पेन्सिलभेनियामा सवारी चालक परीक्षा अङ्ग्रेजीमा मात्र हुने प्रस्ताव
कार्लाल, पेन्सिलभेनिया / पेन्सिलभेनियाका दुई सांसदहरूले सवारी चालक अनुमति पत्र परीक्षा “अङ्ग्रेजी मात्र” हुने गरी नयाँ कानुनको प्रस्ताव पेस गरेका छन् ।
यो विधेयक गत बुधवार राज्य सिनेटर डग मास्ट्रियानो र क्यामेरा बार्टोलोट्टाले प्रस्ताव पेस गरेका हुन् ।
सांसदहरूका अनुसार विधेयकको उद्देश्य सडक सुरक्षालाई सुदृढ पार्नु र चालकहरूले सडक सङ्केत तथा कानुन पालन गर्ने निर्देशन बुझ्न सक्ने सुनिश्चित गर्नु रहेको बताएका हुन् ।
विधेयकले सवारी चालक अनुमति पत्र परीक्षा प्रक्रियामा भाषा अनुवादक र अन्य तेस्रो पक्षको सहयोग प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
हाल पेन्सिलभेनियामा नेपाली भाषासहित हिन्दी, जापानी, पन्जाबी, सोमाली, कोरियन, अल्बानियाली, आमहरिक, अरेबिक, बोस्नियाली, बर्मीस्, कम्बोडियन, दारी, फारसी, फ्रेन्च, ग्रीक, इटालियन, म्यान्डारिन, मन्डिन्का, पश्तो, पोलिश, पोर्चुगिज तथा रुसी रहेका छन् ।
सांसदहरूले विधेयकमा फेडरल कानुन वा संवैधानिक मापदण्ड अनुसार अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहायक उपकरण, सेवा वा उचित संशोधनहरू प्रदान गर्ने प्रावधान समावेश गरिएको बताएका छन् ।
















