इन्डियानामा चार जनाको ज्यान जाने सडक दुर्घटना : किर्गिस्तानी ट्रक चालक आइसको नियन्त्रणमा
वासिङ्टन / अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइस) ले इन्डियाना राज्यमा सेमी–ट्रक दुर्घटनामा चार निर्दोष व्यक्तिको ज्यान जाने घटनासँग सम्बन्धित एक अवैध आप्रवासी चालकलाई पक्राउ गरेको जनाएको छ।
फेब्रुअरी ५ मा पक्राउ परेका ती चालक किर्गिस्तानका नागरिक ३० वर्षीय बेकझान बेइशेकेएभ हुन्।
आइसका अनुसार बेइशेकेएभले बाइडेन प्रशासनको समयमा प्रयोगमा ल्याइएको सीबीपी वान एप मार्फत अवैध रूपमा अमेरिकामा प्रवेश गरेका थिए। उनीलाई पछि पेन्सिल्भेनिया राज्यले व्यावसायिक सवारी चालक अनुमति पत्र समेत जारी गरेको खुलेको छ।
दुर्घटनामा चार जनाको मृत्यु
फेब्रुअरी ३ का दिन दिउँसो करिब ४ बजे इन्डियानाको जे काउन्टीमा पर्ने स्टेट रुट ६७ मा उक्त घातक दुर्घटना भएको थियो।
पूर्वतर्फ गइरहेको सेमी–ट्रकले अगाडि सुस्त गतिमा चलिरहेको अर्को ट्रकलाई समयमै ब्रेक नगरेपछि चालकले नियन्त्रण गुमाउँदै पश्चिमतर्फको लेनमा प्रवेश गरेका थिए। त्यस क्रममा यात्रु बोकेको एउटा भ्यानसँग ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य यात्रु घाइते भएका थिए।
दुर्घटनाको अनुसन्धान इन्डियाना स्टेट पुलिस, जे काउन्टी शेरिफ विभाग र जे काउन्टी कोरोनरको कार्यालयले संयुक्त रूपमा गरिरहेका छन्।
आइसको डिटेनर र गिरफ्तारी
फेब्रुअरी ४ मा आइसले जे काउन्टी जेलमा रहेका बेइशेकेएभविरुद्ध आप्रवासन डिटेनर जारी गरेको थियो। इन्डियाना राज्यले आइस सँग सहकार्य गर्ने भएकाले फेब्रुअरी ५ को बिहान उनलाई आइसले आफ्नो नियन्त्रणमा लिएको हो। हाल उनी आप्रवासन सम्बन्धी कानुनी प्रक्रियाको टुंगो नलाग्दासम्म आइसको हिरासतमा रहनेछन्।
सरकारी आलोचना र सुरक्षा चिन्ता
आइसकी सहायक सचिव ट्रिसिया म्याकलफलिनले यस घटनालाई गम्भीर सुरक्षा असफलता भन्दै आलोचना गरेकी छन्।
उनका अनुसार,“सीबीपी वान एपमार्फत अवैध रूपमा देशभित्र प्रवेश गराइएका र पछि राज्यहरूले व्यावसायिक चालक अनुमति पत्र दिएका व्यक्तिहरूका कारण यस्ता ज्यान जाने दुर्घटनाहरू भइरहेका छन्। अमेरिकी सडकमा ट्रक चलाउन ट्राफिक नियम र भाषा नबुझ्ने अवैध आप्रवासीहरू खतरनाक हुन सक्छन्।”
उनले अवैध आप्रवासीलाई सीडीएल दिने नीति तत्काल रोक्नुपर्ने चेतावनीसमेत दिएकी छन्।
आइसीसइका अनुसार पछिल्ला महिनाहरूमा अवैध आप्रवासीहरूद्वारा व्यावसायिक सवारी साधन चलाउँदा गम्भीर अपराध र ज्यान जाने घटनाहरू बढ्दो क्रममा छन्।
नोभेम्बरमा पेन्सिल्भेनियाबाट व्यवसायीक सवारी अनुमतिपत्र पाएका उज्बेकिस्तानका नागरिक अख्रोर बोजोरोभलाई आतंकवादी संगठनसँग सम्बन्ध रहेको आरोपमा पक्राउ गरिएको थियो।
अक्टोबरमा “अपरेशन मिडवे ब्लिट्ज” अन्तर्गत इन्डियानामा मात्रै १४० भन्दा बढी अवैध आप्रवासी ट्रक चालक पक्राउ परेका थिए।
फ्लोरिडामा तीन वटा सवारी ज्यान जाने दुर्घटनामा संलग्न हरजिन्दर सिंहमाथि पनि आइसले डिटेनर जारी गरेको थियो।
आइसले यस्ता घटनाले अमेरिकी सार्वजनिक सुरक्षामा गम्भीर खतरा पैदा गरेको भन्दै राज्य सरकारहरूलाई अवैध आप्रवासीलाई व्यावसायिक सवारी चालक अनुमति पत्र जारी नगर्न आग्रह गरेको छ।

















