अमेरिकामा थप तीन नेपाली र सात नेपाली भाषी भुटानी पक्राउ
वासिङ्टन / युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले आफ्नो आधिकारिक वेबसाइट WOW.DHS.GOV (सबैभन्दा खराब मध्ये पनि खराब) मार्फत थप पाँच हजार आपराधिक अवैध आप्रवासीहरूको नाम र विवरण सार्वजनिक गरेको छ। त्यसमा तीन जना नेपाली रहेका छन्। यस्तै सात जना नेपाली भाषी भूटानी छन्।
यससँगै ट्रम्प प्रशासनको कार्यकालमा पक्राउ परेका आपराधिक अवैध आप्रवासीहरूको सार्वजनिक सूची २५ हजार पुगेको डीएचएसले जनाएको छ।
सार्वजनिक गरिएको पछिल्लो सूचीमा समावेश तीन नेपाली र सात नेपाली भाषी भुटानीहरू विभिन्न गम्भीर अपराधमा दोषी ठहर भई अमेरिकाका फरक–फरक राज्यबाट पक्राउ परेका हुन्।
डीएचएसका अनुसार यो सूची जनतालाई सूचना दिन, पारदर्शिता बढाउन र सार्वजनिक सुरक्षासँग सम्बन्धित तथ्य लुकाइँदै नलाने उद्देश्यले सार्वजनिक गरिएको हो। वेबसाइटमा अपराधीको नाम, मूल देश, पक्राउ परेको स्थान र दोषी ठहर भएका अपराधको विवरण उल्लेख गरिएको छ।
सार्वजनिक विवरणअनुसार सूचीमा परेका नेपालीमध्ये रिकेश थापा लुइजियाना राज्यको ओकडेलबाट पक्राउ परेका हुन्। उनलाई अनलाइन तथा तारमार्फत ठगीसम्बन्धी अपराधमा दोषी ठहर गरिएको डीएचएसको विवरणमा उल्लेख छ।
यस्तै, नवीन शाह टेक्सस राज्यको फोर्टवर्थबाट पक्राउ परेका छन्। उनीमाथि आक्रमण, अरूको पहिचान नक्कल गरी ठगी गर्ने र चोरीसम्बन्धी अभियोगमा दोषी ठहर भएको उल्लेख गरिएको छ।
त्यसै गरी, टेकन कँडेल कोलोराडो राज्यको ग्रिलीबाट पक्राउ परेका हुन्। डीएचएसका अनुसार उनी नाबालकसम्बन्धी गम्भीर अपराधमा दोषी ठहर भएका छन्। उनको अपराधमा नाबालकलाई गैरकानुनी रूपमा थुनामा राख्ने, नाबालकको यौन शोषण गर्ने तथा नाबालकसम्बन्धी अश्लील प्रदर्शनसम्बन्धी अभियोग समावेश छन्।
नेपाली भाषी भुटानीहरूमा पेन्सिल्भेनियाको योर्कबाट सञ्जय गुरुङलाई बाल-प्रेषण विरुद्ध यौन अपराधमा र महेश बिस्वालाई आक्रमण, चोरीमा अपराधामा दोषी ठहर भएको जनाइएको छ।
ओहायो ल्यानक्यास्टरबाट तेज पौडेललाई घरेलु हिंसा र न्यू योर्क एल्डेनबाट बाला आचार्यलाई अभिभावकको प्रभावमा रक्सी पिएर गाडी चलाएको आरोपमा दोषी ठहरिएको जनाइएको छ।
यस्तै नेब्रास्का ओमाहाबाट कृष्ण गुरुङलाई यौन आक्रमण र सोही स्थानका धन बिस्वा यौन आक्रमण, हतियार अपराध, बच्चामाथि क्रूरताको आरोमा दोषी ठहर भएको जनाइएको छ।
यस्तै मिशिगन क्यालेडोनियाबाट इन्द्र गुरुङलाई धम्कीको आरोपमा दोषी ठहर गर्दै पक्राउ गरिएको जनाइएको छ।
डीएचएसले यी तीन नेपाली र सात नेपाली भाषी भूटानी सहित सार्वजनिक गरिएको सूचीमा हत्या, यौन अपराध, ठगी, मानव तस्करी, गिरोह गतिविधि र हिंसात्मक अपराधमा संलग्न अन्य हजारौँ आपराधिक अवैध आप्रवासीहरू समावेश रहेको जनाएको छ।
डीएचएसका अनुसार यो सूची “सबैभन्दा खराब मध्ये पनि खराब” अर्थात् सबैभन्दा गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको प्रतिनिधि सूची मात्र हो।
गृह सुरक्षा विभागले WOW.DHS.GOV वेबसाइटमार्फत अब राज्य र मूल देशका आधारमा खोजी गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ।
डीएचएसको दाबी अनुसार वेबसाइट सुरु भएयता लाखौँ अमेरिकी नागरिकले यसमा पहुँच गरेका छन् र यसले आप्रवासनसम्बन्धी सरकारी कारबाहीलाई अझ पारदर्शी बनाएको छ।
डीएचएसले यस्ता सार्वजनिक सूचीकृत विवरणले अमेरिकी जनतालाई सचेत बनाउने, सार्वजनिक सुरक्षासम्बन्धी जानकारी खुला गर्ने र आपराधिक अवैध आप्रवासनविरुद्ध कडा नीति अपनाइरहेको सन्देश दिने विश्वास व्यक्त गरेको छ।
ट्रम्प प्रशासनले अमेरिकी इतिहासकै सबैभन्दा पारदर्शी प्रशासनको अभ्यास गरिरहेको दाबी गरेको छ।
“मिडिया मौनताबिच सरकारको पारदर्शिता”
डीएचएकी सहायक सचिव ट्रिसिया म्याकलफलिनले मुख्य धारका सञ्चारमाध्यमहरूले विषयलाई बेवास्ता गरिरहेको आरोप लगाउँदै प्रशासनले प्रत्यक्ष रूपमा जनतालाई जानकारी दिनु आफ्नो दायित्व भएको बताइन्।
उनले भनिन्, “मुख्य धारका मिडियाले देशभरबाट हटाइँदै गरेका खतरनाक अपराधीहरूबारे समाचार नछापिरहँदा ट्रम्प प्रशासनले पूर्ण पारदर्शिता अपनाएको छ। WOW.DHS.GOV सुरु भएयता लाखौँ अमेरिकीहरूले ‘खराबमा पनि सबै भन्दा खराब’ वेबसाइटमा लगइन गरी गिरोह सदस्य, बाल यौन अपराधी, हत्यारा, मानव तस्कर जस्ता अपराधीहरूको विवरण हेरेका छन्।”
उनका अनुसार आज मात्रै बाल यौन अपराध, हत्या र मानव तस्करीजस्ता घृणित अपराधमा दोषी ठहर भएका पाँच हजार जना थप अपराधीहरूको विवरण वेबसाइटमा सार्वजनिक गरिएको हो। “यी त डीएचएसले पक्राउ गरेका सयौँ हजार अपराधी अवैध आप्रवासीमध्ये सानो हिस्सा मात्र हुन्, र हामी रोकिँदैनौँ,” उनले चेतावनी दिइन्।

















