वानखेड़े रंगशालामा चार रनको पीडा
मुम्बई, भारत / वानखेडे रंशालामा विश्व क्रिकेटका लागि आफैमा धरोहर हो । त्यसमा इग्ल्यान्ड जस्तो दुई पटकको विश्व च्याम्पियन टिम । तर नेपालले आइतबार साँझ मात्र चार रनको पीडा बेहोर्यो ।
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को यो खेलमा इंग्ल्यान्ड विरुद्ध अन्तिम बलसम्म नेपाली सपना धड्कि रह्यो। नेपालले आफू माथि जित निकाल्न इंग्ल्यान्डलाई अन्तिम बलसम्म संघर्ष गर्न बाध्य बनायो।
नतिजा चार रनले इंग्ल्यान्डको पक्षमा गयो तर वानखेडेमा कथा नेपालले नै लेखायो।
इंग्ल्याण्ड माथि गोर्खाली दबाब
टस जितेर इंग्ल्यान्डले पहिले ब्याटिङ रोज्दा धेरैले ठूलो स्कोरको अनुमान गरेका थिए। वानखेड़े — जहाँ २०० भन्दा माथिका स्कोर सामान्य मानिन्छन्।
तर पहिलो ओभरदेखि नै नेपालले इंग्ल्यान्डलाई गोर्खाली पहिचान दियो। इंग्ल्याण्डलाई नेपालले एक सय ८४ भन्दा माथि जान दिएन।
नेपाली बलर शुरुवात देखि नै विकेट लिन सफल भए ।
फिल साल्ट १ रनमै आउट भए भने जोस बटलर २६ रनमा पभेलियन फर्किए। टम बान्टन र साम करन पनि दुई दुई रनमा आउट भए। मध्य क्रमको साझेदारीले इंग्ल्यान्डलाई मजबुत अवस्थामा पुर्यायो ।
इंग्ल्यान्डका लागि जेकब बेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतक प्रहार गर्दै इनिङ्स सम्हाले। बेथेलले ३५ बलमा ५५ रन बनाउँदा ४ चौका र ४ छक्का प्रहार गरे भने कप्तान ब्रुकले ३२ बलमा ५३ रन जोडे।
अन्त्यतिर विल ज्याक्सले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा अविजित ३९ रन बनाएर टोलीको स्कोर १८४ पुर्याए।
नेपालका बलरमध्ये दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। सन्दीप लामिछानेले किफायती बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए। शेर मल्लाले पनि १ विकेट हात पारे। यद्यपि करण केसी र कुशल भुर्तेल केही महँगो साबित भए।
नेपाली दर्शकले भरिभराउ रंगशालामा एक सय ८५ लक्ष्य पछ्याएको नेपालले व्याटिङ्गमा पनि राम्रो चुनौती दियो। नेपाल डगआउटमा कुनै हतार थिएन। योजना थियो — विकेट जोगाउने, रन बोर्ड चलाइराख्ने।
कुशल भुर्तेल र आसिफ शेखले इनिङ्स सुरु गरे। इंग्ल्यान्डका तीव्र बलरहरूको सामना संयमताका साथ गरियो। पावरप्लेमा नेपालले विकेट जोगाउँदै रन बटुल्यो। स्कोर बोर्ड चुपचाप अघि बढ्दै थियो।
तर पावर प्लेपछि विकेट खस्यो। एक छिनका लागि इंग्ल्यान्ड खेल नियन्त्रणमा लिएको जस्तो देखियो। तर त्यसपछि मैदानमा उत्रिए कप्तान रोहित पौडेल।
रोहित–दीपेन्द्रको साझेदारी : खेलले मोड लियो
रोहित पौडेल र दिपेन्द्रसिंह ऐरीबिच बनेको साझेदारी नै खेलको मुटु बन्यो। दुवैले आक्रामकता र संयमको सन्तुलन देखाए। स्पिनरमाथि आक्रामक सट, फास्ट बलरमाथि टाइमिङ — नेपाली ब्याटिङ परिपक्व देखिन थाल्यो।
एक समय नेपाल १२ ओभरमा करिब १०० रन नाघिसकेको थियो। रनरेट नियन्त्रणमा थियो। दर्शक दीर्घाबाट “नेपाल–नेपाल” को आवाज गुन्जिन थाल्यो। इंग्ल्यान्डका कप्तान बारम्बार फिल्ड परिवर्तन गर्दै थिए।
रोहितको आउटपछि पनि दीपेन्द्रले इनिङ्स सम्हालिरहे। तर त्यस पछि विकेटहरू क्रमशः खस्न थाले। खेल डेथ ओभरतिर जाँदा गणित झन् रोचक बन्दै गयो।
अन्तिम पाँच ओभर : वानखेड़े रोकियो, नेपाल दौडियो
१६ औँ ओभरपछि खेल पूर्ण रूपमा थ्रिलरमा बदलियो। नेपाललाई जितका लागि अझै सम्भावना थियो। तर प्रत्येक बल अब “फाइनल” जस्तै थियो।
१८ औँ ओभरमा लोकेश बम मैदानमा आए। पहिलो दुई बलमै उनले आक्रामक प्रहार गर्दै इंग्ल्यान्डलाई दबाबमा पारे। दर्शक दीर्घा उफ्रियो। इंग्ल्यान्डका बलरको अनुहारमा चिन्ता देखिन थाल्यो।
१९ औँ ओभरको अन्त्यमा समीकरण स्पष्ट भयो —अन्तिम ओभरमा चाहियो १४ रन। हातमा विकेट सीमित।
अन्तिम ओभर : सपना, आशा र चार रनको दूरी
वानखेड़ेमा सन्नाटा।
इंग्ल्यान्डका अनुभवी बलर रनअपमा।
स्ट्राइकमा नेपाली ब्याट्सम्यान।
पहिलो बल — सिंगल।
दोस्रो बल — चौका !
नेपाल अझै खेलमा।
तेस्रो बल — डट।
चौथो बल — विकेट !
अब समीकरण झन् कठिन।
पाँचौँ बल — दुई रन।
अन्तिम बल — जितका लागि असम्भवजस्तै।
बल हावामा उड्यो…
तर सीमा पार गर्न सकेन।
नेपाल ४ रनले जितबाट टाढा रह्यो।
हार, तर हारजस्तो नलाग्ने रात
स्कोरबोर्डले इंग्ल्यान्डलाई विजेता भन्यो।
तर मैदान छोड्दा नेपाली खेलाडीको आँखामा हारभन्दा बढी गर्व थियो।
‘म टिम प्रति गर्व गर्छु।’ कप्तान रोहित पौडेलले भने। त्यसो त इंगल्याण्डका कप्तान ह्यारी ब्रुकले पनि नेपाली टिमको प्रशंसा गरे।
दुई पटकको विश्वकप विजेता विरुद्ध, वानखेड़े जस्तो रंगशालामा, अन्तिम बलसम्म जितको सपना देख्नु — यही नै नेपाली क्रिकेटको नयाँ परिचय हो।
यो खेलले नेपाल अब “अन्डरडग” होइन भन्ने प्रमाण दियो।
यो हार होइन — यो भविष्यको संकेत हो।
तस्विर : क्यान

















