टी २० विश्व कप : विश्वभर उत्साह, डिजिटल सहभागिता ऐतिहासिक उचाइमा
मुम्बई, भारत /आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को उद्घाटन सप्ताहन्तमै विश्वभरका क्रिकेट समर्थकको उत्साह चरममा पुगेको छ। भारत र श्रीलंकामा सम्पन्न पहिलो सप्ताहन्तका खेलहरूमा रंगशालामा दर्शकको भीड लाग्दा डिजिटल प्लेटफर्ममा पनि सहभागिता उल्लेख्य रूपमा बढेको आईसीसीले जनाएको छ।
आईसीसीका अनुसार प्रतियोगिताका सुरुआती दुई दिनमै सबै डिजिटल प्लेटफर्ममा ६४७ मिलियन भिडियो हेराइ रेकर्ड भएको छ, जुन सन् २०२४ को प्रतियोगिताको सोही अवधिको तुलनामा ५३ प्रतिशतले बढी हो।
आईसीसी एप प्रयोगकर्ताको संख्या ८३ प्रतिशतले वृद्धि भएको छ भने वेबसाइट प्रयोग गर्ने दर्शक पनि १६ प्रतिशतले बढेका छन्।
विशेषगरी पूर्ण सदस्य राष्ट्रबाहिरका देशहरूबाट सहभागिता उल्लेख्य रूपमा बढेको देखिएको छ। इंग्ल्यान्डसँग कडा प्रतिस्पर्धा गरेको नेपाल प्रयोगकर्ता वृद्धिमा अग्रस्थानमा रहँदै ४४२ प्रतिशतको अभूतपूर्व वृद्धि दर्ज गरेको छ। यसैगरी संयुक्त अरब इमिरेट्स (युएई) बाट १९६ प्रतिशत र अमेरिका बाट ४९ प्रतिशत प्रयोगकर्ता वृद्धि भएको छ, जसले विश्वकपले क्रिकेटलाई विश्वव्यापी रूपमा विस्तार गरिरहेको संकेत गर्छ।
रंगशालामा पनि दर्शकको उल्लेखनीय उपस्थिति देखिएको छ। मुम्बईको वानखेडे रंगशालामा सम्पन्न भारत–अमेरिका खेलमा सप्ताहन्तकै सर्वाधिक २८,७२६ दर्शक उपस्थित भए। अन्य पाँच खेलमध्ये चार खेलमा १५ हजारभन्दा बढी दर्शक रंगशालामा पुगेका थिए।
टिकट मूल्य रणनीतिमा सुधार र खेल तालिका चाँडै सार्वजनिक गरिनुले पनि दर्शक संख्या बढाउन महत्वपूर्ण भूमिका खेलेको आईसीसीले जनाएको छ। उद्घाटन सप्ताहन्तका ६ खेलमा कुल १,१६,५९५ दर्शक रंगशालामा उपस्थित भए। यसअघि भएका अभ्यास खेलहरूमा भारत–दक्षिण अफ्रिका खेल हेर्न करिब ४३ हजार र भारत ‘ए’–अमेरिका खेल हेर्न करिब ५ हजार दर्शक पुगेका थिए।
यसरी प्रतियोगिताका खेल र अभ्यास खेलहरू समेत जोड्दा कुल रंगशाला दर्शक संख्या करिब १ लाख ६४ हजार ६ सय पुगेको छ।
डिजिटल स्ट्रिमिङतर्फ पनि उल्लेखनीय वृद्धि देखिएको छ। ICC.tv मा कुल हेराइ संख्या २९६ प्रतिशतले बढेको छ भने युनिक प्रयोगकर्ता १९२ प्रतिशतले वृद्धि भएका छन्। जापान, जर्मनी, दक्षिण कोरिया, फ्रान्स, मलेसिया, इटाली र नेदरल्याण्ड्सजस्ता गैर–परम्परागत क्रिकेट राष्ट्रबाट आएको सहभागिताले ICC.tv को कुल हेराइको एक चौथाइभन्दा बढी हिस्सा ओगटेको छ।
पहिलो पटक ICC.tv मा गैर–अंग्रेजी कमेन्ट्री सुरु गरिनु पनि यो सफलताको मुख्य कारण बनेको छ। इंग्ल्यान्ड–नेपाल खेलको नेपाली कमेन्ट्री र भारत–अमेरिका खेलको हिन्दी कमेन्ट्री सबैभन्दा धेरै हेरिने दुई खेल बनेका छन्।
आईसीसीले यस प्रतियोगितालाई अहिलेसम्मकै सबैभन्दा पहुँचयोग्य विश्वकप बनाउने लक्ष्य लिएको जनाएको छ, र उद्घाटन सप्ताहन्तकै तथ्यांकले त्यो लक्ष्य सही दिशामा अघि बढिरहेको पुष्टि गरेको छ।

















