अमेरिकाको दक्षिणी सीमामा ऐतिहासिक सुधार
होमल्यान्ड सेक्युरिटी सचिव नोएम र टेक्सास गभर्नर एबटद्वारा सीमा सुरक्षामा ठूलो उपलब्धि घोषणा
वासिङ्टन / अमेरिकी इतिहासमै सबैभन्दा सुरक्षित दक्षिणी सीमा कायम भएको दाबी गर्दै अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) ले आर्थिक वर्ष २०२६ मा सीमा सुरक्षामा ऐतिहासिक उपलब्धि हासिल भएको जनाएको छ।
फेब्रुअरी ३, मंगलवार डीएचएस सचिव क्रिस्टी नोएम टेक्सासका गभर्नर ग्रेग एबट, टेक्सास नेसनल गार्ड र अमेरिकी सीमा सुरक्षा बलका शीर्ष नेतृत्वसँगै दक्षिणी सीमामा हासिल भएका ठूला अपरेशनल सफलताहरू सार्वजनिक गर्न उपस्थित भइन्।
डीएचएसका अनुसार, आर्थिक वर्ष २०२६ (एफवाइ२६) मा हालसम्मका तथ्यांकलाई अघिल्लो वर्ष सँग तुलना गर्दा सीमा अवैध प्रवेश , उम्किएका व्यक्ति , उद्धार, आपराधिक पक्राउ तथा संघीय एजेन्टमाथि भएका आक्रमणहरूमा औसत ८४ प्रतिशतले कमी आएको छ।
पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा खुला सीमासम्बन्धी नीतिका कारण लाखौं अवैध आप्रवासी अमेरिकामा प्रवेश गरेको डीएचएसको आरोप छ। विशेषगरी सन् २०२३ डिसेम्बर २० देखि २०२४ जनवरी ३ सम्म टेक्सासको डेल रियो सेक्टर मा ठूलो मात्रामा आप्रवासनको चाप देखिएको थियो।
त्यस अवधिमा शिशु बच्चासहितका आप्रवासीहरूले ज्यान जोखिममा पार्दै सीमा पार गरेका थिए।
टेक्सासको ईगल पास नजिक रियो ग्रान्डे नदीमा डुबेर मृत्यु भएका घटनाहरू, मानव तस्करद्वारा गरिएको बलात्कार, यौन दुव्र्यवहार र हिंसाका गम्भीर रिपोर्टहरू पनि सार्वजनिक भएका थिए। त्यतिबेला सीमा सुरक्षा एजेन्टहरूलाई एकैसाथ ज्यान जोगाउने, शान्ति कायम गर्ने र सीमा सुरक्षित राख्ने कठिन जिम्मेवारी आइपरेको थियो।
‘क्याच एन्ड रिलिज’ को अन्त्य

सचिव नोएमले पक्राउ गर्ने र छोड्ने क्रमको अन्त भएको बताइन्।
“जब अवैध रूपमा प्रवेश गर्नेहरूलाई तुरुन्तै छोडिने होइन, नियन्त्रणमा लिइने थाहा हुन्छ, तब अवैध प्रवेश आफैं घट्छ। बाइडेन प्रशासनमा जस्तो ‘क्याच एन्ड रिलिज’ नीति अब लागू हुँदैन।”
उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्व र टेक्सासजस्ता राज्य सरकारको सहकार्यले सीमा सुरक्षा सम्भव भएको बताइन।
“हामीलाई सीमा बन्द गर्न नयाँ कानुन होइन, नयाँ राष्ट्रपति चाहिएको रहेछ।” सचिव नोएमले भनिन् ।
डेल रियो सेक्टरमा नाटकीय गिरावट
डीएचएसको रिपोर्टअनुसार, डेल रियो सेक्टरमा चालु आर्थिक वर्षको हालसम्म अवैध प्रवेश ८९.६% ले घटेको छ। सीमा पार गरेर उम्किने संख्या ९०.७% ले घटेको छ।
वर्षअनुसार तुलना (डेल रियो सेक्टर)
अवैध प्रवेश: २२,८६३ बाट घटेर २,३७०
उम्किएका व्यक्ति: ३,७६१ बाट घटेर ३४९
एकल वयस्क आप्रवासी: ८१.७% कमी
आपराधिक पक्राउ: ७३.४% कमी
उद्धार कार्य: ९१.३% कमी
सीमा एजेन्टमाथि आक्रमण: ८१.८% कमी
यसैगरी, अघिल्लो आर्थिक वर्षमा दक्षिण–पश्चिमी सीमामा पक्राउ पर्ने कुल संख्या पछिल्लो ५५ वर्षकै न्यूनतम स्तरमा पुगेको डीएचएसले जनाएको छ।
रियो ग्रान्डेमा ‘अपरेसन रिभर वाल’

डेल रियो सेक्टरले रियो ग्रान्डे नदी र लेक एमिस्टाड सहित दुई सय ४५ माइल लामो सीमा क्षेत्रको जिम्मेवारी लिएको छ। सचिव नोएमको भ्रमणका क्रममा उनले रियो ग्रान्डेमा पानीमा तैरिने अवरोध संरचनाको अवलोकनसमेत गरिन्।
अक्टोबर २०२५ मा उनले ‘अपरेसन रिभर वाल’ को सुरुवात घोषणा गरेकी थिइन्, जसको उद्देश्य दक्षिणी सीमाबाट हुने आपराधिक घुसपैठ रोक्नु हो। त्यसपछि अक्टोबर १० मा ट्रम्प प्रशासनले ४.५ अर्ब डलरको लगानीमा २३० माइल लामो ‘स्मार्ट वाल’ निर्माण सम्झौता घोषणा गरेको थियो।
यो स्मार्ट वाल प्रणालीमा स्टिल बार, पानीमा अवरोध, गस्ती सडक, बत्ती, क्यामेरा र अत्याधुनिक निगरानी प्रविधि समावेश गरिएको छ।

कडा नीति, कडा सन्देश
डीएचएस नेतृत्वका अनुसार अहिलेको सीमा नीति स्पष्ट छ—अवैध प्रवेशप्रति शून्य सहनशीलता। संघीय, राज्य र सुरक्षाबलबीचको समन्वयले दक्षिणी सीमामा नियन्त्रण स्थापित भएको र यसले अमेरिकी राष्ट्रिय सुरक्षा, कानुनी शासन र मानव जीवनको रक्षा गरेको दाबी गरिएको छ।
अमेरिकी प्रशासनले अबको प्राथमिकता यही उपलब्धिलाई दीगो बनाउँदै सीमालाई दीर्घकालीन रूपमा सुरक्षित राख्नु रहेको स्पष्ट पारेको छ।
फोटो : डीएचएस

















