भनाई छ ।
साथै, उनले यो सामाजिक सन्देश दिने पारिवारिक कथा वस्तुमा आधारित फिल्म भएको भन्दै यसले ६०, ६५ वर्ष अगाडिको काठमाडौँलाई देखाउने प्रयास गरेको बताए ।
‘यो फिल्म सामाजिक सन्देश दिने पारिवारिक कथा वस्तुमा आधारित छ । यसबाट हामीले ६०, ६५ वर्ष अगाडिको काठमाडौँलाई देखाउन खोजेका छौ’ उनले भने ।
उनका अनुसार ‘झिंगेदाउ २’ लाई २०८३ सालको फूलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी भैरहेको छ ।
कथा देउजाकै हो भने पटकथा तथा संवाद परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन् । साथै, फिल्ममा विष्णु घिमिरे कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको नृत्य, अर्जुन पोखरेलको संगीत, मित्र गुरुङको सम्पादन रहेको छ ।
फिल्मको सुटिङ् पनौती, काठमाडौं, पाटन, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ लगायतका ठाउँमा खिचिएको छ ।
दोस्रो श्रृंखलामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभयराज बराल, आशिष पुरुषको अभिनय रहेको छ ।
फिल्मको अघिल्लो भागले घरेलु बक्सअफिसमा साढे चार करोड हाराहारीमा कमाइ गरेको थियो ।

















