पेन्सिलभेनियाका गर्भनर शापिरो : न्यूनतम ज्याला विधेयकमा हस्ताक्षर गर्न तयार छु
“ओहायो १५ डलरतर्फ अघि बढ्दैछ, वेस्ट भर्जिनियासमेत हामीभन्दा अगाडि छ”
कार्लाल, पेन्सिलभेनिया / पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले प्रतिघण्टा ७ डलर २५ सेन्ट्स रहेको न्यूनतम ज्याला बढाउने योजना रहेको बताएका छन् ।
गर्भनर शापिरोले मङ्गलवार राज्यको बजेट सम्बोधनका क्रममा २०२६ देखि प्रतिघण्टा ७ डलर २५ सेन्ट्स रहेको न्यूनतम ज्याला बढाउने आफ्नो योजना सार्वजनिक गरेका हुन् ।
शापिरोले पछिल्ला धेरै बजेट सम्बोधनहरूमा पेन्सिलभेनियाको न्यूनतम ज्याला बढाउने विषय उठाउँदै आएका थिए । यस पटक पनि उनले न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पु¥याउन आह्वान गरेका छन् ।
गर्भनर शापिरोले भने, “ओहायो १५ डलरतर्फ अघि बढ्दैछ, वेस्ट भर्जिनियासमेत हामीभन्दा अगाडि छ,”
राज्य विधानसभामा प्रस्तावित कानुनहरू अड्किँदै आएका कारण पेन्सिलभेनियाको न्यूनतम ज्याला सन् २००९ जुलाई २४ तारिखपछि कहिल्यै बढेको छैन । पछिल्ला १६ वर्षभन्दा बढी समयदेखि यो प्रतिघण्टा ७ डलर २५ सेन्ट्स मै स्थिर छ । यसअघि यो ज्याला ५ डलर १५ सेन्ट्सबाट मात्र तीन पटक बढाइएको थियो ।
शापिरोले बजेट सम्बोधनमा हल्ली सिल्लको उदाहरण पनि प्रस्तुत गरे । उनी एक पूर्व विद्यार्थी शिक्षक हुन्, जसले विद्यार्थी शिक्षक भत्ता कार्यक्रमबाट स्टाइपेन्ड पाएपछि डफिन काउन्टीमा अंग्रेजी विषयकी पूर्णकालिक शिक्षिकाको रूपमा पहिलो जागिर पाइन् ।
“हल्ली र अरू २ हजार विद्यार्थी शिक्षकहरूले देखाएझैँ-यदि हामीले मानिसहरूको खल्तीमा पैसा हाल्यौँ भने उनीहरूलाई आफूले मन पराएको काममा पु¥याउन सक्छौँ, अझ मानिसहरूको खल्तीमा पैसा हाल्ने अर्को उपाय के हो? अन्ततः न्यूनतम ज्याला बढाउनु।”, गर्भनर शापिरोले भने।
उनले प्रतिनिधि सभाले न्यूनतम ज्याला बढाउने सम्बन्धमा दुई पटक कानुन पारित गरिसकेको तर सिनेटले दुवै पटक त्यसमा कदम नचालेको बताए ।
“प्रतिनिधि सभाले दुई पटक हाम्रो न्यूनतम ज्याला बढाउने विधेयक पारित ग¥यो,” उनले बताए । “तर प्रत्येक पटक सिनेटले कारबाही गर्न अस्वीकार ग¥यो।”
शापिरोले न्यूनतम ज्याला बढाउँदा मेडिकेडजस्ता सामाजिक सहायता कार्यक्रमहरूमा राज्यको खर्च घट्न सक्ने सम्भावनालाई पनि समर्थनको कारणका रूपमा उल्लेख गरे ।
“न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पु¥याउँदा यो कमनवेल्थले मेडिकेडजस्ता सहायता कार्यक्रममा वार्षिक ३० करोड डलर बचत गर्नेछ । यो बचत मनपरी र झन्झटिला सर्तहरू थपेर होइन, तर हाल मेडिकेडमा निर्भर र प्रतिघण्टा १५ डलरभन्दा कम कमाइ गर्ने करिब ६१ हजार मानिसहरूको ज्याला बढाएर हुनेछ ।” शापिरोले भने।
श्रम तथा उद्योग विभागले सन् २०२४ मा सार्वजनिक गरेको वार्षिक पेन्सिलभेनिया न्यूनतम ज्याला प्रतिवेदनअनुसार, सन् २०२३ मा करिब ६७ हजार ८ सय कामदारहरू न्यूनतम ज्याला वा सोभन्दा कममा काम गरिरहेका थिए । यो तथ्याङ्क न्यूनतम ज्यालामा वा सोभन्दा कम कमाउने कामदारहरूको संख्या अहिलेसम्मकै तेस्रो सबैभन्दा कम स्तर हो ।

















