ह्यारिसबर्ग क्षेत्रमा आइ – ८३ मा पुनः विस्फोट कार्य सुरु हुने
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिल्भेनिया यातायात विभाग (पेनडट) ले ह्यारिसबर्ग सहर र आसपासको क्षेत्रमा अन्तरराज्यीय राजमार्ग आइ-८३ को पुनर्निर्माण कार्य अन्तर्गत आगामी हप्तादेखि पुनः विस्फोट (ब्लास्टिङ) कार्य सुरु हुने जानकारी दिएको छ।
पेनडटले शुक्रवार जारी गरेको सूचना अनुसार मौसम अनुकूल रहेमा, ठेकेदार कम्पनीले सोमबार, फेब्रुअरी ९ देखि उत्तरतर्फ जाने आइ-८३ को १७औँ स्ट्रिटदेखि १९औँ स्ट्रिटसम्म विस्फोट कार्य सञ्चालन गर्नेछ।
यो कार्य करिब दुई हप्तासम्म चल्ने छ। सोमबारदेखि बिहीबारसम्म, प्रायः दिउँसो करिब १२ बजे गरिने जनाइएको छ। काम आवश्यकता अनुसार र मौसममा निर्भर रहने पेनडटको भनााइ छ।
सुरक्षाका कारण विस्फोटको समयमा आइ-८३ का दुवै दिशामा अधिकतम १० मिनेटसम्म ‘रोलिङ स्टप’ लागू गरिनेछ। रोलिङ स्टप भन्नाले सडक पूरै लामो समयका लागि बन्द गर्ने होइन। यसमा सवारी साधनहरूलाई केही समयका लागि अस्थायी रूपमा रोक्ने र फेरि क्रमशः अघि बढ्न दिने व्यवस्था गरिन्छ।
उत्तरतर्फ जाने सवारीसाधनका लागि रोलिङ स्टप कम्बरल्याण्ड काउन्टीको रुट ५८१ बाट सुरु हुनेछ भने दक्षिणतर्फ जाने सवारीसाधन डफिन काउन्टीको आइजनहावर इन्टरचेन्ज बाट रोकिनेछन्। विस्फोटका बेला नजिकका सडकहरू पनि अस्थायी रूपमा बन्द गरिने हुँदा यात्रुहरूले ढिलाइको सामना गर्नुपर्नेछ।
हाल जोन ह्यारिस मेमोरियल (साउथ) ब्रिज देखि आइजनहावर इन्टरचेन्ज सम्म उत्तरतर्फ आइ-८३ मा दीर्घकालीन निर्माण संकेतहरू राखिएका छन्। चालकहरूलाई रोकिएका वा ढिलो गतिमा चलिरहेका सवारीसाधनप्रति सचेत रहन पेनडटले आग्रह गरेको छ।
यो कार्य आइ-८३ क्यापिटल बेल्टवे परियोजना अन्तर्गतको पूर्वी किनारा खण्ड ३ को दुईवटा ठेक्कामध्ये पहिलो ठेक्काको हिस्सा हो। यस परियोजनामा आइ-८३ को केही खण्ड चौडा बनाउने र पुनर्निर्माण गर्ने, २९औँ र १९औँ स्ट्रिटमा ओभरहेड पुल निर्माण, नयाँ क्यामरून स्ट्रिट इन्टरचेन्ज बनाउने, १३औँ स्ट्रिट इन्टरचेन्ज हटाउने, तथा क्यामरून स्ट्रिट १९औँ र २९औँ स्ट्रिट क्षेत्रमा सडक सुधार कार्य समावेश छन्।
परियोजनाको अवधिभर लेन परिवर्तन, लेन प्रतिबन्ध तथा सडक बन्द/डाइभर्सन जस्ता ठूला ट्राफिक असर पर्न सक्ने पेनडटले जनाएको छ। प्रमुख ट्राफिक परिवर्तनअघि पूर्वसूचना जारी गरिने जनाइएको छ।
यो १५४.६ मिलियन डलर बराबरको परियोजनाको ठेकेदार न्यू इन्टरप्राइज स्टोन एण्ड लाइम कम्पनी, इंक हो। सम्पूर्ण कार्य अक्टोबर १२, २०२७ सम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।
‘सवारी चालकहरूले मुख्य सडकहरूको अवस्था जान्न ५११ पीए सेवा प्रयोग गर्न सक्नेछन्, जहाँ ट्राफिक ढिलाइ, मौसम पूर्वानुमान, सवारी गति जानकारी तथा १,२०० भन्दा बढी ट्राफिक क्यामेराको पहुँच उपलब्ध छ।’ पेनडटद्वारा जारी गरेको सूचनामा भनिएको छ।

















