मिलान–कोर्टिना विन्टर ओलम्पिक इटालीमा सुरु
कार्लाल, पेन्सिलभेनिया / मिलान–कोर्टिना विन्टर ओलम्पिक २०२६ इटालीमा सुरु भएको छ ।
विन्टर ओलम्पिकका खेलहरू चार स्थानमा भव्य उद्घाटन समारोहसँगै औपचारिक रूपमा सुरु भएको हो ।
मिलानको ऐतिहासिक सान सिरो स्टेडियम मुख्य स्थलका रूपमा प्रयोग गरिएको थियो । त्यस्तै समारोहका केही अंश कोर्टिना, लिभिन्यो र प्रेदात्सोमा पनि सम्पन्न भएको थियो ।
उद्घाटन समारोहमा दुई स्थान मिलानमा र कोर्टिनामा ओलम्पिक दिप प्रज्वलन गरिएको थियो । इटालियन टेनर आन्द्रेआ बोचेल्लीले सान सिरोमा मशाल प्रवेश गर्दा ‘नेसुन डोर्मा’ को प्रस्तुति दिएका थिए ।
यसअघि खेलाडीहरूको परेड उल्लासपूर्ण रूपमा सम्पन्न भएको थियो । ग्रेट ब्रिटेनकी तर्फबाट फिगर स्केटर लिलाह फियर मिलानमा झण्डावाहक थिइन् । कोर्टिनामा बब्स्लेड खेलाडी ब्राड हलले सो जिम्मेवारी सम्हालेका थिए । संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपति जेडी भान्स पनि ओलम्पिकको उदघाटन समारोहमा उपस्थित भएका थिए ।
खेलाडी परेडअघि रचनात्मक निर्देशक मार्को बालिचले तयार पारेको कार्यक्रम ‘आर्मोनिया’ (अर्थात् एकता, सम्बन्ध र सहमति) को अवधारणामा आधारित थियो । जसको उद्देश्य साझा दृष्टिकोणमार्फत भूभाग, मानिस र मूल्यहरूलाई एकताबद्ध गर्नु रहेको बताइएको थियो ।
कार्यक्रममा ‘इटालियन सौन्दर्य’ र ‘फान्टासिया’ शीर्षकका अंश समावेश थिए । साथै सन् २०२५ मा ९१ वर्षको उमेरमा निधन भएका प्रसिद्ध फेसन डिजाइनर जर्जियो अरमानीलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । अमेरिकी गायिका मारायाह केरीले उदघाटन समारोहमा ‘भोलारे’ गीतको विशेष प्रस्तुति दिँदै मञ्चमा देखिएकी थिइन् ।
मिलान–कोर्टिना २०२६ आयोजन समितिका अध्यक्ष जियोभानी मालागोले भने, “हामी सबैलाई एकताबद्ध गर्ने उत्कृष्टता, मित्रता र सम्मानका मूल्यबाट प्रेरित हुँदै फेरि ओलम्पिक इतिहास रच्न तयार छौँ।”
उनले थपे, “एक साझा सपनाका लागि यति धेरै निकायबिचको समन्वय यो देशले यति जटिल परियोजना सम्पन्न गर्न सक्ने क्षमताको शक्तिशाली प्रमाण हो। आजको रात जत्तिकै म कहिल्यै इटालियन भएकोमा गर्व महसुस गरेको थिइन।”
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) की अध्यक्ष किस्र्टी कोभेन्ट्रीले खेलहरू औपचारिक रूपमा उद्घाटन गरेकी थिइन् । खेलाडीहरूलाई सम्बोधन गर्दै (आईओसी) की अध्यक्ष्य कोभेन्ट्रीले भनिन्, “यही कारण हो कि हामी सबै ओलम्पिक खेलहरूलाई प्रेम गर्छौँ। तपाईहरूमार्फत हामी आफैंको सबैभन्दा उत्कृष्ट रूप देख्छौँ।”
उनले थप भनिन्, “तपाईहरूले हामीलाई साहसी हुन, दयालु हुन र जति नै कठिनाइ आए पनि फेरि उठ्न सकिन्छ भन्ने सम्झाउनु हुन्छ।”
“ओलम्पिक खेलहरूको भावना केवल खेलसम्म सीमित छैन। यो हामी र हाम्रो मानवतासँग सम्बन्धित छ । यही हो ओलम्पिकको जादू-हामी सबैलाई सँगै मिलेर अझ राम्रो बन्न प्रेरित गर्ने।”, उनले भनिन् ।
कर्लिङ, फिगर स्केटिङ र आइस हकीजस्ता प्रतियोगिताहरू पहिले नै सुरु भइसकेका छन् । खेलहरूको पहिलो पाँच स्वर्ण पदक शनिवार प्रदान गरिने छ ।
तस्वीर : बीबीसी न्युज

















