पेन्सिल्भेनियाको न्यूनतम ज्याला वृद्धिका लागि फेरि प्रस्ताव
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गभर्नर जश शापिरोले मंगलबार आफ्नो राज्यको बजेट सम्बोधनमा पेन्सिल्भेनियाको न्यूनतम ज्याला बढाउने प्रस्ताव फेरि गरेका छन्।
पेन्सिल्भेनियामा हाल न्यूनतम ज्याला प्रति घण्टा ७.२५ डलर रहेको छ। शापिरोले न्यूनतम ज्याला १५ डलर प्रति घण्टामा पुर्याउनुपर्ने आह्वान यस अगाडि पनि गर्दै आएका हुन्।
“ओहायोमा १५ डलर मा पुग्दैछ, यहाँसम्म कि वेस्ट भर्जिनियाले पनि हामीलाई पछाडि पारिसक्यो,” शापिरोले भने।
हालसम्म प्रस्तावित कानुन राज्य विधान सभामा रोकिएको छ । पेन्सिल्भेनियाको न्यूनतम ज्याला जुलाई २४, २००९ पछि बढाइएको छैन।
१६ वर्षभन्दा बढी समय बितिसक्दा पनि न्यूनतम ज्याला अझै न्यून रहेको भन्दै गभर्नर शापिरोले सिनेटले रोक्दै आएको बताए।
“प्रतिनिधि सभाले हाम्रो न्यूनतम ज्याला बढाउने कानुन दुई पटक पारित गरिसकेको छ,” शापिरोले भने। “तर प्रत्येक पटक, सिनेटले कुनै कदम उठाउन अस्वीकृत गर्यो।”
सिनेटमा रिपब्लिकनहरूको बहुमत छ। कुल ५० सदस्य रहेको सिनेटमा प्रत्येक सदस्य चार वर्षका लागि निर्वाचित हुन्छन् । हरेक चुनावमा आधा सिटका लागि निर्वाचन हुन्छ । हाल सिनेटमा २७ सिट सहित रिपब्लिकन बहुमतमा छन्।
शापिरोले मेडिकेट जस्ता सामाजिक सुरक्षा कार्यक्रममा सम्भावित बचतलाई पनि न्यूनतम ज्याला बढाउनको कारणको रूपमा उद्धृत गरे।
“किनभने न्यूनतम ज्यालालाई १५ डलर प्रति घण्टा पुर्याउँदा यो राज्यले मेडिकेट जस्ता कार्यक्रममा वार्षिक तीन सय मिलियन बचत गर्न सक्छ,” शापिरोले भने। “त्यो पनि त्यस्ता जटिल र अनावश्यक नियम थपेर होइन, तर वास्तवमा करिब ६१. हजार भन्दा बढी मानिसहरूको ज्याला बढाएर जसले हाल मेडिकेड मा निर्भर छन् र १५ डलर भन्दा कम कमाउँछन्।”
२०२३ मा करिब ६७ हजार आठ सय पेन्सिल्भेनिया कामदार न्यूनतम ज्याला वा सो भन्दा कममा काम गरेको तथ्याङ्क छ। जुन हालसम्मको रेकर्डमा तेस्रो सबैभन्दा कम संख्या भएको श्रम तथा उद्योग विभागको २०२४ को वार्षिक भुक्तानी न्यूनतम ज्याला रिपोर्टमा उल्लेख छ।

















