न्यूनतम ज्याला वृद्धि र खर्च विस्तारसहित गभर्नर शापिरोको राज्य बजेट प्रस्ताव
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले ५३ दशमलव २ अर्ब डलरको राज्य बजेट प्रस्ताव गरेका छन् ।
उनले राज्य बजेट प्रस्ताव गर्दै न्यूनतम ज्याला १५ डलर पु¥याउने र खर्चमा ६ दशमलव २ प्रतिशत वृद्धि गर्ने योजना प्रस्तुत गरेका हुन् ।
यो प्रस्ताव मारिजुआना वैधीकरण र अन्य नयाँ आम्दानीका स्रोतहरूमा निर्भर रहेको छ । जुन विषयहरू विधायिकामा पटक–पटक अड्किँदै आइरहेको थियो ।
डेमोक्राटिक गभर्नर शापिरोको चौथो बजेट सम्बोधनले ह्यारिसबर्गस्थित राज्य प्रतिनिधि सभा र सिनेट कक्षमा डेमोक्र्याट सांसदहरूले प्रशंसा गरेका थिए ।
प्रस्तावित बजेटले राज्यले सङ्कलन गर्ने अनुमानित आम्दानीभन्दा ४ दशलब ६ अर्ब डलर बढी खर्च गर्नेछ । जसका लागि पेन्सिलभेनियाको ७ दशमलव ७ अर्ब डलरको ‘रेनी डे फन्ड’ प्रयोग गर्नुपर्ने वा अझै अस्तित्वमै नआएका मनोरञ्जनात्मक मारिजुआना करजस्ता स्रोतहरूबाट पैसा जुटाउनु पर्नेछ ।
गभर्नर शापिरोको प्रस्ताव हालको २०२५–२०२६ बजेटभन्दा २ दशमलव ७ अर्ब डलरले बढी हो । उनले प्रशासनका एक अधिकारीका अनुसार करिब १ अर्ब डलर सङ्घीय मेडिकेड दायित्व वृद्धि, अर्को १ अर्ब डलर नयाँ कार्यक्रमहरू र ७० करोड डलर अन्य खर्च वृद्धिमा जानेछ ।
बजेटमा राज्यको नयाँ पर्याप्तता कोष र कर समतामूलक सूत्रमार्फत सार्वजनिक विद्यालयका लागि थप ५ सय ६५ मिलियन डलर समावेश गरिएको छ । यो ९ वर्षे योजनाको हिस्सा भएको बताइएको छ । विद्यार्थीहरूको पोस्टल कोड जेसुकै भए पनि समान शिक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । पिट्सबर्ग विश्वविद्यालय, पेन स्टेट र टेम्पल विश्वविद्यालयसहितका राज्य–सम्बद्ध विश्वविद्यालयहरूले नयाँ कार्यसम्पादन–आधारित कोष प्रणालीमार्फत थप ३० मिलियन डलर पाउनेछन् ।
गभर्नर शापिरोले ‘फेडरल रिस्पोन्स फन्ड’ स्थापना गर्ने प्रस्ताव पनि गरेका छन्, जसका लागि १ सय मिलियन डलर छुट्याइने छ ।
बजेट घाटा पूर्ति गर्न शापिरोले विधायिकामा बारम्बार रोकिएको करिब २ अर्ब डलर नयाँ आम्दानी स्रोतहरूमा भरोसा गरेका छन् । उनले मनोरञ्जनात्मक मारिजुआना बिक्रीमा २० प्रतिशत कर लगाएर पहिलो वर्षमा ७ सय २९ दशमलव ४ मिलियन डलर सङ्कलन हुने अनुमान गरेका छन् । साथै तथाकथित ‘स्किल गेम्स’ मा ५२ प्रतिशत कर लगाएर ७ सय ६५ दशमलव ९ मिलियन डलर उठ्ने अपेक्षा गरिएको छ ।
“सबैलाई थाहा छ, यो काम गर्नै पर्छ । त्यसैले आउनुहोस्, सँगै मिलेर अन्ततः यसलाई सफल बनाऔँ,” शापिरोले आफ्नो सम्बोधनमा भने ।
मारिजुआना वैधीकरण प्रस्ताव शापिरोको चौथो प्रयास हो । गत वर्ष उनले उही २० प्रतिशत कर दर प्रस्ताव गर्दा पहिलो वर्ष ५ सय ३५ दशमलव ६ मिलियन डलर आम्दानी हुने अनुमान गरेका थिए । यस वर्ष भने कर दर नबदलिकन अनुमान ३६ प्रतिशतले बढाएर ७ सय २९ दशमलव ४ मिलियन डलर पु¥याइएको छ ।
प्रशासनका अनुसार पेन्सिलभेनियामा व्यवसाय गर्न इच्छुक मारिजुआना कम्पनीहरूको बढ्दो चासोका कारण अनुमान बढाइएको हो ।
प्रस्तावले राज्यवासीमाथि कुनै व्यापक कर वृद्धि नगरेको भए पनि विवादित आम्दानी स्रोत र राज्यको ठुलो सञ्चित कोषमा निर्भर रहेको छ । ७ दशमलव ७ अर्ब डलरको रेनी डे फन्ड ले हाललाई राहत दिन सक्छ । साथै निरन्तर घाटा खर्चले समयसँगै यो कोष सकिन सक्छ ।
गभर्नरले आवास किफायतीपनलाई मुख्य प्राथमिकता बनाउँदै पेन्सिलभेनियालाई “लाखौँ नयाँ घरहरूको आवश्यकता” रहेको बताए । बजेटमा नयाँ घर निर्माणका लागि “ठुलो लगानी” समावेश गरिएको छ, यद्यपि ठोस रकम अझै सार्वजनिक गरिएको छैन ।
अब यो प्रस्ताव रिपब्लिकन नियन्त्रणमा रहेको सिनेट र डेमोक्र्याट बहुमत रहेको प्रतिनिधि सभाबिच बजेट वार्तामा प्रवेश गर्नेछ । जहाँ खर्च र आम्दानीका विषयमा गहिरो मतभेद देखिने अपेक्षा गरिएको छ ।
आगामी आर्थिक वर्ष जुलाई १ बाट सुरु हुने भएकाले जुन ३० भित्र बजेट पारित गर्नु पर्नेछ । गत वर्ष वार्ता महिनौँसम्म ढिलो भएको थियो ।
फिलाडेल्फिया क्षेत्रका लागि गभर्नर शापिरोको योजनामा टेम्पल विश्वविद्यालयसहित राज्य–सम्बद्ध विश्वविद्यालयहरूलाई ३० मिलियन डलरको नयाँ कार्यसम्पादन–आधारित कोष रहेको छ । साथै आवास निर्माण लक्षित १ अर्ब डलरको बन्ड–आधारित पहल समावेश छ । उनले न्यूनतम ज्याला १५ डलर पु¥याउने आफ्नो माग पनि पुनः दोहो¥याएका छन् ।

















