अनुशासन र स्वास्थ्यको सन्देशसहित कार्लालमा ड्रुक कराते च्याम्पियनसिप हुने, ३ सय भन्दा बढी खेलाडी सहभागी
गोविन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / पेन्सिलभेनियाको कार्लालमा आगामी मार्च १४ तारिखदेखि ड्रुक कराते च्याम्पियनसिप आयोजना हुने भएको छ।
ड्रुक अन्तर्राष्ट्रिय सितो रियो कराते–डो संघको आयोजनामा हुन लागेको यस च्याम्पियनसिपको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
आयोजक राज बरालका अनुसार प्रतियोगिताका सबै खेलहरू १ सय मिडवे ड्राइभ, कार्लाल, पेन्सिलभेनियामा सञ्चालन हुनेछन्।
‘अनुशासन र स्वास्थ्य, समुदायमा सुरु’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो च्याम्पियनसिप केवल खेलकुद प्रतिस्पर्धा मात्र नभई समुदायमा अनुशासन, स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकहरूले बताएका छन्।
प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीले दर्ता शुल्क स्वरूप ९० डलर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस च्याम्पियनसिपमा विभिन्न राज्य तथा सहरहरूबाट खेलाडीहरूको उल्लेखनीय सहभागिता रहनेछ। डिस्का एक्रोन ‘ओहायो’, कोलम्बस, पिट्सवर्ग, ह्यारिसबर्ग, मेकानिक्सबर्ग, कार्लाल र भर्मन्टबाट खेलाडीहरू सहभागी हुनेछन्।
त्यस्तै, टास्क पिट्सबर्ग, ल्यान्कास्टर, केन्टकी, ओहायो, इस्का रेनल्ड्सबर्ग, सिन्सिनाटी, ड्रुक सितो रियो ओहायो, कोलम्बस र नर्थ डाकोटाबाट समेत खेलाडीहरूको सहभागिता रहने बताइएको छ।
आयोजक समितिका अनुसार करिब ३ सय भन्दा बढी खेलाडीहरूले यस प्रतियोगितामा सहभागिता जनाउने अनुमान गरिएको छ । जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउनेछ।
प्रतियोगिताको आयोजना तथा व्यवस्थापनका लागि करिब ३० हजार डलर नगद खर्च हुने अनुमान गरिएको छ। च्याम्पियनसिपमा १ सय २० स्वर्ण, २ सय २० रजत तथा १ सय २० कास्य पदक प्रदान गरिनेछ। यसले खेलाडीहरूलाई उच्च प्रतिस्पर्धात्मक वातावरणमा उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा दिने आयोजकहरूको विश्वास छ।
खेलाडीहरूले काता र कुमुत्ते दुवै विधामा प्रतिस्पर्धा गर्नेछन्। काता विधामा खेलाडीको प्रविधि, अनुशासन, सन्तुलन र प्रस्तुति कौशलको मूल्याङ्कन गरिनेछ भने कुमुत्ते विधामा प्रत्यक्ष प्रतिस्पर्धामार्फत खेलाडीहरूको रणकौशल, रणनीति र आत्मनियन्त्रणको परीक्षण गरिनेछ।
आयोजक राज बरालले पत्रकार सम्मेलनमा बोल्दै भने, “यो च्याम्पियनसिप केवल प्रतिस्पर्धा मात्र होइन, नयाँ पुस्तालाई अनुशासन, आत्मनियन्त्रण र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने अभियान हो।” आयोजक समितिले प्रतियोगिता सफल बनाउन स्वयंसेवक, प्रशिक्षक, निर्णायक र समुदायका विभिन्न संघ–संस्थासँग सहकार्य गरिरहेको जनाएको छ।
ड्रुक कराँते च्याम्पियनसिपले स्थानीय समुदाय मात्र नभई विभिन्न राज्यका खेलाडी, प्रशिक्षक र कराँते प्रेमीहरूलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ।
यसले अन्तरराज्यीय खेल सम्बन्ध विस्तार गर्नुका साथै कराँते खेलको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

















